निषेधाज्ञामा पनि राहत वितरण जारी


नेपाल समाचारपत्र, काठमाडौं

नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना भाइरस संक्रमणका कारण मुलुक यति बेला आक्रान्त छ । वैशाख १६ गतेदेख काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै जारी निषेधाज्ञाले दैनिक ज्याला मजदुरी गरी गुजारा गर्नेलाई बिहानबेलुकाको छाक टार्न मुस्किल भएको तीतो सत्य कतै छिपेको छैन ।गत वर्ष पनि कोरोना कहरमा परेर हातमुख जोर्न नसक्नेहरूका सारथि बनी हजारौंको मनका ढुकढुकी बन्न पुगे हजुरलाई नमस्तेका सञ्चालक ताराबहादुर कुँवर । विशेषगरी, कुँवर फरक क्षमता भएकाहरूका लागि भगवान् नै बनिदिन्छन् । यसपालि पनि कुँवरले शारीरिक अपांगता भएकाहरूलाई राहत उपलब्ध गराउनुभएको छ । आफूले गरिबी के हो भन्ने राम्रैसँग बुझेकाले खानबाट कोही नमरोस् भनी व्यापार व्यवसायबाट आएको आम्दानी र सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगस्वरूप खाद्यान्न उपलब्ध गराउँदै उहाँले बताउनुभयो ।

उहाँले हजुरलाई नमस्ते परोपकारी अभियानद्वारा दृष्टिविहीन, अपांगता तथा शारीरिकरूपले कमजोर भएका परिवारलाई राहतस्वरूप खाद्यान्न वितरण गर्नुभएको छ । हरेक दिन रेडियो, टेलिभिजन तथा पत्रपत्रिका अनि सामाजिक सञ्जालमा कोही भोकै भए खानले नमर्नुहोस् हजुरलाई नमस्ते परोपकारी संस्था बाफलमा आउनुहोस् भनी आह्वान गर्नुहुन्छ । फोन, म्यासेज आउनेबित्तिकै खाद्यान्नसहितका राहत सामग्री लिएर घरघरै पुग्ने गरेको उहाँले बताउनुभयो ।राहत वितरणका क्रममै उहाँले कालोपुल, चावहिल गोपीकृष्ण हल, कपन, भृकुटी चोक, गोंगबु, सामाखुसी, रेडेन कलेज आसपास र बाफलका दृष्टिविहीन, अपाङ्गता भएका तथा शारीरिकरूपले कमजोर भएकालाई सम्बन्धित ठाउँमा नै गएर खाद्य सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्षसमेत रहेका कुँवरद्वारा ५५ परिवारलाई १२ केजी चामल, सवा केजी दाल, १ केजी नुन, नुहाउने साबुन दुईदुई थान वितरण गरिएको थियो ।साउथ अस्ट्रेलिया बस्ने सन्तोषी गौतम, पेप्सीकोलाका मनिकुमार गौतम र कौशलटारका शेरबहादुर कुँवरको संयुक्त पहलमा राहत वितरण गरिएको थियो । कुँवरको अभियानमा लोकगायक बद्री पंगेनी, राम बहादुर गौतम, महेन्द्रप्रसाद गुप्ता, हरिशंकर महतो, हीरानन्द महर्जन, कुमार थापा, मनीष खत्री, महेन्द्रप्रसाद गुप्ता, छवि तिमल्सिना, ताहिर हुसेन, डा. राधिका कुँवर बोगटी, मणिकुमार गौतम र जापानमा रहेका रामकृष्ण अधिकारीलगायतको सहयोग रहेको छ ।

यसैबीच, कुँवरले रानीवनमा रहेको आश्रममा खाद्यान्न सहयोग गरेको जानकारी दिनुभएको छ । साथै युट्युब पत्रकार संघले आयोजना गरेको खाना खुवाउने कार्यक्रमलाई १५ बोरा चामल सहयोग गर्नुभएको थियो । हालै सम्पन्न वागमती सफाइ अभियानद्वारा आयोजित रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए भने एक सय सातभन्दा बढी स्थानमा सफाइ गरिएको थियो ।