प्रधानमन्त्री ओलीसँग आयोग रुष्ट


नेपाल समाचारपत्र, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ स्वयंले राष्ट्रिय सभा सदस्यको रिक्त पदको उपनिर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघन गरेकोमा निर्वाचन आयोगले ध्यानाकर्षण गराएको छ । उपनिर्वाचन हुने अघिल्लो दिन बुधबार आयोगले सो ध्यानाकर्षण गराएको हो ।

मौन अवधि शुरु भइसकेपछि पनि आचार संहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।बुधबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको तर्फका उम्मेदवार रामबहादुर थापा ‘बादल’ को पक्षमा मत माग्दै अपिल जारी गरेका थिए भने मौन अवधिमा उम्मेदवारकै दौडधूपसमेत बढेको थियो । त्यसै गरी, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पनि सार्र्वजनिक अपिल जारी गरेर आचारसंहिता उल्लंघन गरेका थिए । ‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचारसंहिताविपरीत गरेको देखिएकाले यसतर्फ आयोगको गम्भीररूपमा ध्यानाकर्षण भएको छ’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चारमाध्यमलगायतले पालना गर्नुपर्ने आचारसंहितासमेत लागू भइसकेको सन्दर्भमा आचारसंहिताविपरीतका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयताप्रति नै आघात पार्ने कुरा स्पष्ट नै छ ।’

आयोगले आचारसंहिता पालना नगर्नेलाई कारबाहीको चेतावनीसमेत दिएको छ । एकातर्फ निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्कोतर्फ आफैं आचारसंहिताविपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन नसक्ने आयोगको भनाइ छ ।‘निर्वाचन आचारसंहिताविपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानुनबमोजिम कारबाही गर्न सक्ने कुरा प्रस्ट गर्दै यसरी आचारसंहिताविपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरासमेत जानकारी गराइन्छ ।’ –विज्ञप्तिमा भनिएको छ ।यस उपनिर्वाचनमा वागमती प्रदेशसभा सदस्य १ सय १० जना र वागमती प्रदेशअन्तर्गतका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुख २ सय ३८ गरी ३ सय ४८ जना मतदाता रहेका छन् । मतदाताहरुलाई बिहीबार ९ बजेदेखि ३ बजेसम्म हुने मतदानमा सहभागी हुन आयोगले अनुरोध गरेको छ । निर्वाचन प्रयोजनका लागि आयोगले जारी गरेको निर्वाचन आचारसंहिताअनुसार जेठ ३ गते राति १२ बजेपछि मौन अवधि लागू गरिएको थियो ।

यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।आयोगले बिहीबार सम्पन्न हुने वागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको समेत जनाएको छ ।