फ्रन्टलाइनमा प्रहरीः नागरिकले नटेर्दा प्रहरी हैरान

लकडाउमा ३३ हजार प्रहरी परिचालन बहानाबाजी बनाउनेले प्रहरी दिक्क ८० हजार सवारी साधनमाथि कारवाही


मधुसूदन रायमाझी काठमाडौं ।

राजधानी काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमितको सख्या दिनप्रतिदिन बढदै गएको छ । कारोना संक्रमण नियन्त्रण र रोकथाम गर्नको लागि सरकारले हालसम्म ७३ वटा जिल्लामा लकडाउन घोषणा गरिसकेको छ । देशभरका अस्पतालको वेड कोरोना संक्रमितले भरिदा गम्भीर संक्रमितले उपचार नपाउने अवस्था समेत सृजना भएको छ ।

सरकारले थप कोराना संक्रमण फैलिन नदिन लकडाउन घोषणा गरेपनि नागरिकहरुले अटेर गर्ने क्रम अझै घटेको छैन् । अस्पतालमा आइसीयू, भेन्टिलेर र अक्सिजन नपाएर संक्रमितको मृत्यु हुने क्रम बढेपनि लकडाउन उल्लंघन गर्ने घटनामा कमी आउन सकेको नेपाल प्रहरीले बताएको छ । लकडाउनको प्रभावकारी कार्यान्वयनको लागि २४ सै घण्टा प्रहरीले अनुगमन गर्दै आएको छ । तर प्रहरीको आँखा खोल्दै तोकिएको मापदण्ड विपरीत पसल सञ्चालन गर्ने क्रम बढेको छ । प्रहरीले माइकिङ गर्ने, तपाईको मास्क खोइ ? जस्ता जनचेतनामूलक कार्यक्रम दैनिक रुपमा गर्दै आएपछि नागरिकबाट वेवास्था गर्ने क्रम बढेको नेपाल प्रहरीका प्रवक्ता वसन्त कुमार कुँबरले बताउनुहुन्छ । अस्पतालमा संक्रमितलाई बचाउन चिकित्सक अहोरात्र खटिएजस्तै प्रहरी पनि समुदायमा थप कोराना संक्रमण फैलिन दिनरात लागि परेको छ । तर लकडानलाई नै चुनौती दिदै नागरिक भने वहानाबाजी गरेर सडकमा हिडने क्रम नरोकिएको प्रहरीले बताएको छ । सरकारले अत्यावश्यक बाहेकका काममा घरबाट बाहिर नहिडन आग्रह गरेपनि सडकमा विभिन्न बहानामा नागरिक हिडदा कोरोना संक्रमण झन बढने चिन्ता थपिएको प्रहरी प्रवक्ता कुँबरले बताउनुभयो ।

प्रहरीले सात वटा प्रदेशमा लकडाउन भएको यस अवधिमा आइतवारसम्म २६ हजार ५४७ चारपाङग्रे र ५१ हजार २३० वटा मोटरसाइललाई कारवाही गरेको छ । योसँगै सोमवार पनि ३ हजार १ सय ९४ वटा गरी ७७ हजार साना ठूला सवारी साधनमाथि कावाही गरेको प्रहरीले बताएको छ । प्रहरीको तथ्याङक अनुसार लकडाउन लागू भएपछि उल्लंघन गर्ने ८० हजार ८८१ सवारी साधनमाथि कारवाही गरिएको छ । प्रहरीले नागरिकलाई अनावश्यक रुपमा घरबाट बाहिर नहिडनको लागि ५ हजार भन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । प्रहरीले यस अवधिमा मास्क नलगाउने २ लाख ८३ हजार बढी नागरिकलाई माक्स वितरण गरी छोडेको छ । प्रहरीले ‘तपाईको मास्क खोइ ? अन्तर्गत ८ हजार भन्दा बढी कार्यक्रम सञ्चालन गरेको प्रवक्ता कुँबरले बताउनुभयो । लकडाउन कोरोना संक्रमण र नियन्त्रण गर्नको लागि गरिएको बताउदै प्रवक्ता कुँबरले नेपाल समाचारपत्रसँग भन्नुभयो,‘हरेक नागरिक यति बेला जिम्मेवार बन्न आवश्यक छ, प्रहरीलेलाई अनावश्यक रुपमा हैरान पार्ने काम नहोस ।’

नागरिकहरु सचेत भएको अवस्थामा कोरोना महामारी नियन्त्रण गर्न सहयोग पुग्ने बताउदै उहाँले सडकमा अनावश्यक रुपमा प्रहरीलाई विभिन्न बहानाबाजी गर्दै नहिडन आग्रह गर्नुभयो । कोरोना नियन्त्रण र रोकथापमको लागि हाल देशभर साढे ३३ हजार प्रहरी परिचालन गरिएको र १० हजारलाई तयारी अवस्थामा राखिएको प्रहरीले बताएको छ । प्रहरीले अनावश्यक काममा पनि घरबाट बाहिर हिडने नागरिकलाई सडकमै डेढ घण्टा उभ्याएर समेत सजाय दिदै आएको छ ।

आधा महिनाको अवधिमा कारवाहीमा परेका सवारी साधनको सूची
क.सं. कायालयकोे नाम चार पाङग्रे मोटरसाइकल
१. महानगरीय प्रहरी कार्यालय ८,३५२ ७,२७०
२. १ नम्बर प्रदेश प्रहरी कार्यालय ५६० २,५६८
३. २ नम्बर प्रदेश प्रहरी कार्यालय ९८ १,४२१
४. बागमतीप्रदेश प्रहरी कार्यालय २,०९३ ८,१६५
५. गण्डकी प्रदेश प्रहरी कार्यालय २,१३२ ४,११०
६. लुम्बनीप्रदेश प्रहरी कार्यालय ६,७४५ ८,४९६
७. कर्णालीप्रदेश प्रहरी कार्यालय १,१०० ३,९८८
८. सुदुरपश्चिमप्रदेश प्रहरी कार्यालय ५,४६७ १५,२१२
जम्मा २६,५४७ ५१,२३०