संवेदनहीनताको पराकाष्ठा !



बद्री तिवारी

कोरोना महामारी (कोभिड–१९) को चपेटामा परेर एकातर्फ अकालमै जीवन गुमाउन बाध्य हुनेहरुको संख्या बढ्दैछभने अर्कोतर्फ बिरामीहरुले समेत उपचार नपाउने अवस्था सिर्जना भएको छ । पछिल्ला समाचारअनुसार अब काठमाडौं उपत्यकाका अस्पतालहरुमा साधारण वार्ड, आई.सी.यु., सी.सी.यु.लगायत सघन तथा विशेष उपचार कक्षहरु खालि नभेटिएपछि बिरामीहरुलाई उपचारका लागि झापा, पोखरा, भैरहवा तथा देशका अन्य शहरस्थित अस्पतालहरुमा लग्ने क्रम शुरु भएको छ, तर त्यहाँका अस्पतालहरुमा पनि उपचार कक्ष, साधन र स्रोतको अभाव छ ।

कोही कसैले पहुँचका आधारमा उपचार भेटे मात्र हो अन्यथा वर्तमान स्थिति यति भयावह बन्दै गएको छ कि शब्दमा वर्णन गरेर सकिँदैन । अस्पताल पु-याइएका बिरामीलाई उपचार गर्नको लागि न त ठाउँ छ, न अक्सिजन सिलिन्डर नै । चिकित्सकहरुका अनुसार कोरोना लागेका बिरामीकोशरीरमा प्राणवायु (अक्सिजन) को मात्रा क्रमशः घट्दै जान्छ । त्यस्ता बिरामीलाईसमयमै अक्सिजन दिन सकिएन भने बचाउन मुस्किल पर्दछ । प्रायः हाम्रा सबै प्रदेशहरुबाट त्यस्तै घटनाका समाचार आउने क्रम बढ्दो छ । गत शुक्रबार भक्तपुरको कौशलटारस्थित भक्तपुर इन्टरनेसनल हस्पिटलमादुईजना बिरामीले अक्सिजनकै अभावमा मृत्युवरण गरे । यो त एउटा प्रतिनिधिमूलक घटना मात्र हो, काठमाडौं उपत्यका तथा देशका अधिकांश अस्पतालहरुको अवस्था पनि त्योभन्दा भिन्न छैन ।बिरामीहरुको स्वास्थ्य स्थिति यसरी दिनदिनै नाजुक बनिरहेको छ भने शारीरिक रुपमा सकुशल मानिसहरु पनि मनोवैज्ञानिकरुपमा चिन्तित-विचलित बन्दै जाने क्रम बढेको छ । गतवर्षको भन्दा यस वर्षको भाइरस– भारतीय भेरिएन्ट र यु के भेरिएन्टजस्ता (डबल म्युटेन्ट) कडा अर्थात् द्रुतत्तर हिसाबमा फैलने खालको रहेको छ । यो भाइरस अहिले समुदाय स्तरमा प्रवेश गरिसकेकोले नियन्त्रणमा ल्याउन कठिन हुने जानकारीका साथ सावधानी अपनाउनजनस्वास्थ्यविद्हरुले सल्लाह दिँदैआएका छन् ।

राजधानीका अस्पतालहरुले अब बिरामीको चाप बढ्दै गएको तथा साधन र स्रोतको कमीले गर्दा धान्न नसकिने भन्दै आएकाले थप बिरामीहरुलाई उपचार गर्न समस्या परेको छ । उपत्यकाबाहिर तथा अन्य प्रदेशहरुमा जनशक्तिको अभाव रहेको छ भने नयाँ जनशक्तिका लागि विज्ञापन गर्दा पनि आवश्यकताअनुसार निवेदन नपरेको जानकारी सम्बद्ध स्वास्थ्य प्रतिष्ठानका पदाधिकारीहरुले दिँदै आएका छन् । उल्लिखित विवरणहरुलाई हेर्दा बिरामीको उपचारको लागि स्रोत, साधन र जनशक्ति सबै अभाव रहेको स्पष्ट छ । त्यसैले सरकारले कोरोना भएर उपचार गराइरहेका चिकित्सक, बिदामा बसेका तथा अवकाशप्राप्त स्वास्थ्य जनशक्तिलाई पनि उपयोग गर्न मातहतका निकायहरुलाई निर्देशन दिएको बताइएको छ । हुन पनि यतिखेर जसरी भए पनि मानिसको जीवन रक्षा गर्नु सबैभन्दा ठूलो दायित्व भएकोले हरउपाय अपनाउनुपर्ने आवश्यकता छ ।मृतकहरुको शव व्यवस्थापन गर्न नसकेका कारण दिनदिनै हृदयविदारक दृश्यहरु देख्नुपरिरहेको अवस्था छ । गतवर्ष युरोप, अमेरिका र यसवर्ष छिमेकी मुलुक भारतमा कोभिड–१९ को शिकार बनेकाहरुको हालत देखेर तर्सिने हामी नेपालीहरुले यतिखेर आफ्नै देशमा त्यो प्रकोपबाट अत्यन्त पीडित बन्नुपरेको छ । कोरोनाको उपचार गर्दागर्दै मृत्यु भएका, उपचार नै नपाएर मृत्यु भएका तथा अन्य रोग लागेका तथा कालगतिले मृत्यु भएकाहरुको अन्तिम संस्कारका लागि पशुपति आर्यघाट-विद्युतीय शवदाह गृह पु-याइएका शवहरु पालो कुरेर बस्नुपरेको, पर्याप्त ठाउँ नहुँदा बागमती नदी किनारमा शव जलाउनुपरेको तथा आफन्तहरुले अन्तिम बिदाइ तथाश्रद्धाञ्जलिसमेत दिन नपाउने नियति कतिसम्म कारुणिक होला ! सम्बन्धित आफन्तजनहरुको पीडा सहजै अनुमान लगाउन सकिन्छ ।

यस्तो अवस्था निम्तिएपछि अहिले एकले अर्कामाथि दोष थोपर्ने काम भइरहेको छ तर यस प्रवृत्तिलाई सही मान्न सकिँदैन । किनकि नागरिक, समाज र सरकार तथा सम्बद्ध सार्वजनिक प्रतिष्ठानहरु कोही पनि प्रत्यक्ष दोषी नहुन सक्छन् र समग्रमा असावधानीवश वृद्धि भएको यस प्रकोपको दोषबाट कोही उम्कन पनि सक्दैन । सबै पक्ष र तहले आ–आफ्ना भूमिका एवम्कमजोरीलाई महसुस गर्न सकेमा भविष्यमा आइपर्ने कठिनाइ र प्रकोपबाट आफू बाँच्न अनि अरुलाई बचाउन सकिन्छ भन्ने पाठ सिक्नुपर्दछ । अहिलेको प्रसंग उल्लेख गर्नैपर्दा सरकारले आफ्नो ठाउँबाट पर्याप्त तयारी तथा गृहकार्य गर्न नसकेको हुनसक्छ, तर त्योभन्दा बढी मानिसहरु आफैंले सचेतना नअपनाउँदा समुदायस्तरमा रोग फैलिएको छ । विवाह, व्रतबन्ध, पूजा, भोजभतेरजस्ता गतिविधिहरुमा सरकारले जारी गरेका सूचनाहरुलाई बारम्बार उल्लंघन गरेर भाग लिने क्रम नरोकिएकैले वर्तमान स्थिति उत्पन्न हुन पुगेको सबैका सामु छर्लङ्ग नै छ । विश्व स्वास्थ्य संगठनले पटक–पटक जारी गर्दै आएको विज्ञप्तिमा भनिएअनुसार अनावश्यक भीडभाडबाट जोगिनुपर्ने, मास्क र स्यानिटाइजरजस्तासावधानीका लागि अपनाउनुपर्ने उपायहरुको अवलम्बन गर्नुपर्ने देखिन्छ । तर पूर्णरुपमा त्यसको पालना भएको पाइँदैन ।

मानिसहरुले यति छिट्टै फैलिने रोगलाई खासै वास्ता नगर्ने, प्रहरी प्रशासनको आँखा छलेर जथाभावी हिँड्न पायो भने बहादुरी सम्झने, आफू सुरक्षित रहन न्यूनतम सावधानी अपनाउन पनि हिच्किचाउने तथा आधारभूत स्वास्थ्य बानीको पालना नगर्नेलगायतका विकृति नै प्रमुख समस्याका रुपमा देखिएका छन् ।पछिल्ला दिनहरुमा केटाकेटी तथा वृद्धवृद्धाभन्दा बढी युवाहरु कोरोनाबाट पीडित भएका छन् । मृतकहरुमा पनि ३० देखि ५० वर्षबीचका अर्थात् सक्रिय उमेर समूहका व्यक्तिहरु बढी हुनुले समाजलाई चिन्तित तुल्याएको छ ।हिजोआज दैनिक आठ÷नौ हजारको संख्यामा मानिसहरु बिरामी परिरहेका तथा पचासभन्दाबढी व्यक्तिहरुले जीवन गुमाइरहेका छन् । छिमेकी मुलुक भारतको कुरा गर्दा त्यहाँ दैनिक चार लाखभन्दा बढी व्यक्ति कोरोनाको बिरामी पर्दै आएका छन् भने चारहजारभन्दा बढीको ज्यान गइरहेको छ । अत्यधिक जनसंख्या भएको छिमेकी भारतको बढी प्रभावित राज्य विहार र उत्तर प्रदेशसँग सीमा जोडिएको हिसाबले पनि नेपालमा बढी संक्रमणका घटना भइरहेका छन् । आधिकारिक तथ्यांक सार्वजनिक हुन बाँकी रहे पनि दैनिक रुपमा नेपालका विभिन्न दक्षिणी नाकाहरुबाट आवतजावत छुट दिँदा रोग भित्रिएको सीमावर्ती जिल्लाका सरकारी अधिकारीहरुले स्वीकार्दै आएका छन् । तर हाल पीसीआर परीक्षणपछि परिणाम नेगेटिभ आए मात्र सीमाबाट प्रवेश दिने कार्य भइरहेको समाचारले आगन्तुकबाट हुने संक्रमण दर नियन्त्रित हुनसक्ने अनुमान लगाउनसकिन्छ। बेलैमा यसरी नियन्त्रण गर्न सकेको भए वर्तमान दुरावस्था निम्तिनपाउँदैनथ्यो भन्ने कुरा सम्बद्ध अधिकारीहरुले बुभ्mनुपर्दछ ।

यसरी जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने मात्रै होइन धमाधम जीवन गुमाइरहेका तथा जीवन र मरणको दोसाँधमा बाँच्नका लागि संघर्ष गरिरहेका नागरिकहरुप्रति थप अन्याय हुन नदिनका लागि राज्य पक्ष सशक्त अभिभावक बन्नुपर्ने बेलामा कोरोनाविरुद्धको खोप आयात गर्ने नाममा व्यापार गरिरहेका बिचौलियालाई नै साथ दिन्छ भने त्योभन्दा विडम्बना के होला ! कोरोनाको खोपमा कमिसननपाएर आयात रोकिएको तथा निजी क्षेत्रलाई खोप आयात एवम् बिक्री वितरणको अनुमति दिने प्रसंग एकछिन् यहीँ छोडौं । यस संवेदनशील घडीमा ‘जसरी हुन्छ सम्पत्ति कमाऊ’ को अभियानमा लागेका नाफाखोरहरुबाट संवेदनहीनतासँग जोडिएका घटनाहरु हुन पुग्छन् भने मानिसहरुले त्यसलाई कसरी लिने? के मानवता र सेवाको भावना मरेकै हो? जस्ता प्रश्नहरु उब्जिएका छन् ।विराटनगरमानक्कली रेम्डिसिभिरऔषधि बिक्री गर्दागर्दै दुईजनापक्राउ, अक्सिजनका सिलिन्डरहरु लुकाइए, अस्पतालद्वारा बिरामीको उपचार गर्न इन्कार, उपत्यकाभरिका अस्पताल तथा नर्सिङ होमहरुमा स्थान नपाएर गाडी-एम्बुलेन्समा कुदाउँदा कुदाउँदै बिरामीको मृत्यु, अप्ठेरोमा परेकालाई ओसार्न हेलिकोप्टरले दोब्बर भाडा असुलेकोजस्ता समाचारले हाम्रो समाजमा संवेदनहीनताको पराकाष्ठा नै नाघेको देखा पर्दछ, यो अवस्था आउनु भनेको कुनै पनि किसिमले सहज र सामान्य मान्न सकिँदैन ।

नागरिकको उपचारका लागि सरकारले भारतको सेरम इन्स्टिच्युट अफ इन्डिया प्रा.लि.द्वारा उत्पादित कोरोनाविरुद्धको खोप कोभिसिल्ड खरिद गर्न सम्झौता गरी रकम भुक्तानी गरिसकेको अवस्थामा बिचौलियाको कमिसनका कारण हालसम्म पनि नेपाल ल्याउन नसक्नुलाई सरकारको नालायकीपन त देखिन्छ नै, जनताको स्वास्थ्यमाथि खेलबाड गरिरहेको भनी उसमाथि लागिरहेका आरोपलाई अस्वाभाविक भन्न मिल्दैन । मन्त्रिपरिषद्को निर्णयअनुसार खरिद गर्न लागिएको सो खोप नेपालको हुकम डिस्ट्रिब्युसन्स एन्ड लजिस्टिक्स प्रालिका सञ्चालक विजय दुगड र रितुसिंह वैद्य (नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यकी श्रीमती) बाट कमिसनका लागि भएको चलखेलका कारण रोकिएको समाचारले जनस्वास्थ्यमाथिको खेलबाड एवम् मानवताविरुद्धको अपराध कतिसम्म हुँदोरहेछ भन्ने स्पष्ट पार्दछ । सरकारको निर्णयलाई लल्कार्दै कमिसनखोरहरुले सीधै भारतीय कम्पनीलाई पत्र लेखेर आफ्नो १० प्रतिशतले ३२ करोड रुपियाँभन्दा बढी कमिसन नछुट्याई खोप नपठाउन पत्राचारसमेत गरेको समाचारले ‘जी टु जी’ नेपाल सरकार र भारतीय सरकारबीचको सम्झौताको हैसियतलाई पनि सीधै चुनौती दिएको देखिन्छ ।

जनस्वास्थ्यसँग जोडिएको औषधि तथा खोपमा पनि अन्य सामग्री जसरी व्यापार, कमिसन, नाफाखोरीजस्ता गतिविधि हुन दिनुलाई सरकारको कमजोरीसिबाय केही देखिँदैन । कोभिडबाट बच्न तथा रोग–प्रतिरोधात्मक शक्ति बढाउनका लागि नभईनहुने खोपको खरिदमा यस किसिमको अवरोध र घोटालाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बेलामा सरकारले पुनः त्यही कम्पनीलाई खोपको आयात तथा बिक्रीवितरण गर्ने थप अनुमति दिएको समाचार पनि सार्वजनिक भइसकेकोले त्यसको खारेजीका लागि जनस्तरबाटै विरोध नगरेसम्म यस्ता बिचौलियाबाट देश मुक्त हुनसक्ने देखिँदैन ।सरकारले पनि तत्काल कारबाही प्रक्रिया अघि बढाएर रोकिएको खोप तत्काल आयात गर्न पहल गर्नुपर्दछ ।

भारतीय र यु.के. भेरिएन्टको प्रकोप

नेपालमा अहिले भारतीय र यु.के. भेरिएन्ट नामका भाइरसको प्रकोप बढेकोले समुदायहरुमा ठूलो संख्यामा मानिसहरु बिरामी पर्दै आएका छन् । केही हप्ताअघि भारतका १८ राज्यमा संकलित १० हजार ७ सय ८७ नमुनाबाट ७ सय ७१ मा त्यस खालका भाइरस फेला परेको बीबीसीले प्रकाशमा ल्याएको थियो । त्यसमध्ये ७ सय ३६ यु.के. भेरिएन्ट, ३४ दक्षिण अफ्रिकी भेरिएन्ट र एक ब्राजिली भेरिएन्ट फेला परेको थियो । भारतबाट ती भाइरस अन्य मुलुकमा सर्ने क्रम बढेपछि त्यसलाई भारतीय भेरिएन्ट र कतै–कतै यु.के. भेरिएन्ट मात्रै पनि भन्न थालियो । संक्रामक रोग विशेषज्ञ डा. सिन्डी ड्युकका अनुसार यस खालको भाइरस एकदम छिटो सर्दछ र मानिसलाई बिरामी पार्दछ । गत शनिबार एएफपीले विश्व स्वास्थ्य संगठनका प्रमुख सौम्या स्वामिनाथनलाई उद्धृत गर्दै प्रकाशमा ल्याएको समाचारअनुसार भारतमा अहिले एकदम द्रुतत्तर गतिमा कोरोना फैलाउने काम कोभिड–१९ को बी.१.६१७ भेरिएन्टले गरेको छ, जसलाई दोहोरो उत्परिवर्तन (डबल म्युटेन्ट) पनि भन्न थालियो ।

प्रतिक्रिया दिनुहोस्