अस्पतालमा अक्सिजन र बेडको अभाव, मृत्युको मुखमा बिरामी

डाक्टरहरु भन्छन्– बिरामीको मृत्यु हेर्न नसकेरै अर्को अस्पताल खोज्नु भन्न बाध्य हुनुप-योे


भगवती तिमल्सिना, काठमाडौं

नेपालमा कोरोना संक्रमण उच्च गतिमा बढेको छ । सरकारले दोस्रो लहर आउँछ भन्ने विज्ञहरूको भनाइलाई बेवास्ता गरी पूर्वतयारी नगरेकै कारण यति बेला बिरामीहरू अक्सिजन र अस्पतालमा बेड नपाएर धमाधम मृत्युको मुखमा पुग्दै छन् । आम नागरिकले पनि कोरोनाको दोस्रो लहरलाई सामान्य रुघाखोकी हो भन्दै बेवास्ता गर्ने र बिरामी भएको कुरासमेत लुकाउन खोज्दा घरपरिवार नै संक्रमित बन्दै गरेको चिकित्सकहरूको ठम्याइ छ ।

कोरोनाको दोस्रो चरणको यो महामारीमा पहिलाजस्तो एकबाट दुई हुँदै फैलिएको नभई पूरै परिवार नै संक्रमित हुने गरी फैलिएको छ । काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेलका सरुवारोग विशेषज्ञ डा. विराज कर्माचार्यका अनुसार यसपटक संक्रमितलाई लक्षण देखिनुभन्दा पहिला नै अन्यमा सर्ने गरेको छ ।स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएअनुसार बितेको २४ घण्टामा २ सय २५ जनाको मृत्यु भएको छ । संक्रमण दर आकासिँदै जाँदा देशभरका स्वास्थ्य संस्थामा अक्सिजनको माग पनि बढ्दै गएको छ । यसैबीच काठमाडौं मेडिकल कलेज (केएमसी), मेडिसिटी अस्पताल, ग्राण्डी अस्पताललगायतले मंगलबार सूचना नै निकालेर अक्सिजन अभाव भएकाले तत्काल भर्ना भएका बिरामीसमेत अन्यत्र सार्न लगायो । अक्सिजन अभावका कारण अस्पतालहरूले संक्रमित भर्ना नलिने घोषणा गरिसकेका छन् ।
दोस्रो लहरको कोरोनाका बिरामीलाई पहिलाको दाँजोमा तत्काल अक्सिनको उच्च मात्रा दिनुपर्ने हुन्छ । अक्सिजन नपाएर तुरुन्तै ढल्ने, मुच्र्छा पर्ने र मृत्यु हुनेको संख्या बढेको डा. विराज बताउनुहुन्छ । सरकारी अस्पताल टेकु र वीरमा पुगेका थुप्रै बिरामी अस्पताल परिसरमा खाली भुइँ, बेन्च, एउटै बेडमा आलोपालो राखेर उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको अस्पताल प्रशासनले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले एक सय बेडको अस्पताललाई धेरै लामो प्रक्रिया पूरा गरेर जम्मा २४ वटा सिलिन्डर अक्सिजन उपलब्ध गराउने गरेको नोबेल अस्पतालका सीईओ प्रा.डा चन्दा कार्की बताउनुहुन्छ । जबकि चिकित्सकका अनुसार कोभिड भएर आईसीयूमा राखेको एउटै बिरामीलाई २४ घण्टामा ८ देखि १० वटासम्म अक्सिजन सिलिन्डर चाहिने हुन्छ । बिरामीको अवस्थाअनुसार अक्सिजन अत्यन्तै बढी दिनुपर्ने पनि हुन सक्छ । स्वास्थ्य मन्त्रालयले बिरामीको संख्या नभई बिरामीको आवश्यक्ताअनुसार अक्सिजन उपलब्ध गराउनुपर्ने चिकित्सक बताउँछन् ।सरकारले निषेधाज्ञा जारी गरेकै बेला परिवारका परिवार पूरै संक्रमित हुनुको प्रमुख कारण भने समयमा परीक्षण सहज नहुनु नै मान्न सकिन्छ । परिवारको एक सदस्य संक्रमित हुनासाथै परिवारका सबैमा सर्ने हुनाले कसैलाई संक्रमणको लक्षण देखिनासाथै आफू छुट्टै बस्ने, परिवारका सदस्यलाई पनि छुट्टै राख्ने र तत्काल परीक्षण गरी कन्ट्याक्ट ट्रेसिङ बढाउनेतर्फ सरकारको ध्यान पुग्नु जरुरी छ ।

डा. कर्माचार्य नेपालमा कन्ट्याक्ट ट्रेसिङ असफल भएकाले अब आफैं कन्ट्याक्ट ट्रेसिङ गराउने, संक्रमित भएको रिपोर्ट आउनासाथ आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई खबर गर्ने र स्थानीय निकायले तत्काल परीक्षण गरी आइसोलेसनमा राख्ने व्यवस्था गर्नुपर्ने बताउनुहुन्छ । यति मात्रै गर्न सकेमा पनि ८५ प्रतिशत संक्रमण फैलनबाट रोक्न सकिने उहाँको भनाइ छ ।स्थानीय सरकारले कोरोना संक्रमण देखिएका व्यक्तिलाई व्यवस्थित आइसोलेसन सेन्टरमा राख्ने र उनीहरूको अवस्थाका बारेमा चासो दिने हो भने थप नियन्त्रण सहज हुने विज्ञहरू बताउँछन् । अधिकांशको होम आइसोलेसन बस्ने अवस्था छैन नै भन्दा पनि हुन्छ । एउटै घरमा एउटै कोठा, एउटै भान्छामा कसरी सुरक्षित हुन सकिन्छ ? यो विषयमा स्थानीय निकायको ध्यान पुग्नु जरुरी छ । एक वर्ष बाटो, मठ, मन्दिर, भवन, स्कुल नबनेर मान्छे मर्दैन तर एक मिनेट अक्सिजन पाएन र उपचार पाएन भने मान्छेका ज्यान जान्छ । त्यसैले सरकारको ध्यान जीवन बचाउनेतर्फ जानु जरुरी छ ।परिवारमा एक जनालाई पोजेटिभ देखियो भने त्यतिकै तनाव हुन्छ, एम्बुलेन्स, बेड, अस्पताल, औषधि खोज्न सकिँदैन । यस्तो अवस्थामा स्थानीय निकायले लागिपरेर काम गर्नुपर्छ । पहिलो चरणमा बजेट पनि थियो स्कुल, स्कुलमा क्वारेन्टाइन बनाएर परीक्षण गरेर खर्च देखाए, तर अहिले परीक्षण नै छैन ।

स्थानीय तहले टोलटोलमा परीक्षण गराउनुपर्छ । सरकारले होम आइसोलेसनमा बस् भन्नु परिवारलाई सार भन्नु नै हो । यी नै कारणले दोस्रो चरणमा धेरै मानिसको मृत्यु भएको हो । परम्परागत घरमा एट्याज बाथरुम, कोठा सम्भव नहुने भएकाले उनीहरूका लागि १० दिन छुट्टै बस्ने व्यवस्था गर्ने दायित्व सरकारको हो ।कोरोना संक्रमण भएका व्यक्तिले ९ दिनपछि अर्को व्यक्तिलाई रोग सार्दैन र साधारण अवस्थामा छ भने ९ दिनपछि अस्पताल बस्नुपर्दैन । आम नेपालीले यी विषयमा बुझ्नु जरुरी छ । नेपालमा अक्सिजन, आईसीयू, रेमडेसिभिरको अभाव बढ्दो छ । अहिले भर्ना भएका सबै बिरामी अक्सिजन नभई नहुने अवस्थाका छन् । परीक्षण नगरेका कारण संक्रमितले घरपरिवारका सबै सदस्यलाई संक्रमण सार्दै छन् । अहिले केवल विदेश जाने, नयाँ जागिर खाने, शल्यक्रिया गर्नैपर्ने र गम्भीर बिरामी परेकाले मात्र परीक्षण गराएका छन् ।प्रा.डा. चन्दा कार्की, नोबेल अस्पताल सिनामंगलका सीईओका अनुसार दोस्रो चरणमा मान्छे हिँड्दा हिँड्दै ढल्ने र मृत्यु नै हुने अवस्थामा पुगेका छन् । अहिले बढी चाहिने बेड र अक्सिजन हो । सरकारले मंगलबार अक्सिजनको सीमा तोकेको छ । तर अहिलेको यस्तो गम्भीर अवस्थामा सरकारले तोकेको सीमाले पुग्दैन । प्रा.डा. कार्की भन्नुहुन्छ– ‘सरकारले जम्मा २४ वटा सिलिन्डर तोकेको छ, दिनमा ५५ देखि ६० वटा सिलिन्डर खपत भइरहेको छ ।

सरकारले तोकेको सिलिन्डर अस्पताल पु-याउने झन्झटिलो प्रक्रिया अर्को समस्याको विषय हो । यस्तो अवस्थामा सरकारले अक्सिजन उपलब्ध गराउँदा बिरामी नै सिद्धिसकेको हुन्छ ।’ उहाँ भन्नुहुन्छ– ‘सरकारले सबै कोभिड बिरामीलाई सरकारी अस्पतालमा मात्र सहज उपचार गराउन पनि सकेको छैन र उपचार गराइरहेकालाई आवश्यक अक्सिजन पनि दिन सकेको छैन । आज पत्र आयो अक्सिजन कहिले आउँछ थाहा छैन, बिरामी बेडमा अक्सिजन नपुगेर छटपटाइरहेको छ । यो अवस्थामा मैले बिरामीको मृत्यु हेर्न नसकेरै अर्को अस्पताल खोज भन्न बाध्य हुनुपरेको छ ।’नेपाल मेडिकल कलेज, ग्राण्डी, नेपाल मेडिसिटीलगायतका धेरै अस्पतालले सरकारको असहयोगकै कारण सूचना निकालेर बिरामीलाई अन्त सर्न भनिसकेका छन् । नर्भिक, स्टार, ह्याम्स अस्पतालले नयाँ बिरामी लिन सकिँदैन भनिसकेको छ । पुरानोलाई पनि अक्सिजन भएसम्म मात्र सेवा दिन सकिन्छ भन्दै छन् । अक्सिनबिना बिरामीलाई अस्पतालको बेडमा राखेर मात्र उपचार हुँदैन । यति बेला सबैले मिलेर काम गर्नुपर्ने बेला हो । आफूलाई नभएसम्म केही हुन्न भन्दै नेताहरूले ठूलो शक्ति प्रदर्शन गर्ने, भोजभतेर गर्ने, रमाउने गरे ।

पहिलो लहर आएसँगै दोस्रो लहर आउने कुरा निश्चित थियो । तर सरकारले के तयारी ग-यो ?सरकारले अस्पतालको क्षमताअनुसारको अक्सिजन उपलब्ध गराउन विदेशी निकायसँग बेलैमा सहयोग माग्नुप-यो । अहिलेको अवस्था देख्दा बिरामी भटाभट मरेको देख्दा चिकित्सकहरू आफैं नै ढलौला जस्तो हुन्छ भन्छन् । उनीहरू भन्छन्– ‘रातभरि फोन आउँछ, बिरामीलाई सेवा दिन नपाउँदा निकै पीडा हुन्छ । तत्कालको अवस्थामा विज्ञहरुको समूह बनाएर रातदिन युद्धस्तरमा काम गर्नुपर्छ ।’ नेताहको पद जोगाउन युद्धस्तरमा लागे आम नागरिकको सहयोग लिएर कोरोना नियन्त्रण गर्नेतर्फ ध्यान नै दिएनन् । सबैको ज्ञान, सीप, क्षमताको प्रयोग गरेर संकटमा एक भएर अघि बढ्नकै लागि नेता र सरकारको आवश्यकता पर्ने हो । सरकारकै ध्यान नपुगेपछि यस्तो भएको हो ।डा.सानु श्रेष्ठ, धुलिखेल अस्पताल, आकस्मिक कोभिड विभाग इन्चार्ज भन्नुहुन्छ– ‘अस्पताल स्वयम्ले व्यवस्था गर्न सके ग-यो नत्र कुनै उपाय छैन । हाम्रो अस्पतालमा पनि अक्सिजनको कमी छ । अक्सिजन कम्पनीमा लाइन बसेर अक्सिजन दिन सकिने अवस्था छैन । यो अवस्था अझै बढेर भयावह अवस्थामा पुग्ने देखिन्छ । धुलिखेल अस्पतालमा दुईवटा अक्सिजन उत्पादन गर्ने मेसिन छ तर ठूलो मेसिनबाट सिलिन्डरमा अक्सिजन भर्न मिल्दैन वार्डमा डाइरेक्ट सप्लाइ गर्ने हो । सानो मेसिनले सानो सिलिन्डरमा भर्ने हो, त्यो थोरै बिरामीका लागि मात्र हो र अहिले चालू अवस्थामा छैन ।’

नवज्योति ग्यास उद्योग पनौतीको उत्पादनले काभ्रे जिल्लालाई धान्न सकेको छैन । यो चरण अझै २ हप्ता बढ्ने सम्भावना छ । अहिलेको लक्षण हेर्दा भारतको दिल्लीको अवस्था नहोला भन्न सकिन्न । अहिले मानिसले घरमा अक्सिजन जगेडा राख्नु बेकार हो । एउटा सिलिन्डरले २–४ घण्टा मात्र धान्छ । यो पर्याप्त हुँदैन । अक्सिजन घरमै राख्ने कार्यले केही गल्तीहरू पनि हुन थालेको छ । अक्सिजन लेभल ठीक छ भनेर अस्पताल नै नगई बसिरहेको अवस्था पनि छ । अहिले देखिएको भेरियन्टले निमोनिया तुरुन्तै देखिने भएकाले छातीको एक्सरे र आवश्यक परे सीटी स्क्यान गर्नु अनिवार्य छ । अक्सिजन सिलिन्डरले स्याचुरेसन मेन्टेन गर्छ तर निमोनिया भयो भने तुरुन्तै एन्टिबायोटिक्स, स्टेरोइड र रेमडेसिभिरजस्ता औषधी दिनुपर्छ । घरघरमा अक्सिजन जगेडा राखेकाले पनि आवश्यक पर्ने बिरामीलाई समयमै अक्सिजन उपलब्ध गराउन नसक्ने अवस्था सिर्जना भएको छ ।