कारागारबाट ‘भर्चुअल’ सुनुवाई, अदालतबाट फैसला

168
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

कोभिड महामारीमा सुरक्षित भई सेवा प्रदान गर्ने उदेश्य अनुरुप जिल्ला कारागार कार्यालय काभ्रेपलाञ्चोकमा रहेका थुनुवाहरुको सुनुवाई भर्चुअल विधीबाट शुरु गरिएको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतले शुरु गरेको अनलाईन बहस कारागारमा शुरु गरिएको हो ।

‘बैशाख ३० गते देखि शुरु भएको उक्त प्रविधि मार्फत ६ वटा मुद्दा सुनुवाई भएको छ’–जिल्ला अदालत काभ्रेपलाञ्चोकका शाखा अधिकृत एवं सुचना अधिकारी देवराज भट्टराईले भन्नुभयो–‘सोमबार दुईवटा मुद्दामा सुनुवाई भएको छ ।’ कारागारमा थुनुवा रहेका जिल्ला ३० गोकुले धाप १ क को जाहेरीले हाडनाता करणी मुद्दाका प्रतिवादीको २०७८ बैशाख ७ गते कसुर निर्धारण गरिएको थियो । प्रमुख जिल्ला न्यायाधिश सुर्यप्रसाद पराजुलीको इजलासले कसुर निर्धारण गरिएका प्रतिवादी थुनुवा गोकुले घ लाई करणीमा ९ वर्ष ६ महिना कैद सजायँ था हाडनातामा थप ६ महिना कैद र ५ हजार जरिवनाको सजायँ निर्धारण गरेको छ । क्षतिपुर्ति राहत कोषमा १ हजार ८ सय र पीडितलाईलाई २५ हजार क्षतिपुर्ति उपलब्ध गराउने फैसला गरेको छ ।

प्रमुख जिल्ला न्यायाधिश सुर्यप्रसाद पराजुलीको इजलाशसले सोमबार प्रहरी हिरासतमा रहेका लागु औषध मुद्दाका अभियुक्तको थुनछेक बहस भर्चुअल विधिबाट गरेको छ । बादी १० नेपाल सरकारको जाहेरीमा सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका वडा नम्वर १० घर भएका २२ बर्षिय धर्मेन्द्रकुमार रामसवेत पक्राउ गरेका थिए । उनीसँगै लागु औषध ओसारपसारमा मुद्दा दायर भएका विपी भन्ने बैजु शाह हलुवाई फरार छन् । पक्राउ परेका धर्मेन्द्रकुमार रामसवेतलाई न्यायाधिश पराजुलीको इजलासले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनु भयो ।

‘कोभिड भाईरसको बढ्दो संक्रमणका कारण ब्यक्ति स्वंय उपस्थित हुन सम्भव भएन, सुरक्षाका अधिकतम उपाय अपनाउँदै प्रविधिको भरपुर प्रयोग गरी भर्जुअल विधि मार्फत बहसु र सुनुवाई गरेका हौं’–जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार उप सचिव गोविन्द घिमिरेले भन्नुभयो–‘प्रविधिको प्रयोगले कोभिड महामारीको जोखिम न्युनिकरणसँगै सेवाग्रहिलाई सहज भएको छ ।’ सर्वाेच्च अदालतले अनलाईन बहसका लागि जुम आईडी र पासवर्ड उपलब्ध गराए पछि जिल्ला अदालतले अनलाईन बहस शुरु गरेको हो । अदालतले प्राप्त गरेको जुम आईडी सरकारी वकिल र मुद्दाका पक्षहरुलाई उपलब्ध गराईएको छ । अदालतले अनलाईन बहस गर्ने मुद्दाको फोटो खिचेर भाईवर तथा इमेल मार्फत कानुन ब्यवसायी तथा सरकारी वकिललाई उपलब्ध गराउने गरिएको छ । त्यसकै आधारमा अनलाईन बहस हुने गरेको श्रेस्तेदार गोविन्द घिमिरेले बताउनु भयो ।