इदमा स्वास्थ्य सामग्री


स्याङ्जा, (नेस)

इस्लाम धर्मावलम्वीको पर्व इद उल फित्रको अवसर पारेर मुस्लिम युवाहरुले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । कोरोना संक्रमणका कारण सबैजना मस्जिदमा भेला भएर मनाउने अवस्था नरहेका बेला मुस्लिम युवा क्लबले विभिन्न संघ–संस्थालाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

कारागारमा आश्रित कैदीबन्दी, सुरक्षाकर्मी र लागू पदार्थ तथा एचआईभी एड्स नियन्त्रणका क्षेत्रमा सक्रिय जीवन बाटिकालाई क्लबले १ हजार ६ सय स्थान मास्क, २० वटा फेससिल र १० लिटर सेनिटाइजर वितरण गरेको छ । क्लबले ट्राफिक कार्यालयलाई ५ सय वटा मास्क र १० वटा फेससिल, जिल्ला कारागारमा रहेका सुरक्षाकर्मी र बन्दीका लागि ६ सयवटा मास्क र १० लिटर सेनिटाइजर प्रदान गरेको क्लबका अध्यक्ष सागिर अलीले बताउनुभयो ।

महामारीका रूपमा देखिएको कोरोना स्याङ्जामा पनि तीव्ररूपमा फैलिएको छ । क्लबका अध्यक्ष सागिर अली, सल्लाहकारद्वय मुन्ना शेख र अनुवर अली, संस्थापक सदस्य अहमद अलीले कोरोना नियन्त्रणका लागि अत्यावश्यक मानिएका ती स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।एक साताअघि पनि क्लबले जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, मुक्तिनाथ विकास बैंक र केही मुस्लिम बस्तीमा पुगेर ६ हजार ४ सय स्थान मास्क, ३ सय ३० वटा फेससिल र ८० लिटर सेनिटाइजर वितरण गरेको थियो ।