कोरोना कहरमा कलिला युवाको दिनचर्या संक्रमितको उद्धार र शव व्यवस्थापनमै बित्छ दिन


दुर्गाप्रसाद शर्मा, पर्वत

कोभिड–१९ कोरोना संक्रमणको दोस्रो लहरले मुलुक आक्रान्त भएको छ । कपिपय संक्रमितले अस्पतालसम्म पुग्न नपाउँदा घरमै मृत्युसँग संघर्ष गरेर बसिरहेका छन् । कतिपयका घरमा शव छ, तर त्यसलाई व्यवस्थापन गर्न छिमेकी र गाउँलेहरू सकिरहेका छैनन् ।संक्रमणले मानवीयतासमेत हराउँदै गएको बेला एउटा कलिलो युवाको दिनचर्या भने त्यसरी समस्यामा परेको ठाउँमा पुग्ने र सहयोग गर्ने काममा नै बितेको छ ।

पर्वतको जलजला गाउँपालिकाका २१ वर्षे युवा विज्ञानराज शर्मा एक सातादेखि कहिले बिरामीको उद्धार गरेर अस्पताल पु¥याउन दौडेका छन् भने कहिले निधन भएका संक्रमितको दाहसंस्कार गर्ने काममा खट्नुभएको छ । जलजला गाउँपालिकामा संक्रमण समुदायस्तरमा फैलिएपछि वैशाख २१ गतेदेखि जलजला–३ बगरफाँटका २१ वर्षीय शर्माले बिरामीलाई अस्पताल पु-याउने काम थाल्नुभएको हो ।पर्वतको जलजला गाउँपालिकामा टोलबस्तीमा समेत संक्रमित रहेका छन् । उनीहरू अस्पतालसम्म आउन नसक्ने र चेकजाँच गर्न सवारीका साधनसमेत नभएको गुनासो आएपछि संक्रमितलाई अस्पताल पु¥याउने, औषधि घरसम्म लैजाने र मृतकको शव व्यवस्थापनका लागि काम शुरु गरेको शर्माले बताउनुभयो । ‘मैले बिरामी र आफन्तको चित्कार सुनेपछि आफैं सवारीसाधनको व्यवस्थापन गरेर बिरामीलाई अस्पताल र आइसोलेसनमा पु¥याउन थालेको छु’, उहाँले भन्नुभयो– ‘६ दिनको बीचमा १० जनाभन्दा बढी बिरामीलाई अस्पताल पु-याएको छु ।’ शर्माले उद्धार गरेका दुई जना संक्रमितको स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि पोखरा पठाइएको छ भने अन्य बिरामीको म्याग्दी अस्पताल बेनी र जलजला गाउँपालिकाले स्थापना गरेको फर्सेस्थित आइसोलेसनमा राखिएको छ ।

शर्माले संक्रमणको जोखिम भएको बस्तीमा अहिले मास्क वितरण गर्ने र जनचेतना जगाउने काम पनि गर्नुभएको छ । जलजला गाउँपालिकाले शर्मालाई पीपीई सेट, सेनिटाइजर, ग्लोब्सहरू सहयोग गरेको छ । शर्माले उद्धारको अभियान थालेपछि कोभिडबाट निधन भएका स्थानीय शिक्षक धनञ्जय मल्लको शवमा दागबत्तीसमेत दिएर व्यवस्थापन पनि गर्नुभएको छ । गत वर्ष म्याग्दी अस्पतालमा कोभिडका बेला ६ महिनासम्म स्वयम्सेवक भएर काम गर्नुभएका शर्माले बिरामीको उद्धारका क्रममा प्रयोग भएको गाडी सामान्य दुर्घटनामा परेका कारण अहिले मोटरसाइकलमा नै बिरामी ओसार्ने काम गरिरहनुभएको छ । सानैदेखि सामाजिक काम गर्ने स्वभावका शर्मा युवा संघ पर्वतको नेता र भर्खरै जलजला गाउँपालिकाको स्काउटको अध्यक्षसमेत चुनिनुभएको छ । ‘कोभिडको बेला मानिसहरू संक्रमितलाई भेट्न, सहयोग गर्नसमेत अप्ठेरो मानेको देखेपछि मेरो मनले सहयोग गर्नुपर्छ भन्ने ठानेर अघि बढेको हुँ’, शर्माले भन्नुभयो– ‘जसले जे सकिन्छ त्यही सहयोग गरेर यो महामारीसँग जुध्ने हो ।’

शर्माले अहिले संक्रमितलाई जडिबुटीका औषधिसमेत वितरण गरिरहेको जानकारी दिनुभयो । आफू गाउँपालिकाका बासिन्दाको सेवामा सधै सहयोग गर्नका लागि तयार भएर बस्ने प्रतिबद्धता शर्माले जनाउनुभएको छ । शर्माको एकल अभियानपछि गाउँपालिकाले समेत उद्धारमा सक्रियता देखाउन थालेको छ ।यसैबीच जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल र उपाध्यक्ष सीमा गर्बुजा पुनले आफूले प्रयोग गर्दै आएको सवारीसाधन एम्बुलेन्सका रूपमा प्रयोग गर्न दिनुभएको छ ।