निफमा आमा खाण्डो उत्कृष्ट

नवीन र सरितालाई अभिनेता अभिनेत्रीको अवार्ड


विश्वका कथाहरूको उत्सव भन्ने नाराका साथ भर्चुअलरूपमा आयोजित नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करण भर्चुअलरूपमै सम्पन्न भएको छ।

फेस्टिवल सोमबार जुममार्फत समापन गरिएको छ। समापन कार्यक्रममा उत्कृष्ट फिल्मसहित विभिन्न देशका निर्णायकले पुरस्कार राशी घोषणा गरेका छन्। राष्ट्रिय फिचर फिल्मको अवार्ड ढोण्डुप छिरिङको आमा खाण्डोले चुमेको छ। यो फिल्मले पुरस्कारबापत १ लाख रुपियाँ पाएको छ। त्यसैगरी, गौतम बुद्ध अवार्ड १५ सय डलरसहित भारतीय फिल्म डिक्सेनरीले जितेको छ। नेपाली फिचर फिल्मअन्र्तगत अभिनयतर्फ पुरुष र महिला कलाकारको अवार्ड लाटोकोसेरोले जितेको छ। लाटोकोसेरोबाट नवीन शिल्पकारले अभिनेता र सरिता गिरीले अभिनेत्रीको अवार्ड जितेका छन्। सिरिस गुरुङको निर्देशन तथा छायांकनमा बनेको फिल्मले छायांकनतर्फको अवार्डलाई पनि आफ्नो बनाएको छ। उत्कृष्ट पटकथाको अवार्ड सरिता टेल मि हु आई एमले पाएको छ।

फेस्टिवलमा उत्कृष्ट लघु फिल्म अवार्ड राजेशप्रसाद खत्रीको ५ सय डलरसहित स्कारेक्रुले चुमेको छ भने बागमती अवार्डअन्र्तगत उत्कृष्ट अन्तर्राष्ट्रिय लघु फिल्मको अवार्ड ५ सय डलरसहित कोरियाका निर्देशक संगबिन बुनको गड डटर्स डान्सेजले पाएको छ। त्यसैगरी, एनिमेसनतर्फ मञ्जुश्री अवार्ड ७ सय ५० डलरसहित फिनल्यान्डका निर्देशक थोमस कुर्तागोले जितेका छन् भने गणेश पाण्डेको शिभिल सोल्डर्सले ५ सय डलरसहित उत्कृष्ट वृत्तचित्र अवार्ड पाएको छ। माउन्ट एभरेस्ट वृत्तचित्र अवार्ड स्विटजरल्यान्डका निर्देशक एड्रिनो जेकाको रिर्टन टु द लस्ट इडनले पाएको छ। टर्कीका निर्देशक मुरत सेरीको इन माई ड्रिम पनि छनोटमा परेको छ।समापन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाले विषम परिथितिमा पनि निफको कार्यक्रम उत्साहजनक रहेको बताए। नेपाली कथा, र फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्न यसले सहयोग पुग्ने उनले चर्चा गरे। फिल्ममार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने उद्देश्य रहेको निफको समापन सत्रमा फैजिया फतिमाले निफमा स्तरीय कथा आउने गरेको र आफू यसमा महत्वपूर्ण जिम्मेवारीमा रहँदा खुसी लागेको बताइन्।

यसैगरी, पोर्चुगलका फिल्म निर्माता ज्वाओ पाउलो मकेडोले मानवजीवनका यथार्थ कथालाई फिल्ममार्फत उतार्न सफल रहेको बताए। मधुरिमा बारुवाचले प्रेमेन्दर मजुमेण्डरले केही समयअघि नेपालको दोलखा घुम्दा रोचक लागेको र फिल्मका लागि उत्कृष्ट लोकेसन लागेको बताए।कार्यक्रमको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले कार्यक्रम सफल पार्न सहयोग सबैलाई धन्यवाद दिँदै निफका कार्यक्रमलाई थप गतिशील एवं प्रभावकारी बनाउने बताए।फेस्टिवलको समापनअघि फिल्मको आर्थिक एवं गुणात्मक स्तरबारे बहस गरिएको थियो। कार्यक्रममा युग पाठकले फिल्म समाजकोे भाषा र संस्कृति देखाउने ऐेना भएको चर्चा गर्दै पञ्चायती सिनेमाले सोहीअनुसार देखाउने गरेको र ०६२-०६३ का सिनेमाले आन्दोलन रूपान्तरणको ऐना देखाएको दाबी गरे। लेखिका तथा पत्रकार बविता बस्नेतले आमा, सिन्दुर, माइतीघरजस्ता फिल्मको स्मरण गर्दै महिला केन्द्रित सिनेमाको कमी हुन थालेको चर्चा गरिन्। अबको फिल्ममा महिलाको यथार्थता देखाइनुपर्ने तथा रोना धोना, देवी वा बोक्सी मात्र नदेखाई जीवन झल्कने सफलताको कथा समावेश गर्नेपर्नुमा उनको जोड थियो।

लेखक तथा साहित्यकार कृष्ण धराबासीले नेपाली फिल्म मनोरञ्जनमा मात्र सीमित नभई फिल्म लेखकमा कति कल्पना गर्न सक्छन्, कति समाज बुभ्mन सक्छन्, कति जीवनदृष्टि स्पष्ट भएका छन् र त्यो कथालाई निर्देशक र कलाकारले अभिनय कलाले प्रस्तुत गर्ने भन्नेमा ध्यान दिनुपर्ने बताए। महोत्सव पाँच दिनसम्म चलेको थियो।