बादललाई मतदान गर्न एमालेको ह्विप


नेपाल समाचारपत्र, काभ्रे

नेकपा एमाले काभ्र्रेले वागमती प्रदेशअन्तर्गत राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा चुनाव चिह्नमा मतदान गर्न ह्विप जारी गरेको छ । अध्यक्ष अशोक ब्याञ्जुले शनिबार एक विज्ञप्ति जारी गरी ह्विप गर्नुभएको हो ।

मतदानमा जानुअघि कोरोना परीक्षण गरिसक्न र निर्वाचनको अघिल्लो दिन ५ गते नै हेटौंडा पुग्नसमेत विज्ञप्तिमा भनिएको छ । निर्वाचन जेठ ६ गते हुँदै छ । कथित प्रचारबाजीको भ्रममा नपरी पार्टीका उम्मेदवार बादललाई सूर्य चिह्नमा मतदान गर्न काभ्रेका सबै प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुलाई एमाले जिल्ला कमिटी अनुरोध गरेको छ ।

काभ्रेमा १३ वटा पालिकाअन्तर्गत ६ वटा नगरपालिकामध्ये ५ वटामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुवैमा विजयी प्राप्त गरेको थिया भने ७ वटा पालिकामध्ये २ वटामा अध्यक्ष–उपाध्यक्ष दुवैमा विजयी भएको थियो । एउटा नगरपालिका र तीनवटा गाउँपालिकामा नेपाली कांग्रेसले विजयी हासिल गरेको थियो । त्यस्तै, नेकपा माओवादी केन्द्रले दुईवटा पालिकामा विजयी हासिल गरेको थियो । पार्टीको विवाद केन्द्रदेखि जिल्ला तहसम्म नमिलेकाले एमालेका दुवै समूह अझै सक्रिय छन् ।