वाराहीजात्रा अब २०८० मा


नेपाल समाचारपत्र, हेटौंडा

गत वर्ष कोभिड–१९ का कारण स्थगित उत्तरी मकवानपुरको प्रख्यात ३ वर्षे वाराहीजात्रा यस वर्ष पनि दोस्रो भेरियन्टको प्रकोपका कारण पूजामात्र गरी सम्पन्न गरिने भएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या हरेक दिन बढेपछि अब २०८० सालमा जात्रा गर्ने गरी यसपटक पूजामै सीमित गरिन लागेको हो ।

बुधबार गुठी व्यवस्थापन समितिको बैठकले कोभिडको प्रकोपका कारण एक दिन निश्चित व्यक्तिको मात्र सहभागिता हुने गरी पूजा गरेर सम्पन्न गर्ने निर्णय भएको अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । ३ दिनसम्म चल्ने जात्रालाई यस वर्ष सीमित मानिसबीच एकदिन पूजा गरी जात्रा समापन गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । तिथिअनुसार जेठ १५ देखि १७ गतेसम्म गर्नुपर्ने जात्राको आन्तरिक तयारी भने जेठ ८ गतेबाट शुरु हुने भएकाले संक्रमण जोखिम बढ्ने भन्दै नगरपालिकाले जात्रा नगर्न आग्रह गरेको थियो ।गुठी तथा गुठीयारहरुलाई नगरपालिकाले बैठक बोलाएर जात्रा स्थगन गर्न सुझाएको थियो । पछिल्लो समय थाहानगरमा हरेक दिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नगरले जात्राप्रति चासो लिएको थियो । जात्रा गुठी सम्बन्धित समुदायसँगको बैठकमा मेयर लवशेर विष्टले कोरोना महामारीमा जात्राले थप संकट निम्तिन सक्ने हुँदा सकेसम्म जात्राका विधिहरु पूरा गरी महामारीबाट बच्न र बचाउन आग्रह गर्नुभएको थियो ।

तर, बैठकमा सहभागी जात्राका धामीझाँक्री, पुजारीहरुले भने कुनै हालतमा जात्रा गर्नैपर्ने अडान राखेका छन् । जात्रामा भोग दिन भक्तजनले भाकल गरी पशुपक्षी पालिरहेको ४ वर्ष भइसकेकाले जोखिम न्यूनीकरणका उपाय अपनाएर भए पनि जात्रा गर्नुपर्ने उनीहरुको अडान छ । जात्रामा भोग दिन पालेको राँगा गत वर्ष जात्रा नभएपछि वडा कार्यालय तथा स्थानीय गुठीयारबाट दानापानी व्यवस्था गरी नियमित पाल्दै आइएको छ ।जात्रा नहदा तान्त्रिक विधिबाट नचाइने १२ वर्षे नाचसमेत प्रभावित हुने स्थानीयको दाबी छ ।