रिस किन उठ्छ र कसरी शान्त पार्ने ?



रिसले सानो मात्र होइन ठूलो कामलाई पनि धक्का पु-याउँछ । सानो कुरामा रिस नियन्त्रण गर्न नसक्दा जीवनभरका लागि ठूलो क्षतिसमेत पुग्न सक्छ । त्यसमा पछुतोबाहेक अरु केही हुँदैन । समय,परिस्थिति र विचारअनुसार दैनिकरूपमा हाम्रा भावनाहरु विभिन्न किसिम र विभिन्न स्तरमा प्राकृतिक तरिकाले आइरहेका हुन्छन् र यी भावनात्मक अवस्थालाई हाम्रो दिमागले निरन्तर सञ्चालन गरिरहेको हुन्छ । तिनै विभिन्न भावनात्मक अवस्थाहरूमध्ये रिस एक हो ।

खराब अवस्थामा जीउलाई बचाउने, सोच्ने र विचार गर्ने स्नायु तन्तु सेरेबल कर्टेक्सलाई खबरै नगरी शरीरले काम गर्दा झडङ्ग रिस उठ्छ । रिसकै झोकमा मान्छेले गर्नु नगर्नु गर्छ । यसको खबर रिस मरेपछि मात्रै निकै ढिलो सेरेबल कर्टेक्सले थाहा पाउँछ । सोचविचार गर्ने क्षमताको कर्टेक्स तन्तुले पत्तो पाउन्जेल रिसले काम तमाम गरिसकेको हुन्छ ।कर्टेक्सले त्यसको विरोध त गर्छ तर भइसकेको कामलाई रोक्नचाहिँ सक्दैन । त्यसैले अक्सर रिसको झोकमा केही गरेपछि अलिक बेरमा पश्चात्ताप हुने गरेको हो । यस्ता रिसाहा बानीले हाम्रो जीवनमा नकारात्मक असर पारिरहेको हुन्छ । रिसाहा बानीले शारीरिक तथा मानसिकरुपमा नकारात्मक असर पु-याउँछ । अनावश्यक रिसले सम्बन्ध टुट्न सक्छ, करिअरमा धक्का लाग्न सक्छ अनि सामाजिक जीवनमा पनि नराम्रो असर पुग्न सक्छ । त्यसैले यदि तपाईंमा पनि यस्तो बानी छ भने त्यसलाई त्याग्ने उपाय खोज्नुहोस् । रिस किन उठ्छ र त्यसले कस्तो असर पु-याउँछ भन्ने विषयमा गम्भीररुपले सोच्नु आवश्यक हुन्छ ।

मानिसहरु सामान्यतया अरुलाई सुझाव दिन सक्छन् तर त्यही सुझाव आफ्नै जीवनमा लागू भएको छ कि छैन भन्ने अर्कै बहसको विषय होला । मानिस आफैँ निकै चेतनशील प्राणी भएकोले पनि रिसको सन्तुलनको निम्ति आफ्नै मनको चेतनशील तथा अचेतनशील प्रक्रियागत प्रणालीहरुको प्रयोग गरी रिस तथा क्रोधको व्यवस्थापन गर्न कोसिस गर्छ ।रिस तथा क्रोधलाई दबाउने वा रुपान्तरित गरेर कुनै अर्थपूर्ण तथा उत्पादनमूलक कार्यमा लगाउने छनोट हामीसँग रहेको हुन्छ । रिस यस्तो संवेग हो, जुन हरेक मानवको जीवनको समय समयमा विभिन्न बहानामा आइरहन्छ । यसलाई रोक्नु निकै चुनौतीपूर्ण मात्रै होइन, अस्वस्थकर अभ्याससमेत हो । तसर्थ यसको सही व्यवस्थापनलाई हामीले आत्मसात् गर्नुपर्छ । रिस उठ्ने कारण निम्न छन् ।

मानसिक समस्या:

रोग, भोक, शोकलगायत कारणले मानिस आफैं पिरोलिएका हुन्छन् । त्यस्तो बेला उनीहरुले अरुका सामान्य कुरालाई पनि गहिरो तरिकाले बुझ्छन् र अचानक रिसाउँछन् ।

आदत:

कतिपय मानिस जन्मजात रिसाहा हुन्छन् । कतिपयको पछि विकसित हुन्छ । बाल्यकालमा धेरै कुटाइ खाएका, झैझगडाको वातावरणमा हुर्किएकाहरुमा धेरै रिस उठ्ने बानी हुन्छ । उनीहरुले त्यो बानी नियन्त्रण गर्न खोज्ने प्रयास गरे पनि असफल हुन्छन् । त्यो उनीहरुको कमजोरीको रुपमा रहिरन्छ ।

प्रतिकूल वातावरण:

प्रतिकूल वातावरणका कारण धेरै मानिस झ्वाट्ट रिसाउने गर्छन् । सोचेजस्तो नहुनु, नदेखिनु वा नभेटिनुले मानिस अकस्मात् रिसाउँछन् । त्यसको असर स्वयंलाई पुग्छ नै, आसपासमा रहेकालाई पनि असर पुग्छ ।

रिसका असरहरू

रिसको कारणले गर्दा उग्र भएको अवस्थामा हाम्रो निर्णय गर्ने क्षमतमा र विवेकमा क्षति पुग्न सक्छ । यसले गर्दा अव्यावहारिक र तर्कहीन बोली–व्यवहार प्रस्फुटित हुन सक्छ । रिस उठेको अवस्थामा हामीले प्रभावकारी ढंगले आफ्नो विचार ब्यक्त गर्न अथवा सञ्चार गर्न सक्दैनौं, जसले गर्दा पारस्परिक सम्बन्धमा नकारात्मक असर पर्न सक्छ ।प्रायजसो परिस्थितिअनुसार रिस ब्यक्त गर्नु स्वास्थ्यवद्र्धक प्रतिक्रिया नै हुन सक्छ । तर बारम्बार अत्यधिक मात्रामा र धेरै समयसम्म रिस उठ्ने, उग्र हुने, रिसको अभिव्यक्ति नियन्त्रणबाहिर जान थाल्यो भने यसले हाम्रो मानसिकता र शरीरमा प्रतिकूल असर पु¥याउन सक्छ । यसले गम्भीर, विनाशकारी समस्याहरू सिर्जना गर्न सक्छ । काममा, ब्यवहारमा र आपसी सम्बन्धमा प्रतिकूल असर पारी जीवनको स्तरलाई कमजोर पार्न सक्छ ।

रिस नियन्त्रणका विधिहरु

ध्यान:

ध्यानले जीवनमा ठूलो परिवर्तन ल्याउने काम गरेको हुन्छ । तनावमुक्त जीवनका लागि ध्यानले शान्तिपूर्ण वातावरण सिर्जना गर्छ । त्यसैले दिनमा कम्तीमा एकपटक १५ देखि २० मिनेटसम्म भए पनि ध्यान गर्नुपर्छ । मीठो संगीतसँगै शान्त स्थानमा ध्यान गर्नाले मन पनि शान्त हुन्छ । ध्यानले क्षमता अभिवृद्धि, आत्मविश्वास बढाउनुको साथै शरीरलाई स्फूर्ति राख्नको लागि महत्वपूर्ण भूमिका खेल्छ ।
विचार:

कुनै छलफल होस् या साथीभाइसँग कुराकानी गर्दा होस्, बोल्नुपूर्व विचार पु¥याउन सकियो भने त्यहाँ कुनै किसिमको झगडा, कोलाहल हुँदैन र एक–अर्कामा खुलेर विचार आदानप्रदान गर्न सकिन्छ । यसले गर्दा रिस हाबी हुन पाउँदैन ।

विकल्प:

कुनै कुरामा चित्त बुझेको छैन या कुनै कुरामाथि रिस उठेको छ भने समाधानको विकल्प खोज्नुपर्छ । जसले जे गरेको हो त्यही किसिमको जवाफ वा प्रतिक्रिया दिँदा अपेक्षाकृत नतिजा नआउन सक्छ । त्यसैले झगडा हुन लागेका बेला आफूलाई नियन्त्रण गर्नुपर्छ । कसैले कुट्न थाल्यो भने या अपशव्द बोल्न थाल्यो भने आफूले पनि त्यही गर्नुहुँदैन । त्यो बेला त्यस्ता व्यक्तिबाट टाढा रहनुपर्छ ।

तनाव:

रिस उठेको बेलामा रिसलाई दबाउने होइन कि आफूलाई रिसबाट मुक्त गराउने कलाको अभ्यास गर्नुपर्छ । र, आफूलाई तनावमुक्त बनाएर मनलाई हलुका बनाउने प्रयास गर्ने गर्दा पनि रिसबाट तनावमुक्त बन्न सकिन्छ । संगीत सुन्ने, राम्रो–राम्रो पुस्तक अध्ययन गर्ने, नृत्य गर्ने, घुम्ने गर्नुपर्छ । त्यसले मनलाई आनन्द प्रदान गर्छ ।

हिँडडुल:

रिसलाई सामान्य अवस्थामा ल्याउनको लागि तनावमुक्त वातावरणको सिर्जना गर्नुपर्छ । बाहिरी वातावरणमा समायोजन हुन सकियो भने पनि रिसलाई शान्त पार्न सकिन्छ, जसका लागि कोलाहल र अशान्तबाट निस्किएर बाहिरतिर हिँडडुल गर्नु जरुरी देखिन्छ ।
– विकल्प देवकोटा, सर्लाही ।

प्रतिक्रिया दिनुहोस्