घरानिया धर्मनिरपेक्षताको राजनीति


पछिल्लो समय नेपाली समाजमा समानताको कुरा गर्ने र ब्राह्मणवादी चिन्तनलाई समर्थन गर्नेको संख्या धेरै छ । अझ भन्नुपर्दा राज्यले ब्राह्मणवादी चिन्तनलाई बुस्ट गरिरहेको छ । हामीले बुझ्न जरुरी के छ भने, ब्राह्मणवादी चिन्तन वस्तुतः वर्चश्ववादी चिन्तन हो । यो प्रजातान्त्रिक संस्कृति विपरीत छ । यसकारण कम्युनिस्ट नेता मदन भण्डारीले भनेका थिए, ‘हाम्रा भगवान् जनता हुन्, निर्जीव मूर्ति होइनन् ।’

उनको यही परिभाषाका कारण एमालेका वडास्तरका नेताहरुसमेत अहिले पनि जनता जनार्दन भनेर भाषणअगावै सम्बोधन गर्छन् । जनतालाई जनार्दन बनाउनका लागि भण्डारीले जनताको बहुदलीय जनवादको प्रतिपादन गरेका थिए । उनी फ्रान्सेली राज्य क्रान्तिको परिणामस्वरूप जन्मिएको प्रजातन्त्र र आधुनिकताका सिद्धान्तहरूबाट प्रेरित थिए । उनी सधैँ समानता, भ्रातृत्व र स्वतन्त्रताको पक्षमा हुनुका कारणले नै नयाँ समाज निर्माण थियो । यसले उनीले राजनीतिको छोटो यात्रामा नेपाली जनमनमा आफ्नो गहिरो छाप छोड्न सकेका थिए ।जुन वर्तमान समयमा पनि उत्तिकै जायज छ । जनताले चाहेको समाज र वर्गका बारेमा उनको सकारात्मक सोच थियो । अहिलेको टड्कारो आवश्यकता भनेको मनुको विचारमा आधारित ब्राह्मणवादी समाजको अन्त्य हो । तर हामीले हाम्रो विचारका अन्धा बुँदाहरू छलफल गर्न सकेको छैनौं । उदाहरणका लागि मनु ब्राह्मण थिए भन्ने प्रायः विश्वास गरिन्छ । तर उनी ब्राह्मण थिएनन्, उनी राजा थिए, राजाहरु क्षेत्रीयहरु हुन्थे ।

उनले ब्राह्मणवादी सामाजिक दर्शनका सिद्धान्त दिए वा यसलाई कार्यान्वयन गर्ने संहिता बनाए । जब क्षेत्रीयहरूलाई सत्ता चाहिन्थ्यो तब उनीहरुले ब्राह्मणहरूको समर्थन खोज्नका लागि उनीहरुका महत्वलाई समर्थन गरेका थिए ।अहिले देशको शासन सत्ता ब्राह्मणहरुको कब्जामा छ । सरकारको प्रमुखदेखि लिएर, अन्य उच्च ओहोदामा उनीहरु नै छन् । तर त्यस बेला ब्राह्मणहरू प्रत्यक्ष सत्तामा थिएनन् । उनका आकांक्षा र विचारलाई क्षत्री राजाहरुले पूरा गरिरहेका थिए । जस्तो– अहिले पुँजीपतिहरु प्रत्यक्षरूपमा सत्तामा हुँदैनन् । सत्ता उनीहरुको इशारामा चलेको हुन्छ ।त्यस बेला ब्राह्मणहरू ज्ञानसत्ता कसैको कब्जामा राख्न चाहँदैनथे । यसकारण भनिएको थियो– ‘तपाईं सिंहासन लिनुहोस्, कुनै समस्या छैन तर तपाईंले ज्ञानतर्फ कदम बढाउनुभयो भने यो एक विद्रोह मानिने छ ।’ ब्राह्मणहरूले ज्ञान चाहने क्षत्रीयहरुलाई समेत सजाय दिएका छन् । विश्वामित्रले भने– ‘हामी ज्ञान प्राप्त गर्न चाहन्छौं, हामीलाई शक्ति चाहिँदैन ।’

उनको यो भनाइले ब्राह्मणका वरिष्ठहरु र विश्वामित्रबीच झगडा भएको थियो, जुन अहिलेका पौराणिक कथामा सुन्न पाइन्छ । यसरी तत्कालीन भारतमा दुई किसिमका द्वन्द्वहरू भएका थिए । जसमा एक ब्राह्मण र क्षत्रीबीचको संघर्ष अनि अर्को ज्ञान र सत्ताबीचको संघर्ष । ज्ञान र सत्ताको संघर्ष आत्मसंघर्ष थियो । यसले क्षत्रीयहरुलाई ज्ञानआश्रित र सत्ताआश्रित गरेर दुई हिस्सामा विभाजन गरिदियो ।जनतालाई भगवान् मान्ने र निर्जीव मूर्ति कीर्ति बनाउनुपर्छ भन्ने धारणाबाट राजनीतिमा उज्ज्वल छवि बनाएका मदन भण्डारीको विचारलाई मन्त्रजस्तै जपेर प्रधानमन्त्री हुनेमध्येका एक नेता ओली पनि हुन् । उनी जबज जपेर थाक्दैनन् । तर, उनी हिजोआज जबजकै आडमा उनका सिद्धान्त तोड्न लागिपरेका छन् । संविधानका चार स्तम्भ गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक प्रणाली जबजमा आधारित हिस्सा हुन् । यी एजेन्डा २०६२÷०६३ को जनआन्दोलनले स्थापित गरेको भए पनि पहिले मदन भण्डारीको चाहना थियो ।

आफूलाई राजनीतिको महारथि बनाइराख्न ओलीले कुनै कसर बाँकी राख्दैनन् । २०७२ मा कथित राष्ट्रवादी छवि बनाएर उदाएका उनी अहिले आफ्नो राजद्वार टिकाइराख्न धर्मको सहायता लइरहेका छन् । २०७७ माघ १७ गते चितवनको भरतपुरमा ओली समूहको सभालाई सम्बोधनका क्रममा प्रचण्डलाई पिन्च गर्दै ‘यही क्षेत्रबाट निर्वाचित सांसद राम जन्मभूमि अयोध्यामा राम मन्दिर बनाउने कुरा किन चुइँक्क बोल्न सक्नुहुन्न ? बडा सक्कली राष्ट्रवादी भएर हिँड्नुभएको छ’ भन्दै कटाक्ष गरे । यस्ता अपशब्द, घोचपेच र भनाभन नेताहरूबीच सामान्यजस्तै हुन् । तर, ओलीले चुनावी झोली बोकी राजनीतिको भोलि सुधार्न राजनीतिको भोको देशमा धर्मको डोको भिरेर आएका छन् ।ओलीले २०४१ सालमा जेलमा रहँदा मोहनचन्द्र अधिकारीलाई भगवान्को पूजा गरेको आरोप लगाउँदै कारबाहीको माग गरेका थिए । तर, मोहनचन्द्र अझै कम्युनिस्ट आदर्शमा बाँचेका छन् । उनलाई पूजा गरेकै आधारमा कारबाही गरेको करिब चार दशकपछि ओली कम्युनिस्ट आदर्शबाट पूर्णच्युत हुँदै धार्मिक अतिवादीको दिशामा लागे । उनले धर्मको राजनीति धेरै पहिलेबाटै शुरु गरेका भए पनि २०७३ मा कार्यकर्तालाई पार्टी ‘भौतिकवादी हो तर सदस्यहरुलाई भौतिकवादी बनाउन सकिएन’ भन्दै सार्वजनिक कार्यक्रममा कुर्लिएपछि उनले राजनीतिमा धर्मको सहारा लिन खोजेको छताछुल्ल भयो । तर, नेकपा निर्माणको तयारी चलिरहँदा २०७५ वैशाख ९ गते लेनिन जयन्ती विशेष कार्यक्रममा ओलीले ‘ईश्वर छैनन्, यदि कसैले ईश्वर छ भन्छ भने, कालमाक्र्सलाई भने हुन्छ’ भन्दै आलोचनात्मक टिप्पणी गरे । त्यति बेला शायद उनले आफ्नो कुर्सी सुरक्षित ठानेका थिए ।

शुरुवातीमा उनले सत्ता संकट टार्न २०७७ माघ १२ गते सबेरै पत्नी राधिकासहित पशुपतिनाथको पूजा गर्न पुगेका ओलीले सुनको जलहरी लगाउने प्रस्ताव अघि सारेर फर्किएका थिए । यसको खर्च एक अर्ब लाग्ने अनुमान गरिएको थियो । तर पशुपति विकास कोषसँग ६५ करोड मात्रै भएको जानकारी पाएपछि बाँकी पैसा सरकारले दिने वचनबद्धता पनि ओलीले गरेका छन् । यसअघि २३ साउनमा चितवनको माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गरेर रामको जन्मभूमिबारे चासो देखाए । उनले नेपालको अयोध्यापुरी नै सक्कली अयोध्या हो, त्यसकारण यसका गतिविधि बढाउनुपर्छ भनेर कुरा गरे ।उनको ठोरी गतिविधि त्यहीँ रोकिएन । उनले वैशाख ७ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सयौँ मान्छे जम्मा गरेर राम–सीताको मूर्तिमा पूजा गरे ।अनि देवघाट हुँदै चितवनको माडी पुग्नलाई पाँच सय गाडीको शोभायात्रा निकाले । त्यसैको दोस्रो दिन पर्यटनमन्त्री भानुभक्त ढकाल र बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा चितवनको माडीमा ४ हजार मान्छेको भीड जम्मा गरेर राम–सीताको मूर्ति राख्न लगाए । यसरी उनले धर्मको राजनीतिलाई अघि सारेका छन् ।

राजनीतिक मसलाको रुपमा धर्मनिरपेक्षताको स्वाङ पारिएको छ । यसबाट दलित र पछाडि पारिएको समुदायलाई सुरक्षित दूरी बनाउन आवश्यक देखिन्छ । यसबारे व्यापक बहस आवश्यक छ । वर्तमान राजनीति र राज्यसत्ताका मतियार बनेका हामीले थाहै नपाई कुनै कपटलाई सुदृढ पार्न शुरू गरेका पो छौं कि ? सचेतता अपनाउनु जरुरी छ । खब हाम्रो उद्देश्य आधुनिक समाज निर्माण गर्नु हो, जसको अर्थ समाजमा समानता, भ्रातृत्व र स्वतन्त्रताको स्थापना गर्नु हो ।
– एलबी विश्वकर्मा, काठमाडौं