सुख र शान्तिमय संसार कस्तो होला !



प्रेम रावत

शान्ति के हो– यस कुरालाई बुझ्नका लागि सबैभन्दा पहिला के कुरा बुझ्नु आवश्यक छ भने, मानिसहरू शान्तिलाई कसरी परिभाषित गरिरहेका छन् ! केवल शान्तिको परिभाषा मात्रै शान्ति होइन । शान्ति खोज्ने क्रममा मानिसहरू शान्तिसम्बन्धी आफ्नो परिभाषालाई अघि सार्ने गर्दछन् । त्यो शान्ति होइन । शान्ति परिभाषाबाट बुझ्ने कुरा होइन । शान्ति त अनुभव गर्ने कुरा हो । शान्तिको सम्बन्ध केवल एकजनासँग छ, त्यो हो– मानिस । अनि, शान्ति उसभित्र छ ! यदि तपाईँले यस कुरालाई स्वीकार गर्नुभयो भने तपाईँ शान्तिको पथमा हिँड्न थाल्नुभयो । यो संसारमा आपूmभित्र शान्तिको सम्भाव्यता नभएको व्यक्ति कोही पनि छैन । चाहे उसले जस्तोसुकै कर्म गरेको भए पनि त्यो शान्ति उसभित्र नै हुन्छ । यसको अर्थ बाहिरको परिस्थिति जस्तोसुकै भए पनि शान्ति तपाईँभित्र नै विद्यमान हुन्छ ।

शान्ति कस्तो चीज हो भने, मानिसभित्र आँधीबेहरी आइरहँदा पनि त्यसबाट निस्केर उसले आपूmभित्र शान्तिको अनुभव गर्न सक्छ । यो सारा संसारलाई सञ्चालन गर्ने त्यो शक्ति, त्यो तागत यो समयमा पनि हामीभित्रै छ । त्यसलाई अनुभव गर्नुपर्छ, प्रत्यक्ष अनुभव गर्नुपर्छ– मनबाट होइन, विचारले होइन, प्रत्यक्षरूपमा अनुभव गर्नुपर्छ । त्यसपछि शान्ति जागृत हुन्छ । किनकि, यस्तो अवस्थामा मानिसले त्यस चीजको अनुभव गरिरहेको हुन्छ, जसको ऊ एउटा अंश पनि हो । त्यसको कुनै सीमा हुँदैन । जसको कहिल्यै नाश नै हुँदैन ती पनि उसभित्रै छन् । जबसम्म उसले त्यसको अनुभव गर्दैन, तबसम्म उसले ‘ऊ को हो’ भनेर पूर्ण रूपमा पहिचान गर्न सक्दैन ।मानिसहरूको के बुझाइ छ भने, हामी वृद्ध भएपछि, जागिरबाट अवकाश लिएपछि शान्तिका बारेमा सोच्नुपर्छ । तर, समृद्धि अर्थात् प्रगति भनेको त पैसा होस्, स्वास्थ्य होस् अनि शान्ति पनि होस् ! शान्तिको अभावमा समृद्धि अधुरो हुन्छ । शान्तिले जीवन जिउन सिकाउँछ । हृदयलाई खोल्नु शान्ति हो ! आपूmले आपूmलाई चिन्नु नै शान्ति हो ! मानिस जहाँसुकै बस्ने व्यक्ति भए पनि उसलाई शान्तिको आवश्यकता पर्दछ ।एउटा समयको कुरा हो । गौतम बुद्ध त्यो समयमा गौतम बुद्धका नामले प्रसिद्ध भएका थिएनन्, सिद्धार्थका नामले चिनिन्थे । एकदिन उनी बाहिर जान चाहन्थे, किनकि उनको जन्म महलमा नै भएको थियो ।

त्यसकारण उनलाई बाहिर जाने आज्ञा थिएन । उनको जन्म समयमा ज्योतिषीले भने– यी मान्छे कि त एकदमै ठूलो राजा हुनेछन् या त एकदमै ठूला सन्त हुनेछन् । तथापि, उनका पिता भने उनी सन्त नबनून् भन्ने चाहन्थे । पिताको चाहना उनी राजा नै बनून् भन्ने थियो । त्यसकारण उनलाई दरबारभन्दा बाहिर लैजान रोक लगाइएको थियो ।एकदिन सिद्धार्थ बगैँचामा घुम्नका लागि निस्कँदा उनले सडकमा एकजना वृद्ध व्यक्तिलाई देखे । उनको दाँत झरेको थियो । कपाल फुलेको थियो । शरीर कुप्रो परेको थियो । हातमा लट्ठी लिएर टेक्दै, थरथर काम्दै सडकमा हिँडिरहेका थिए ।दोस्रो पटक सिद्धार्थ जब बगैँचामा घुम्नका लागि निस्के तब उनका सामु एकजना रोगी आए । उनलाई स्वाँस्वाँ भइरहेको थियो । अनुहार पनि पहेँलो भएको थियो । अर्र्को व्यक्तिको सहायताले उनी अत्यन्तै कठिनसँग हिँडिरहेका थिए ।तेस्रो पटक सिद्धार्थले एउटा मुर्दा देखे । चारजनाले त्यसलाई बोकेर लगिरहेका थिए । पछाडितिर धेरै मलामीहरू थिए । ती सबै रोइरहेका देखिन्थे ।
मुर्दालाई देखेपछि उनले सोधे, ‘यो के हो ?’
सारथिले भने, ‘यो मानिसको मृत्यु भएको छ ।’
तब सिद्धार्थले सोधे, ‘के यो अवस्था मेरो पनि हुन्छ ?’
सारथिले भने, ‘यो त संसारको नियम हो । जसको जन्म हुन्छ एकदिन उसले यहाँबाट जानै पर्छ ।’
यी दृश्यले सिद्धार्थलाई एकदमै विचलित तुल्यायो । सिद्धार्थले सोचे– के वृद्धावस्था, बिमारी अनि मृत्यु सधैँ यस्तै गरी भइरहन्छ !

चौथो पटक सिद्धार्थ बगैँचामा घुम्नका लागि निस्के । उनले एकजना संन्यासीलाई देखे । संसारको सबै भावना र कामनाबाट मुक्त प्रसन्न चित्त भएका संन्यासीले सिद्धार्थलाई आकर्षित तुल्याए अनि सिद्धार्थको जीवनलाई नै बदलिदिए ।यदि हामीले यी कुरामा ध्यान दिने हो भने वास्तवमा हाम्रो जीवनमा शान्तिको महत्त्व के छ भन्ने कुरा हामी बुझ्न सक्छौँ । शान्ति हाम्रा लागि कति आवश्यक छ, यस कुरालाई हामी बुझ्न सक्छौँ । अनि, यो समाजलाई शान्ति होओस्-नहोओस् तर हाम्रो जीवनमा हुनुपर्छ ।कुरा के हो भने, तपाईँको जीवनमा खुशी पनि आउँछ, तपाईँको जीवनमा सुख पनि प्राप्त हुन्छ, तपाईँको जीवनमा शान्ति पनि छ । तर, तपाईँको अप्ठ्यारो र द्विविधातिर नै तपाईँको ध्यान केन्द्रित रहन्छ । यद्यपि हेर्ने हो भने तपाईँमा दुवै सम्भावना छन् । तपाईँको जीवनमा खुशीको सम्भावना पनि छ र शान्तिको सम्भावना पनि छ । तपाईँको जीवनमा यो त सृष्टिकर्ताको आशीर्वाद हो । उनले तपाईँलाई के आशीर्वाद दिएका छन् भने तपाईँले चाहनुभयो भने तपाईँ खुशी रहन सक्नुहुन्छ अनि आफ्नो जीवनमा शान्तिको अनुभव गर्न पनि सक्नुहुन्छ ।

यो सम्भव छ । अनि, यति मात्रै होइन, यदि तपाईँ अशान्त रहन चाहनुहुन्छ भने तपाईँ अशान्त पनि रहन सक्नुहुन्छ । दुवै सम्भावनालाई राखिएको छ ।तर, मानिस हुनुको नाताले हामीलाई यो कुरा थाहा छ– जब हाम्रो जीवनमा शान्ति हुन थाल्छ तब हामीलाई राम्रो लाग्छ । जब हामी खुशी हुन्छौँ तब हामीलाई राम्रो लाग्छ । हामीलाई कति राम्रो मौका मिलेको छ, हामीलाई कति उत्कृष्ट समय प्राप्त भएको छ, किनभने यो संसारमा हामी जीवित छौँ । जब यस्ता भावनाहरू हामीमा उत्पन्न हुन्छन् भने हामीलाई राम्रो लाग्छ । यसकारण हामीलाई खुशी लाग्छ । तथापि, सबैको द्विविधा के छ भने, ‘म आफ्ना अप्ठ्याराबाट कसरी बँच्न सक्छु ?’कतिपय मानिसहरूले के भन्छन् भने, ‘मभित्र शान्ति छ भन्ने कुरा म कसरी थाहा पाउन सक्छु !’ हामी एउटा कुरालाई बिर्सन्छौँ । त्यो के हो भने, यो आँखाले हामी सबैको अनुहार देख्न सक्छौँ तर आफ्नै अनुहारलाई देख्न सक्दैनौँ । यदि आफ्नो अनुहारलाई हेर्न चाह्यौँ भने यसका लागि ऐनाको आवश्यकता पर्दछ । यसरी नै शान्तिका लागि तपाईँले केही न केही गर्नै पर्छ । पहिलो खुट्किलो शान्तिका लागि ‘शान्ति मभित्र छ’ भन्ने नै हो ! शान्तिलाई मैले आफैँभित्र खोज्नुपर्छ, बाहिर होइन । वास्तविक शान्ति मानिसभित्रै छ ।

आफूले आफूलाई चिन्ने, आफूले आफूलाई जान्ने कुराको सम्बन्ध त्यस शान्तिसँग छ । वास्तवमा यो सम्भावना हरेक मानिसमा छ । जब मानिसले त्यो शान्तिको अनुभव गर्न थाल्छ त्यसपछि उसले बुझ्न थाल्छ– ‘यो मेरो प्रकृति हो, म यो हुँ !’ त्यसपछि कुनै कुरालाई परिवर्तन गर्नुपर्ने आवश्यकता पर्दैन ।यदि हामीलाई पानीको आवश्यकता पर्छ, पानी प्राप्त गर्ने प्यास जाग्छ अनि हामी पानी खोज्न थाल्छौँ, पानीको स्रोतलाई खोज्न थाल्छौँ । कुवा, नदी या झरनालाई खोज्न थाल्छौँ । त्यस्तै गरेर यो कुरालाई बुझ्नु आवश्यक छ, जुन चीजलाई हामी खोजिरहेका छौँ, हामी जीवनमा जुन सुखलाई चाहन्छौँ, त्यो कहाँ छ ? त्यो चीज, त्यो सुख हामीभित्रै छ । तर, हामी त्यसलाई बाहिर खोजिरहेका छौँ ।हामी सोच्छौँ, हाम्रो उन्नति भयो भने हामीलाई सुख–शान्ति प्राप्त हुनेछ । तर, हाम्रो हृदयले खोजेको सुख त्यो सुख होइन । त्यो सुख फरक छ ।

यदि हामीले– ‘मलाई पारिवारिक सुख प्राप्त भएपछि मेरो हृदयलाई आनन्द हुनेछ’ भनेर भनिरहन थाल्यौँ भने यो कुरा पनि गलत हो । बाहिरका सबै सुख हुँदाहुँदै पनि एउटा यस्तो सुख छ, जसलाई नजानी, नबुझीकन मानिसको जीवन अधुरो हुन्छ । आन्तरिक सुखको चाहनारूपी बीउलाई सृष्टिकर्ताले तपाईँको हृदयमा राखेका छन्– साँचो सुख र शान्तिलाई कहाँ छ भनेर खोज्नुहोस्, जान्नुहोस् अनि पहिचान गर्नुहोस् भनेर ।हृदयलाई हरेक दिन, हरेक क्षण शान्तिको आवश्यकता छ । मानिसहरू शान्तिको कुरा गर्छन् । भन्छन्, ‘विश्वमा शान्ति हुनुपर्छ ।’ म भन्छु, विश्वमा शान्ति होइन, तपाईँको हृदयमा शान्ति हुनुपर्छ । विश्वलाई शान्ति चाहिएको कहाँ हो र ? विश्वमा को छन् ? मानिस नै त छन् ! अरू को छन् ?
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण:a डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्