दोस्रो महामारीमा ग्रामीण भेग असुरक्षित


दिलकुमार लिम्बु, ताप्लेजुङ

ग्रामीण भेगका घरमा कोही छन् भन्ने कुरा बिहान धुरीबाट निस्केको धूवाँले मात्र थाहा पाउन सकिन्छ । गाउँमा सन्नाटा छाएको छ । उराठलाग्दो देखिन्छ । बारीमा मकै हरियो भएर फलेको छ । कान्लाहरुमा घाँसको पालुवा पलाउन थालेको छ । गाउँ सुनसान भएपछि जंगली जनावर पनि घरनजिकै आउन थालेका छन् ।

पहिलो चरणको कोभिड–१९ को संक्रमण फैलिँदा शहरभन्दा गाउँ धेरै सुरक्षित मनिएको थियो । तर, दोस्रो चरणको कोभिड–१९ को लहरमा भने गाउँ पनि असुरक्षित हुँदै आएको मेरिङदेन गाउँपालिका–२ का मेघराज लिम्बुले बताउनुभयो । ‘गाउँमा महामारी फैलियो भने बजारको जस्तो अस्पताल तथा बाटोघाटोको सेवा–सुविधा पनि छैन । त्यसैले समयमै सुरक्षित रहनु नै उत्तम विकल्प हो ।’ –पाथीभराङवर गाउँपालिका–६ की चित्राकुमारी लिम्बु बताउनुहुन्छ ।छिमेकमा जाने–आउने, ओल्लो–पल्लो घर पालोपैंचो गर्ने, घाँसदाउरा, मेलापात गर्दै आएका मेरिङदेन गाउँपालिका–४ का ५४ वर्षका जनार्दन प्रसार्इं अहिले घरबाहिर निस्कन छोड्नुभएको छ ।उहाँमात्र होइन प्रायः ताप्लेजुङेबासी सबै घरभित्रै बस्न थालेको छन् । मेरिङदेन गाउँपालिका–६ की विमना लिम्बु दुई हप्तादेखि छिमेकीको घरमा जानुभएकी छैन । छिमेकीसँग भेटघाट पनि गर्नुभएको छैन् । आफ्नो घर–परिवारका सदस्य पनि घरदेखि बाहिर जान दिनुभएको छैन ।

दुई हप्तादेखि कोठाभित्र बस्दै आएको फुङ्लिङ नगरपालिका–७ बिहीबारे निवासी जितेन चेम्बजोङ बताउनुहुन्छ । ‘टोलबाहिर गएर फेरि फर्केर आउन पाइँदैन । टोलको नियम कडा छ ।’ –उहाँले भन्नुभयो । आफ्नो गाउँमा संक्रमण फैलिन नदिनका लागि कडा नियम बनाएको चेम्जोङले बताउनुभयो । गत हप्ता गाउँमै संक्रमितको निधन भएपछि त्रास बढेको थियो ।प्रत्येक स्थानीय तहले एक गाउँदेखि अर्को गाउँ आउ–जाउ नगर्न सार्वजनिक सूचनाहरु विभिन्न सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण गर्दै आएको छन् ।जिल्ला अस्पताल ताप्लेजुङको तथ्यांकअनुसार जिल्लामा शनिबारसम्म सक्रिया संक्रमित २ सय ७१ जना रहेका छन् । मेरिङदेन गाउँपालिमा १२ जना सक्रिय सक्रमित रहेको जिल्ला कोभिड–१९ जिल्ला फोकल पर्सन तथा जिल्ला जनस्वास्थ अधिकृत प्रतिमा खरेलले बताउनुभयो । त्यस्तै, आठराई त्रिवेणी गाउँपालिकामा ८, सिरिजंघा गाउँपालिकामा ११, पाथीभ¥याङवर गाउँपालिकाममा ४ जना र फुङ्लिङ नगरपालिकामा २ सय ३ जना सक्रिया संक्रमित रहेका छन् ।

जिल्ला अस्पतालको आइसोलेसनमा ६ जना उपचार भइरहेको र जिल्लाबाट बाहिर रिफर गरेर जिल्लाभन्दा बाहिर ५ जना संक्रमित उपचारमा रहेको जनस्वास्थ्य अधिकृत खरेलले बताउनुभयो ।फुङ्लिङ बजारमा ७ जनाको संक्रमणबाट मृत्यु भएको जनस्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । ताप्लेजुङको सदरमुका मात्र नभएर संक्रमणबाट मैवा खोला गाउँपालिका–१ साँघमा २० वर्षीय एक महिलाको पनि ज्यान गइसकेको छ ।