नागरिकतालाई सिनेमाको टिकटभन्दा सस्तो बनाउने कदमविरुद्ध संघर्ष हुन्छ : बिजुक्छे

28
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाल मजदुर किसान पार्टीले सरकारले जारी गरेको नागरिकता सम्बन्धि अध्यादेशको बिरोध गरेको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले देशको नागरिकता सिनेमाको टिकटभन्दा सस्तो बनाउने कदमको नेमकिपाले विगतदेखि नै पनि संघर्ष गर्दै आएको बताउनुभयो ।संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले त्यो संघर्ष आगामी दिनमा पनि जारी रहने बताउनुभएको छ ।

उहाँले भारतीय एकाधिकार पुँजी एक एक पाइला गरेर नेपालमा नेपालीभन्दा विदेशी नागरिक बढाउने उद्देश्य पूरा गर्ने बाटोमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“कहिलेदेखि थाँती रहेको नागरिकता अध्यादेश अहिले आयो, अब अन्य पनि पक्ष र विपक्षलाई पालैपालो सत्तामा ल्याएर भारतीय एकाधिकार पुँजीले आफ्नो पोल्टामा पार्ने निश्चित छ ।”

अध्यक्ष बिजुक्छेले सरकारका कामबाट एमालेलाई नेमकिपाले भन्दै आएको भाइ कांग्रेस भन्ने उपमा प्रस्ट हुँदै गएको बताउँदै नेपाली कांग्रेस , एमाले र माओवादी केन्द्रका नाम र रङ फरक भए पनि यि सबै दल वर्गीय रूपमा पुँजीवादी राजनीतिक दल नै भएको दाबी गर्नुभयो ।
उहाँले नेकां सभापति शेरबहादुर देउवा, एमाले नेता माधव नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत प्रधानमन्त्री बनेका नेताहरू पनि भारतीय एकाधिकार पुँजीले बनाएको त्यही बाटोमै रहेको प्रस्ट पार्नुभयो ।

ठगहरूले केटाकेटीलाई चक्लेट दिएर खुट्टाको कली र कानको गहना लगेजस्तै भारतीय एकाधिकार पुँजीले नेपाली पुँजीवादी दलहरूलाई सत्तामा ल्याउँदै हस्ताक्षर गराउँदै दल र नेताहरूलाई पत्रु बनाउँदै लगेको बिजुक्छेको भनाई थियो ।

नेमकिपाले निर्वाचनलाई उपयुक्त विकल्प भनेर केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारको समर्थनको नगरेको संकेत गर्दै उहाँले नेमकिपाले निर्वाचनको विरोध र स्वीकारको सर्त आफ्नो दल सरकारमा सहभागी हुने वा नहुने भन्ने दृष्टिले हेर्दैन भन्नुभयो । बरु निर्वाचनलाई पनि एक वर्गीय र राजनैतिक संघर्ष तथा आन्दोलनको रूपमा हेरेको बिजुक्छेले बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले सरकार र प्रमुख प्रतिपक्ष दल नेका लगायत माओवादी केन्द्र र एमालेबाट छुटेका माधव नेपाल –झलनाथ खनाल गुटले पनि कोरोनाको कहरमा आ–आफ्नो ठाउँबाट देश र जनताको सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।