अक्सिजन आपुर्तीका चन्दा संकलनः छ दिनमै आठ लाख उठ्यो


विनोद सिंह विष्ट–बैतडी । 

जिल्ला अस्पताल बैतडीमा अक्सिजनको अभाव देखिएपछि अक्सिजन आपुर्तीका लागि जनस्तरबाटै चन्दा संकलन अभियान सञ्चालन गरिएको छ।दशरथचन्द स्मृति प्रतिष्ठानको अगुवाईमा जेठ २ गते सुरु भएको उक्त अभियानमा हालसम्म ८ लाख बढी लाख रुपैंया संकलन भइसकेको छ । हालसम्म ८ लाख ३ हजार७ सय २६ रुपैंया संकलन भएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठान अध्यक्ष तथा अभियन्ता विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।

कोरोना भाईरसको महामारी तीव्र रुपमा फैलिँदै गएको र जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएको खबर आएपछि सो अभियान सञ्चालन गरिएको चन्दको भनाई रहेको छ । उहाँले भन्नुभयो,“जनस्तरबाटै चन्दा संकलन गरेर संकलन गरिएको उक्त रकम अक्सिजन आपुर्तीलगायतमा खर्च गरिरहेका छौं”यसका साथै जम्मा भएको रकमले अक्सिजन कन्सन्ट्रेटर खरीद गरेर अस्पताललाई हस्तान्तरण गर्ने तयारी भएको उहाँले बताउनुभयो । नेपालका थुप्रै ठाउँमा अक्सिजन सिलिण्डरका लागि कुरा गरेका भएपनि पाउन मुस्किल भयो उहाँले भन्नुभयो,“सिंगापुरको एक कम्पनीसंग ५ वटा १० लिटरका कन्सन्ट्रेटर खरिदका लागि कुरा भइसकेको छ, केही दिनमै अस्पताललाई हस्तान्तरण र्छौ” यसका साथै अक्सिजनसिलिण्डर भर्न, अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री र ढुवानीमा पनि प्रतिष्ठानले सहयोग गरिरहेको छ ।

कोरोना भाईरसका संक्रमितहरुलाई अक्सिजन अभाव भएकाले अस्पतालमा अक्सिजन खरीदका लागि सहयोग गर्ने हिसाबले यो अभियान सञ्चालन प्रतिष्ठानका आजीवन सदस्य तथा अभियन्ता महेश भट्टले बताउनुभयो । उहाँले भन्नुभयो,“ यस अभियानमा सहभागी भइ सबैले सक्दो सहयोग गर्न आग्रह छ, यो महामारीको बेला तपाईको सानो सहयोगले कसैको ज्यान बच्न सक्छ”
सहयोग गर्नुहुने महानुभावहरुले प्रतिष्ठानको राष्ट्रिय वाणिज्य बैंक बैतडीमा रहेको खाता नम्बर ४०५०१००००६९३५०१० मा रकम जमा गर्न सकिने बताइएको छ ।यसैबिच जनस्तरबाटै चन्दा संकलन गरी अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराउने गरि जारी रहेको उक्त अभियानले निकै सहयोग पुगेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बशन्तराज जाशीले बताउनुभयो । प्रतिष्ठानले अक्सिजन सिलिण्डर ढुवानी, स्वास्थ्य सामग्री ढुवानी र अक्सिजन सिलिण्डर किन्न पहल गरेको छ । उहाँले भन्नुभयो,“महामारीको बेला सहयोग आउनु निकै सकारात्मक कार्य हो” बैतडीमा हाल ९ सय बढी कोरोना संक्रिय संक्रमित रहेका छन् भने १३ जनाको मृत्यु भइसकेको छ ।

चार सय बेडका आइसोलेसन सेन्टर सञ्चालनमा

बैतडीमा चार सय बेड क्षमताका आइसोलेसन सेन्टर निर्माण गरिएको छ । जिल्लाका १० वटै स्थानीय तहमा गरि हालसम्म चारसय बेडका आइसोलेसन सेन्टर स्थापना गरिएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि यहाँका स्थानीय तहहरुले संक्रमितको उपचारका लागि आइसोलेसन बेड निर्माण गरिएका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । भारतसंग सीमा जोडिएको जिल्ला भएकोले यहाँ संक्रमणको उच्च जोखिम रहेको छ । सीमानाका झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना भइसकेको छ भने जिल्लाका १० ओटै स्थानीय तहका विभिन्न ठाउँमा कोरोना संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन सेन्टर स्थापना गरेका हुन् ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा सबैभन्दा बढी १२१ बेडको आइसोलेसन सेन्टर स्थापना गरिएका छन् । यस्तै पञ्चेश्वर गाउँपालिकामा ६४,पाटन नगरपालिकामा ६०,सिगास गाउँपालिकामा ४७,सुर्नया गाउँपालिकामा ३२,शिवनाथ गाउँपालिकामा ३०,दोगडाकेदार गाउँपालिमा २४,डिलाशैनी गाउँपालिमा १०,पुर्चौडी नगरपालिकामा ७ र मेलौली नगरपालिमा ५ बेडको आइसोलेसन सेन्टर सञ्चालनमा रहेको छ ।जिल्लामा कोरोना संक्रमित बढ्दै गइरहेकोले उनीहरुको उपचारका लागि आइसोलेसन सेन्टर निर्माण गरिएका स्वास्थ्य कार्यालयका प्रमुख भट्टको भनाई रहेको छ । संक्रमितबाट अरु व्यक्तिमा संक्रमण नसरोस भनेर संस्थागत आइसोलेसन निर्माण गरिएका हुन् । उहाँले भन्नुभयो,“संक्रमितले आइसोलेसनमा बस्दा समुदायमा संक्रमण फैलिने सम्भावना कम हुन्छ”

जिल्लामा ४ सय बेड क्षमताको आइसोलेसन सेन्टर निर्माण गरिएपनि आधाभन्दा बढी घरमै बसिरहेका छन् । हाल बैतडीमा ९ सय ४४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन । जसमध्ये आइसोलेसनमा बस्नेको संख्या जम्मा १६२ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । अरुसबै घरमै बसिरहेका छन् ।घरमै बस्दा घरपरिवार तथा समुदायमा संक्रमण फैलिने सम्भावना बढी हुने गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बशन्तराज जोशीले बताउनुभयो । होम आइसोलेसनको नाममा घरमै बस्न खोज्छन् तर त्यहाँ होम आइसोलेसनको पालना गर्दैनन् उहाँले भन्नुभयो,“ होम आइसोलेसनमा बस्दा एउटै शौचालय,एउटै धारा प्रयोग गर्छन्, सरसफाईमा ध्यान दिदैनन्, घरपरिवारसंगै घुलमिल हुन खोज्दा जोखिम बढ्दै जान्छ, ”

संक्रमितले घरमै बसेपनि होम आइसोलेसनको पालना नगर्दा समुदायस्तरमा कोरोनाको संक्रमण फैलिदैं गएको समेत डाक्टर जोशीको भनाई छ उहाँले भन्नुभयो,“संक्रमितले संस्थागत आइसोलेसनमा बस्न नमान्दा संक्रमणको जोखिम बढेको छ, यसमा स्थानीय तहले चाँसो दिनुपर्छ”यसका साथै अझै पनि स्वास्थ्य मापदण्ड पालना नगर्दा पनि संक्रमण तीव्र गतीमा फैलिरहेको छ ।अधिकांस संक्रमितमा लक्षण नदेखिँदा घरमै बसिरहेका स्वास्थ्यकर्मीको भनाई रहेको छ ।

कोरोना संक्रमण तीव्र गतीमा फैलिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । साथै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जेठ १७ गतेसम्म निषेधाज्ञा समेत जारी गरिसकेको छ ।