न्युयोर्क, एजेन्सी
अमेरिकाको न्युजर्सीस्थित एउटा निर्माण व्यवसायी कम्पनीलाई दुई सय जनाभन्दा बढी भारतीय कामदारलाई नाम मात्रको पारिश्रमिक दिएर काम गराएको भन्दै मुद्दा दायर गरिएको छ । एउटा निर्माणाधीन हिन्दू मन्दिरमा तिनीहरूलाई जनही प्रतिघन्टा १ दशमलव २० अमेरिकी डलर दिएर दैनिक १२ घन्टा काममा जोताउने गरेको अनुसन्धानबाट थाहा हुन आएको छ ।
भारतको उपेक्षित र पिछडिएको समुदायबाट आएका ती कामदारलाई न्युजर्सीको सो निर्माण स्थलमा काम गराउन बोचासान्वासी श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था ९बीएपीएस० ले फकाइफुलाई लगेको प्रहरी अधिकारीहरूले बताएका छन् ।गत मंगलबार ६ जना कामदारले अन्य सम्पूर्ण पीडितहरूका समेत पक्षबाट बीएपीएसले अमेरिकाको कामदारहरूको संरक्षण गर्ने प्रचलित कानुन उल्लंघन गरेको भन्दै नेवार्कस्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । अर्थसम्बन्धी चर्चित पत्रिका फोब्र्सका अनुसार यस कम्पनीविरुद्ध अवैध ढंगले मानव ओसार–प्रसारको कानुन पनि तोडेको भन्दै मुद्दा परेको छ ।
मुद्दाको दस्तावेजमा उल्लेख भएअनुसार तिनीहरूलाई जनही महिनाको ४ सय ५० डलर तलब दिएर हप्ताको ८७ घन्टाभन्दा बढी समय काम गराउने गरिएको उल्लेख छ । न्युजर्सी राज्यमा अहिले न्यूनतम पारिश्रमिक नै १२ डलर तोकिएको छ । साथै, अमेरिकी कानुनअनुसार साताको ४० घन्टाभन्दा बढी काम गर्नेहरूलाई ओभर टाइमको हिसाबले थप पारिश्रमिक दिइनुपर्दछ ।
मारमा परेका ती कामदारमध्ये अधिकांशलाई अंग्रेजी बोल्नसमेत नआएको बुझिएको छ । तिनीहरूलाई अवैध ढंगले अमेरिकामा ओसारेर धार्मिक कामदार र स्वयंसेवकको झुठो दर्जा दिइएको कुरा पनि पर्दाफास भएको छ । अमेरिका आइपुग्नासाथ तिनीहरूको पासपोर्ट र भिसा सो कम्पनीले आफ्नो कब्जामा लिएको थियो । अब तिनीहरूले न्युजर्सीको न्यूनतम तलब बराबरको रकमसँगै अन्य क्षतिपूर्तिसमेत पाउने सम्भावना बढी रहेको बताइएको छ ।
प्रतिक्रिया