जावलाखेल डिस्टिलरीको नाफा ६७ करोड नाघ्यो


काठमाडौ (नेस) ।

जावलाखेल गु्रप अफ इन्डस्ट्रिजले अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी व्यापार गर्न सफल भएको छ । विभिन्न किसिमका मदिरा उत्पादन गर्दै आएको सो कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३ अर्व ८९ करोडको मदिरा बिक्री गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्म सो कम्पनीले ३ अर्ब ५७ करोडको मदिराको कारोबार गरेको थियो ।

कम्पनीको गत वर्षको भन्दा ९ प्रतिशतले बिक्री रकम बढ्न गएको छ । यसैगरी, गत वर्षको यसै अवधिको खुद मुनाफा रकम ४३ करोड ७१ लाख भएकोमा यस वर्षको सोही अवधिमा ६७ करोड २७ लाख पुगेको छ ।खुद मुनाफालाई तुलना गर्दा गत वर्षभन्दा ५३ दशमलव ८९ प्रतिशत बढी आर्जन गर्न कम्पनी सफल भएको छ । त्यसैगरी, गत आर्थिक वर्षसम्मको मुनाफाबाट ५० प्रतिशत बोनस शेयर वितरण गरी पूँजी वृद्धि गरिए पनि गत वर्षको यसै अवधिको वित्तीय अनुपातसँग तुलना गर्दा यस वर्ष प्रतिशेयर आम्दानी १ सय दशमलव ७६ बाट १ सय ३ दशमलव ३८, तरलता अनुपात १ दशमलव ९६ बाट २ दशमलव ७४ मा पुगेको छ ।

गत वर्ष प्राप्त कारोबारभन्दा यस वर्षको चैत मसान्तसम्मको कारोबार वृद्धिको मुख्य आधार भनेको नै कम्पनीका उत्पादनको गुणस्तर, उत्पादकत्व वृद्धि, थप बजारीकरण, उत्पादित व्रान्डको प्रतिष्ठाप्रति उपभोक्ताको पूर्ण विश्वास र व्यवस्थापन खर्चको उचित परिचालन र व्यवस्थापनको उच्च लगनशिलता भएको कम्पनीले जनाएको छ ।