प्रसूति सेवा नपाउँदा महिलाको गयो ज्यान

0
Shares

नेपाल समाचारपत्र, डडेल्धुरा ।

अमरगढी नगरपालिका–४ खलंगा निवासी ३४ वर्षीया रेखा ओडको प्रसूति सेवा नपाउँदा मृत्यु भएको छ । आइतबार राति डडेल्धुरा अस्पतालमा प्रसूतिका लागि गएकी उनलाई अस्पतालले प्रसूतिको समय नभएको जानकारी गराएपछि उनी आफ्नो कोठामा फर्किएकी थिइन् ।

परिवारिक स्रोतकाअनुसार अस्पतालबाट उपचार नपाएर फर्किएकी उनले राति करिव २ बजे घरमै बच्चा जन्मिएकी थिइन् । बच्चा जन्मिएपछि निरन्तर रक्तश्रावका कारण उनको मृत्यु भएको स्थानीय अधिकारकर्मी किशोरी धामीले बताउनुभयो । मृतक ओडका दुई छोरा दूई छोरी छन् ।

आमाको निधनपश्चात् पनि नवजात शिशुको अवस्था सामान्य रहेको र हाल नवजात शिशुलाई डडेल्धुरा अस्पतालको नवजात शिशु सघन उपचार कक्षमा उपचारपछि घर पठाइएको डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा बताउनुहुन्छ । ‘अस्पतालमा कोरोनाका बिरामीको चाप बढ्दै गएकाले समान्य अवस्थामा सुत्केरी हुन सक्ने देखिएकाले घर पठाइएको हो ।’ –उहाँले भन्नुभयो ।

डडेल्धुरा अस्पतालले मध्यरातमा मृतक महिला अस्पतालमा आएको र नजिकै घर भएकाले स्वास्थ्य अवस्थामा समस्या भएमा तुरुन्तै अस्पताल आउन सकिने भन्दै घर फर्काएको जनाएको छ । सीमित स्वास्थ्यकर्मीहरु भएकाले कोरोना महामारीका बेला स्वास्थ्यकर्मीहरुको व्यस्तताका कारण उपचार सेवा प्रभावित भइरहेको अस्पताल प्रशासनको भनाइ छ ।

यस सम्बन्धमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशानालय दिपायलका निर्देशक डा. गुणराज अवस्थीले अस्पतालमा उपचार नपाएर सुत्केरीको अकाल मत्यु भएका बारेमा कुनै जानकारी नभएको बताउनुभयो ।