नयाँदिल्ली, (एजेन्सी)
कोभिड–१९ को कारण थुप्रै मानिसहरूको ज्यान गइरहेको परिस्थितिका बाबजुद आयोजित भारतको एक महत्वपूर्ण राज्यको राज्यसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) ले पराजय व्यहोर्नुपरेको छ ।
चुनाव प्रचार अभियानमा पश्चिम बंगालमा चुनाव जित्न भाजपाले ठूलै कसरत गरेको थियो । तर, मोदीका कट्टर विरोधी ममता बेनर्जीको सामु भाजपाको केही सीप चलेन । यसै चुनावलाई लिएर मोदीलाई सम्पूर्ण भारतीय जनताले भोगिरहेको कोरोना भाइरसको डरलाग्दो महामारीमा भन्दा चुनावमा धेरै ध्यान केन्द्रित गरेको व्यापक आरोप लागेको छ । आसाम, तमिलनाडु र केरला राज्यलगायत पुदुछेर्री भूभागमा पनि चुनाव सम्पन्न भएको हो । भाजपाको उक्त पूर्वी राज्य आसाममा राम्रो पकड थियो । तर, पार्टीले कतै पनि उल्लेखनीय उपलब्धि हासिल गर्न सकेको छैन । लगातार विगत १० दिनदेखि भारतमा प्रत्येक दिन नयाँ संक्रमितको संख्या ३ लाख नाघ्ने गरेको पाइएको छ ।
यसैगरी, सोमबार ३ लाख ६० हजार नयाँ संक्रमित थपिएका छन् भने थप ३ हजार ४ सय १७ जनाको मृत्यु भएको छ । आइबबार भने अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ३ हजार ६ सय ८९ जनाको ज्यान गएको थियो । अस्पतालहरूमा अक्सिजन सिलिन्डर र शै्ययाको निकै अभाव भइरहेको छ । मोदी र गृहमन्त्रीले पश्चिम बंगालमा दर्जनौंपटक विशाल आमसभालाई सम्बोधन गरेकाले पनि कोरोना भाइरस तीव्र गतिमा फैलिएको आरोप लागेको छ ।
करिब सम्पूर्ण चुनावी नतिजा बाहिरिएको हालको अवस्थामा पश्चिम बंगालमा २ सय ९४ वटा सिट भएको राज्य सभामा मुख्यमन्त्री ममता बेनर्जीको नेतृत्वमा रहेको ट्रिनामूल कंग्रेस पार्टी (टीएमसी) ले २ सय सिट जित्न सफल भएको छ । प्रमुख कोलकाता शहर तथा ९ करोड जनसंख्या रहेको पश्चिम बंगालमा भाजपाले करिब ८० सिट जितेर प्रमुख विपक्षी पार्टीको स्थान भने सुरक्षित पार्न सफल भएको छ ।
प्रतिक्रिया