वालिङ नगरपालिकाको कपासे गाउँ सिल


अमृत अर्याल, स्याङजा ।

वालिङ नगरपालिका १४ को कपासे गाउँलाई सिल गरिएको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड १९ का सङ्क्रमितहरु देखापरेसँगै रोकथाम तथा नियन्त्रणका लागि सिल गरिएको हो । नगर प्रमुखसहित स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर स्वास्थ्य परीक्षण गर्नुकासाथै आवश्यक पर्ने औषधि वितरण गरेको हो ।

“स्वास्थ्यकर्मी र औषधिसहित गाउँमा पुग्यौं” नगर प्रमुख दिलीपप्रताप खाँणले भन्नुभयो, “८६ जनाको स्वास्थ्य परीक्षण गर्दा अधिकांशमा कोभिडका लक्षण देखापरेपछि गाउँलाई नै सिल गरेका छौं ।” अर्को सूचना नहुँदासम्म उक्त गाउँमा बाहिरबाट कोही पनि नजान र गाउँका ब्यक्तिहरुलाई बाहिर आवत जावत नगर्न सुझाव दिईएको नगर प्रमुख खाँणले बताउनुभयो । “सिङ्गै गाउँमा प्रत्येक ब्यक्तिलाई केही न केही स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ” प्रमुख खाँणले भन्नुभयो, “सङ्क्रमणको दर बढ्न नदिन र अन्यत्र फैलिन नदिनका लागि आवत जावतमा बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना भएको हो ।” नागरिकको स्वास्थ्यप्रति सचेत रहेको बताउनुहुँदै उहाँले स्वास प्रस्वास वा स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएमा तत्काल नगरपालिका, वडा कार्यालय वा स्वास्थ्यचौकीमा सम्पर्क गर्न अनुरोध गर्नुभयो ।

“कृपया रोग नलुकाउनुस् जे हो त्यही बेलैमा भन्नुस्” उहाँले भन्नुभयो, “समयमै हामीलाई खबर गरिदिनुहोस् सबै उपचारको ब्यवस्था हामी मिलाउँछौं, कहाँ पु¥याउन पर्ने हो हामी पु¥याउँछौं तर त्यसका लागि समयमै खबर गरिदिनुहोस् ।” गाउँमा पुगेर लक्षण देखिएकाहरुको अक्सिजनको मात्रा, ज्वरोको जाँच गरिएको थियो भने लक्षणका आधारमा सबैलाई आवश्यक औषधि उपलब्ध गराईएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताउनुभयो ।

स्वास्थ्यसम्बन्धी मापदण्डहरु पालना गर्न आग्रह गरिएको छ भने थप स्वास्थ्य जटिलता उत्पन्न भएमा सम्पर्क गर्नका लागि नम्बर उपलब्ध गराएर छोडिएको स्वास्थ्य शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो । अक्सिजनको मात्रा कमि भएका केहीलाई थप उपचारका लागि गाह्रो प्राथमिक अस्पताल वालिङमा ल्याईएको छ । “गाउँमै भएका अन्य कसैलाई थप जटिलता वा कुनै अप्ठ्यारो महसुस भएमा सम्पर्क गर्नुहुन्छ र हामीले जुनसुकै बेला भएपनि तत्काल उद्दार गर्ने गरी एम्बुलेन्सलाई तयारी अवस्थामा राखेका छौं” पाण्डेको भनाई थियो ।