‘घाट’ खोज्न हम्मे हम्मे


मोतीराम तिमल्सिना ,काभ्रे ।

कोरोना संक्रमणबाट उपचार गर्दा गर्दै तथा उपचार नै गर्न नपाई निधन हुनेहरुको संख्या बढ्न थाले पछि जिल्लामा शव ब्यवस्थापनमा कठिनाई उत्पन्न हुन थालेको छ । शहरी क्षेत्र बनेपा, पनौती र धुलिखेल नगरपालिकाले घाट ब्यवस्थापन गर्न नसकेका कारण शव ब्यवस्थापनमा कठिनाई उत्पन्न भएको हो ।

एकातिर कोरोना संक्रमितहरुको उपचारका लागि अस्पतालको अभाव छ । अर्काेतिर उपचार हुन नसकी निधन भएका संक्रमितहरुका लागि घाट पाउन समस्या उत्पन्न हुन थालेको छ । पहिलो चरणको संक्रमणमा नेपालकै पहिलो महिला सिन्धुपाल्चोक घर भई धुलिखेल अस्पतालमा निधन भए पछि पशुपति आर्यघाटमा मेशिनबाट अन्त्येष्टी गर्न शुरु गरिएको थियो । त्यहि क्रम अहिलेसम्म जारी छ । त्यतिबेला निधन हुनेहरुको संख्या कमि थियो । नेपाली सेनाको टोलीले राजधानी पु-याएर फर्कने गरेको थियो । ‘शव ब्यवस्थापनमा कठिनाई उत्पन्न हुन थालेको छ’–नेपाली सेना कालिजंग गण धुलिखेलका गणपति मिलन थापाले भन्नुभयो–‘दैनिक ५ भन्दा धेरै शवहरु जम्मा हुन थाले पछि आर्यघाट लैजान कठिन भएको छ ।’ जिल्लामै शव ब्यवस्थापनका लागि प्रयास भए पनि टुङ्गिन सकेको छैन ।जिल्ला संकट ब्यवस्थापन केन्द्रले मंगलबार आयोजना गरेको बैठकले स्थानीय तहबाट पहिचान भई आएका स्थानीय तहका केहि क्षेत्रहरुमा तोकिएको मापदण्ड बमोजिम शव व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

पाँचखाल नगरपालिकाका लागि पाँचखाल र भुम्लु गाउँपालिका बीचको दोलालघाट बगर क्षेत्र, मण्डनदेउपुर नगरपालिकाका लागि वडा नम्वर ७ र ९ को सिमानाको मशानेपाटी घाट क्षेत्र, वैकल्पिक क्षेत्र वडा नम्वर १ र ५ को सीमानामा पर्ने लट्टघारी वन क्षेत्र र वडा नम्वर १२ को बाँसखर्क लगायत सामुदायिक वन क्षेत्र, चौंरीदेउराली गाउँपालिकाका लागि चिहानडाँडा, गोठपानी, सुङ्गेखोला, चौंरीखोला वडा नम्वर ५, चलाखु चिहानडाँडा, काप्mले चिहानडाँडा, सलम्बु चिहानडाँडा र चौंरीखोला वडा नम्वर ३ मा चयन गरिएको छ ।भुम्लु गाउँपालिकाका लागि सुनकोसी नदि र ईन्द्रावतीनदिको दोभान, खानीखोला गाउँपालिकाका लागि बागमती घाट खानीखोला ५, रोशीका लागि भ्याकुरे खोला र रोशीखोला त्रिवेणी घाट क्षेत्र चयन भएको छ ।

बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध नगरपालिकाले शव ब्यवस्थापनका लागि स्थान छनौट गरेका छैनन । पछिल्लो समय बनेपा, धुलिखेल र पनौतीका धेरै नागरिकहरु संक्रमणबाट ज्यान गुमाउनेको सूचीमा छन् । पालिकाहरुले शव ब्यवस्थापनका लागि साझा स्थान छनौट प्रयास नगरे जिल्ला बाहिर र जिल्ला भित्रकै तर विकट क्षेत्रका नागरिकहरु उपचारका क्रममा अस्पतालमा निधन भएको अवस्थामा शव ब्यवस्थापनमा कठिन हुने सम्भावना छ । बैठकमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धब के.सी., नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झा लगायतको सहभािगता रहेको थियो ।

बैठकले कोभिड–१९ संक्रमणको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाको टोलीलाई श्रोत साधनको मर्मत तथा ईन्धनको लागि बजेट अभाव भए पछि सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशबाट निकासा भई आएको बजेटबाट खर्च गर्ने निर्णय गरेको छ । काभ्रेपलाचोक जिल्लामा कोरोना भाईरसको दोश्रो संस्करण शुरु भए पछि जिल्ला भित्र र बाहिरका गरी ६६ जनाको निधन भएको छ भने हालसम्म १ सय २९ जनाले ज्यान गुमाएका छन् ।