मोतीराम तिमल्सिना, काभ्रे
कोभिड महामारीमा सुरक्षित भई सेवा प्रदान गर्ने उद्देश्यअनुरूप जिल्ला कारागार कार्यालय काभ्रेपलाञ्चोकमा रहेका थुनुवाहरुको सुनुवाइ भर्चुअल विधिबाट शुरु गरिएको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतले शुरु गरेको अनलाइन बहस कारागारमा शुरु गरिएको हो । वैशाख ३० गतेदेखि शुरु भएको उक्त प्रविधिमार्फत ६ वटा मुद्दा सुनुवाइ भएको छ’, जिल्ला अदालत काभ्रेपलाञ्चोकका शाखा अधिकृत एवं सूचना अधिकारी देवराज भट्टराईले भन्नुभयो– ‘सोमबार दुईवटा मुद्दामा सुनुवाइ भएको छ ।’ कारागारमा थुनुवा रहेका जिल्ला ३० गोकुले धाप १ ‘क’ को जाहेरीले हाडनाता करणी मुद्दाका प्रतिवादीको २०७८ वैशाख ७ गते कसूर निर्धारण गरिएको थियो ।
प्रमुख जिल्ला न्यायाधीश सूर्यप्रसाद पराजुलीको इजलासले कसूर निर्धारण गरिएका प्रतिवादी थुनुवा गोकुले ‘घ’ लाई करणीमा ९ वर्ष ६ महिना कैद सजाय तथा हाडनातामा थप ६ महिना कैद र ५ हजार जरिवानाको सजाय निर्धारण गरेको छ । क्षतिपूर्ति राहत कोषमा १ हजार ८ सय र पीडितलाई २५ हजार क्षतिपूर्ति उपलब्ध गराउने फैसलासमेत गरेको छ ।प्रमुख जिल्ला न्यायाधीश पराजुलीको इजलासले सोमबार प्रहरी हिरासतमा रहेका लागूऔषध मुद्दाका अभियुक्तको पनि थुनछेक बहस भर्चुअल विधिबाट गरेको छ । वादी १० नेपाल सरकारको जाहेरीमा सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका–१० घर भएका २२ वर्षीय धर्मेन्द्रकुमार रामसवेत पक्राउ गरेका थिए । उनीसँगै लागूऔषध ओसारपसारमा मुद्दा दायर भएका बीपी भन्ने बैजु शाह हलुवाई फरार छन् । पक्राउ परेका धर्मेन्द्रकुमार रामसवेतलाई न्यायाधीश पराजुलीको इजलासले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो ।
‘कोभिडको बढ्दो संक्रमणका कारण व्यक्ति स्वयं उपस्थित हुन सम्भव भएन, सुरक्षाका अधिकतम उपाय अपनाउँदै प्रविधिको भरपुर प्रयोग गरी भर्जुअल विधिमार्फत बहस र सुनुवाई गरेका हौं’, जिल्ला अदालत काभ्रेपलाञ्चोकका स्रेस्तेदार उपसचिव गोविन्द घिमिरेले भन्नुभयो– ‘प्रविधिको प्रयोगले कोभिड महामारीको जोखिममा सेवाग्राहीलाई सहज भएको छ ।’सर्वाेच्च अदालतले अनलाइन बहसका लागि जुम आईडी र पासवर्ड उपलब्ध गराएपछि जिल्ला अदालतले अनलाइन बहस शुरु गरेको हो । अदालतले प्राप्त गरेको जुम आईडी सरकारी वकिल र मुद्दाका पक्षहरुलाई उपलब्ध गराइएको छ । अदालतले अनलाइन बहस गर्ने मुद्दाको फोटो खिचेर भाइबर तथा इमेलमार्फत कानुन व्यवसायी तथा सरकारी वकिललाई उपलब्ध गराउने गरिएको छ । त्यसकै आधारमा अनलाइन बहस हुने गरेको स्रेस्तेदार घिमिरेले बताउनुभयो ।











प्रतिक्रिया