३० श्ययाको आइसोलेसन सेन्टर सञ्चालनमा



काठमाडौं, (नेस)
काठमाडौं महानगरपालिका–९ मा ३० श्ययाको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ ।कोभिड–१९ को दोस्रो लहरको प्रभाव बढेसँगै काठमाडौं महानगरपालिकाको प्राविधिक सहयोग र कामनपा–९ मा रहेको माट्रिका आई सेन्टरको व्यवस्थापनमा कामनपा–९ स्थित शारदा माध्यमिक विद्यालयमा ३० श्ययाको आइसोलेसन सेन्टर मंगलबारबाट सञ्चालनमा आएको छ ।

स्थानीय क्लब त्था संस्थाहरू विजयचोक युवा क्लब, मिर्मिरे युवा समाज, सिनामंगल युथ एलायन्स, पञ्चकुमारी समाज, कृति फाउन्डेसन, नव न्यानो फाउन्डेसनको स्वंयमसेवाबाट सञ्चालनमा आएको आइसोलेसन सेन्टरमा सबै वर्गका तथा होम आइसोलेसनमा बसी उपचार गर्न निर्देशन पाएका व्यक्तिहरूका लागि सो आइसोलेसन सञ्चालन गरिएको हो ।हाल ३० श्ययाबाट शुरू भए पनि चाप बढेसँगै यसको क्षमता बिस्तार गरी ९० श्ययासम्म बढाउने तयारी रहेको कुरा माट्रिका आई सेन्टरका अध्यक्ष सुरज श्रेष्ठले बताउनुभयो । २४ सै घण्टा डाक्टर र नर्स सेवासहित निःशुल्क औषधि तथा खाना व्यवस्थापन दैनिक योग अभ्यास र घरमै आइसोलेसनमा बस्नुभएका बिरामीका लागि समेत टेलिफोनबाट परामर्श सेवा उपलब्ध गराउने व्यवस्था रहेको छ ।

अक्सिजन, भेन्टिलेटर र आईसीयू सेवा आवश्यक पर्ने बिरामीबाहेकका अन्य कोरोना पोजिटिभ देखिएका बिरामीहरूलाई यस सेन्टरबाट निःशुल्करूपमा सेवा उपलब्ध गराउने र परिवारका अन्य सदस्यसँग निरन्तर सम्पर्क रहन सक्ने व्यवस्था मिलाइएको सो आइसोलेसन सेन्टरका संयोजक सन्तोष नेपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्