११ वर्षपछि निर्यातको लक्ष्य पूरा

१० महिनामा साढे ११ खर्ब व्यापार घाटा


नेपाल समाचारपत्र, काठमाडौं

चालू आर्थिक वर्ष २०७७-७८ को १० महिनामा व्यापार घाटा २१ दशमलव ४८ प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब ६३ करोड रुपियाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको साउनदेखि वैशाखसम्मको तथ्यांकअनुसार यस अवधिमा एक खर्ब आठ अर्ब ४७ करोड रुपियाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ भने सो अवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड रुपियाँको विदेशी वस्तुको आयात भएको छ । सो अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख बराबरको वैदेशिक व्यापार घाटा भएको थियो । गत आवको सोही अवधिको तुलनामा २२ दशमलव ३४ प्रतिशतले आयातमा वृद्धि भएको छ । गत आवमा सोही अवधिमा १० खर्ब २५ अर्ब १३ करोड ७७ लाख बराबरको वस्तु तथा सेवा आयात भएको थियो । यस वर्ष वैशाख महिनामा मात्रै १ खर्ब ४२ अर्ब ७१ करोड ४७ लाख रुपियाँभन्दा बढीको वस्तु आयात भएको छ । त्यस्तै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको अवधिमा एक अर्ब रुपियाँभन्दा बढीको निर्यात भएको छ । गत वर्षको सोही अवधिमा रु ८२ अर्ब छ करोड ४६ लाख बराबरको वस्तु निर्यात भएको थियो । आव २०६६÷६७ मा एक खर्ब बढीको निर्यात गर्ने सरकारको लक्ष्य ११ वर्षपछि पूरा भएको छ । वैशाख महिनामा मात्रै २७ अर्ब रुपियाँको वस्तु निर्यात भएको छ । नेपालबाट निर्यातमा हुने वस्तुमा सोयाविनको तेल अग्रस्स्थानमा छ । यसअवधिमा सोयाविन तेलमात्रै ३५ अर्ब रुपियाँको निर्यात भएको छ । त्यस्तै कार्पेट ५ अर्ब ९८ करोड र अलैंची ५ अर्ब ९७ करोड रुपियाँको निर्यात भएको छ ।

व्यापार घाटा बढाउन पेट्रोलियम पदार्थको भूमिका उच्च रहेको चालू आवको १० महिनामा डिजेलमात्रै ७० अर्ब ५६ करोड रुपियाँको डिजेल आयात भएको छ । यसैगरी फलाम तथा स्टिलका अर्धनिर्मित वस्तु ५७ अर्ब ३१ करोड, मोबाइल फोन ३२ अर्ब रुपियाँको आयात भएको छ । त्यस्तै खाद्यान्न ६८ अर्ब ६३ करोड रुपियाँ, तरकारी तथा फलफूल ३१ अर्ब, औषधि २६ अर्ब, प्लास्टिकका सामग्री ५० अर्ब, मेसिनरी पार्टपूर्जा ८२ अर्ब रुपियाँभन्दा बढीको आयात भएको भन्सार विभागको तथ्यांक रहेको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ दशमलव चार र निर्यातको हिस्सा सात दशमलव ९६ प्रतिशत रहेको छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र शून्य दशमलव ५९ प्रतिशतले घटेको छ ।