रथलाई लिएर प्रशासनको पीर यस्तो पो


सुनील महर्जन, ललितपुर

गृह मन्त्रालय र प्रहरी मुख्यालयले रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा प्रहरी प्रशासनले गरेको समग्र कार्यबारे अलग्ग–अलग्गरूपमा समीक्षा गर्न थालेको छ ।कोरोना महामारी नयाँ भेरियन्टको बढ्दो जोखिमका बेला सयौं वर्षदेखि चल्दै आएको संस्कृति र परम्परा कटौती गरी रातो मच्छिन्द्रनाथको रथयात्रा छोट्याएर यस वर्ष समापन गर्नु गृह प्रशासनका लागि कम सुरक्षा चुनौतीको विषय थिएन । अघिल्लो वर्ष यही रथयात्राको विषयमा स्थानीय र प्रहरीबीच झडप भएको सन्दर्भमा यो कार्य जिल्लाको सुरक्षा संयन्त्र मात्र नभई गृह मन्त्रालय र प्रहरी मुख्यालयले समेत प्राथमिकताका साथ नियालेको थियो । यसले गर्दा प्रहरीले पहिलोपटक रथयात्रा केन्द्रित सुरक्षा योजना बनाएको थियो ।

रथ तान्ने बेला अप्रिय स्थिति हुन नदिन प्रशासनले निकै अघिदेखि तयारी गरेको थियो । करिब डेढ महिनादेखि सरोकारवालासँग थालेको समन्वय, सुरक्षाकर्मीको परिचालन र सुरक्षा योजना कार्यान्वयनबारे गृह प्रशासन र प्रहरी मुख्यालयले आ–आफ्नो तवरले आन्तरिक मूल्यांकन गर्ने क्रममा रहेको बुझिएको छ । प्रशासनको अग्रसरता, सरोकारवालालाई अपनत्व बोध गराउँदै गरिएका निर्णयहरु, त्यसको तयारीका लागि गरिएका कार्यहरु, समन्वयको पाटो र सुरक्षा खाका मूल्याकंनको मुख्य क्षेत्र रहेको छ ।गत वर्ष भदौ १८ गते बिहीबार झडप नहुन्जेलसम्म रथयात्राको विषयमा तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसँगै सरोकारवालाहरु पाँच महिनासम्म अनिर्णयको बन्दी बनेका थिए । यसबीचमा स्थानीयले स्वतःस्फूर्त रथ तान्ने क्रममा प्रहरीको बल प्रयोगले गर्दा झडप भएको थियो । यस वर्षको रथयात्राको तयारीका लागि प्रहरी प्रशासनले गत वर्ष भएका सबै घटनाको सबै पाटो केलाएर विभिन्न निष्कर्ष निकालेका थियो ।

त्यसले गर्दा यसपटकको रथयात्राको सवालमा विभिन्न मितिमा भएका सबै निर्णायक बैठक प्रशासन स्वयम्कै अग्रसरता भएको थियो । ‘स्थानीयसँग द्वन्द्व गरेर अघि बढ्नुहुन्न भन्ने हाम्रो शुरुदेखिकै जोड रह्यो ।’ –प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भन्नुभयो ।
वैशाखको तेस्रो साता कोरोना संक्रमितको संख्या र मृत्युदर ग्राफ ह्वात्तै माथि पुगिसकेको थियो । अक्सिजन र बेड नपाएर मानिसहरुको मृत्यु हुनेहरुको संख्या बढ्न थालिसकेको थियो । यसले गर्दा रथयात्रा कसरी गर्ने भन्नेमा प्रशासनसामु चुनौतीको बन्दै गएको थियो । वैशाख २२ गतेपछि गृहले स्थानीय प्रशासनसमक्ष यस विषयमा जानकारी लिन थालेको थियो । गृह सचिव महेश्वर न्यौपानेले प्रमुख जिल्ला अधिकारी निरौलालाई फोनमार्फत दैनिक जानकारी लिन शुरु गरिसक्नुभएको थियो ।यता प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र अतिरिक्त प्रहरी महानिरीक्षक हरिबहादुर पालसँग महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको संवाद निरन्तर हुन थालेको थियो ।

वैशाख १६ देखि २२ गतेसम्म लागू निषेधाज्ञा पटक–पटकको निर्णयपछि जेठ १३ गतेसम्म थप गरिसकेको थियो । ‘निषेधाज्ञामा रथयात्रा रोक्ने पक्षमा स्थानीय प्रशासन र प्रहरी थिएन । यसले स्थानीयको संवेदनशीलता भड्किन सक्नेमा सजग थियो ।’ –महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले भन्नुभयो ।वैशाखको दोस्रो साता प्रमुख जिल्ला अधिकारी निरौला कोराना संक्रमित हुनुभएको थियो । त्यसपछि निमित्तका रूपमा सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत मन्त्रालयमा पुगेर गृह सचिव न्यौपानेसमक्ष रथयात्राको तयारी, सुरक्षा अवस्था, समन्वयको विषयमा ब्रिफिङ गर्नुभएको थियो । ‘सुरक्षित तवरले रथयात्रा गर्न समन्वय गरिरहेको जानकारी दिँदै मन्त्रालयको चासोलाई आश्वस्त तुल्याइरहेका थियौं ।’ –बस्नेतले भन्नुभयो ।यसबीचमा प्रशासनले गत वर्षको नजिरलाई आधार मानेर सांकेतिकरूपमा रथयात्रा गर्ने विषयमा सोच्न थालिसकेको थियो । वैशाख १५ गते मच्छिन्द्रनाथको न्हवः (महास्नान) लगत्तै रथ बनाउने निर्णय गर्दासम्म सांकेतिकरूपमा रथयात्रा गराउनेतर्फ प्रशासन र सुरक्षा अधिकारीले सोचेका थिएनन् ।वैशाख तेस्रो सातादेखि रथयात्रा छोट्याउने र सुरक्षा व्यवस्थाका विषयमा सुरक्षा समितिको बैठकमा छलफल गर्न शुरु गरिसकेको थियो । धर्म, संस्कृति र मानिसको आस्थासँग जोडिएको विषय भएकाले प्रशासन र सुरक्षा अधिकारीहरु एक्लैले सो योजना लाद्ने मनस्थितिमा थिएन । सांकेतिक रथयात्रा गराउने लाइनबाट सरोकारवालासँग अनौपचारिक र औपचारिक कुराकानी गर्ने तयारी गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक बज्राचार्यले प्रहरी हेडक्वार्टरसमक्ष जानकारी गराइसक्नुभएको थियो ।

वैशाख २९ गते बुधबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा बैठक बोलाइएको थियो । बैठकमा आउन कतिपय सरोकारवालालाई अघिल्लो दिन राति १० बजे र कतिपयलाई बिहान मात्र खबर गरिएको थियो । यसबीचमा मुख्य सरोकारवालासँग प्रहरी वरिष्ठ उपरीक्षक बज्राचार्यले अनौपचारिक कुराकानी गरिसक्नुभएको थियो । सो बैठकमा सांकेतिकरूपमा रथयात्रा गराउने भनेर शुरुमै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, ज्यापू समाजका अध्यक्ष, स्यःस्यः समाजका अध्यक्ष सुरेन्द्र गोविन्द जोशीले बोल्नुभएको थियो । बैठकमा विषय अन्यत्र मोड्ने लागेपछि मेयर महर्जन, समाजका अध्यक्ष महर्जन र जोशीलगायतले सांकेतिकरूपमा रथयात्रा गर्ने विषयमा पटक–पटक जोड दिएका थिए ।वैशाख ३१ गते शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठक अर्को रणनीतिक महत्वको रह्यो । सो बैठकमा रातो मच्छिन्द्रनाथसँग सरोकार राख्ने पानेजु, ज्योतिषीहरुसँग प्रहरी वरिष्ठ उपरीक्षक बज्राचार्य, सहायक प्रमुख जिल्ला अधिकारी बस्नेत, अन्य सुरक्षा अधिकारी उपस्थितिमा छलफल गरेको थियो । ज्योतिषीहरुले प्रशासन कार्यालयमै बसेर देवतालाई बुङ्मती लान जेठ ५ गतेको साइत निकालेका थिए । सो विषयमा सहमति व्यक्त गरी पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्य, पानेजु कपिलमुनि बज्राचार्यलगायत हस्ताक्षर गरेका थिए ।

कोरोना जोखिमको बेला धर्म–संस्कृतिको मर्यादालाई ध्यानमा राखेर परम्परामा केही परिमार्जन गरी प्रतिकात्मकरूपमा रथयात्रा गराउने निर्णय तथ्यभन्दा पनि विवेकयुक्त मूल्यमा आधारित निर्णय रहेको प्रमुख जिल्ला अधिकारी निरौलाको धारणा रहेको छ ।वैशाख ३१ गते सुरक्षा समितिको बैठकले निषेधित क्षेत्र तोक्ने निर्णय गरेको थियो । सोहीअनुरूप रथ तान्ने दिन जेठ १ बिहान ६ बजेदेखि मच्छिन्द्रनाथलाई बुङ्मती लग्ने दिन जेठ ५ गते बुधबार रातिसम्म पुल्चोकस्थित रातो मच्छिन्द्रनाथको रथ र टंगलस्थित मिमनाथको रथको आसपास क्षेत्र निषेधित क्षेत्र तोकिएको थियो । हुलदंगा र अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधित क्षेत्र तोकिएको र सो उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने कार्यालयले सूचना प्रकाशित गरेको थियो ।गत वर्ष निषेधाज्ञाका बीच रथ तान्न सामाजिक सञ्जालमार्फत आह्वान गरिएको थियो । प्रहरी उपरीक्षक प्रज्वल महर्जन जेठ १ देखि ५ गतेसम्म सामाजिक सञ्जालमा रथयात्राको विषयमा आएको टिप्पणी र प्रतिक्रिया हेरेर निरन्तर बिफ्रिङ गर्ने कार्यमा लाग्नुभएको थियो ।