परिश्रमी गोर्खालीको प्रेरणादायी जीवन गाथा



रोहिणी घिमिरे

गोरखाका बद्रीबहादुर मास्के, सबैका दाइ । आफूभन्दा जेठा हुन् वा कान्छा, सबैले बद्री दाइ भनेर सम्बोधन गर्ने रहेछन् । उनीसँग मेरो प्रत्यक्ष देखभेट नभए पनि उनको प्रतिविम्बरुपी ‘बद्री दाइ’ नामको पुस्तक मेरो हातमा परेको छ । हालै प्रकाशित यस पुस्तकले उनको समग्र जीवनलाई प्रतिविम्बित गरेको रहेछ ।उनको जीवन कहानी र उनले समाजमा पस्केका कुराहरु बग्रेल्ती रहेछन् । ती सबै कुरालाई समेटेर घोस्ट राइटिङद्वारा लिखित एवं कुलानन्द मास्के प्रतिष्ठानद्वारा प्रकाशित ४५२ पृष्ठको पुस्तकले नै उनी सबैका दाइ हुन योग्य रहेछन् भन्ने प्रमाणित गरेको छ । पुस्तकको नाम पनि बद्री दाइ नै, कति मिलेको । पुस्तकको नाम जुराइदिने ‘ज्योतिषी’को क्षमतालाई पनि कम आँक्न सकिँदैन ।

आफ्नो जीवनका हरेक पाटाहरुलाई छाँटकाँट नगरी जस्ताको त्यस्तै प्रस्तुत होस् भन्ने बद्री दाइको चाहना रहेछ । सोही अनुरुप देश–विदेशमा रहने उनका समकालीन व्यक्तित्वहरुसँग समेत सोधखोज गरी यथेष्ट सामग्री पुस्तकमा समावेश गरिएको देखिन्छ ।अचम्मको कुरा त उनी राजनीतिमा प्रत्यक्षरुपमा कहिल्यै लागेनन् । तर पनि यति धेरै सामाजिक कार्यमा सक्रिय भई योगदान गरेका रहेछन् कि त्यसले नै उनलाई समाजमा चिनाएको रहेछ । राजनीतिमा नलागेरै पनि समाज सेवा गरी आफूलाई चिनाउन सकिने रहेछ भन्ने उदाहरण बनेका रहेछन् बद्री दाइ ।उनको लोकप्रियता, व्यक्तित्व, परिश्रमी जीवनशैली र स्वच्छ छविसँग लोभिएर राजेन्द्रप्रसाद अर्यालसहित केही व्यक्तिले उनलाई एकपटक मेयरमा उठ्न प्रस्ताव गरेछन् । आफूलाई पत्याएकोमा अनुगृहीत भई धन्यवाद दिँदै बद्री दाइले कुनै पनि झन्डाको छहारीमा नबसी स्वतन्त्र रहने चाहना व्यक्त गरेको हाल अमेरिका निवासी उनै राजेन्द्रप्रसाद अर्यालले पुस्तकमा उल्लेख गरेका छन् ।२०१७ देखि २०४७ हुँदै २०६३ सालका राजनीतिक परिवर्तनहरुलाई राम्रैसँग नियाले पनि प्रत्यक्षरुपमा राजनीतिमा उनी संलग्न नभई समाजका लागि प्रगतिपथमा लम्किरहे । त्यसैले उनी गोरखाको मात्र नभएर मुलुककै उदाहरणीय व्यक्तित्व बन्न सफल भएका हुन् भन्ने कुरा यस पुस्तकले इङ्गित गरेको छ ।उनको बाल्यकालका रोचक प्रसङ्गले पुस्तकलाई पठनीय बनाएको छ ।

आमाले घिच्याउँदै स्कुलमा पठाउने गरेको उनको कुरा बडो मार्मिक छ । स्कुल नगई बीचबाटै फर्केमा आमाले नै पिट्ने, स्कुलमा जाऊँ भने पढ्न नसकेर गुरुले पिट्ने, यस्तो दुईतिरको चोकेमा परेकाले नै पढाइमा सफलता हासिल गर्न सकेको उनको भनाइ जोसुकैका लागि शिक्षाप्रद हुन सक्छ । निगालो तिखारेर बनाएको कलमले मसीमा चोबेर लेख्न सिकेको उनको कुरा अहिले जोसुकैलाई कथाजस्तै लाग्छ ।उनलाई जीवनको सबैभन्दा मन पर्ने अवस्था नै बाल्यावस्था रहेछ । अभिताभ बच्चनले अभिनयको क्रममा ‘मुझे लौटादो मेरे बचपन’ त्यसै भनेको होइन रहेछ भन्छन् उनी । साथीहरुको लहैलहैमा काँक्रो चोर्न गएको, घाँस काट्ने क्रममा बाघ कराएको सुन्दा डोको–नाम्लो नै छोडेर घरतिर दौडेको, मान्छे खाने गुराउ देखेर तर्सेको जस्ता बाल्यकालका प्रसङ्गहरु अहिलेका बालबालिकाका लागि रोचक कहानी लाग्न सक्छन् ।गाई खाने विद्या पढ्न-पढाउन हुँदैन भन्नेहरु सक्रिय हुँदाहुँदै पनि २००४ सालमा गोरखामा आधार स्कुलको नामले अङ्ग्रेजी शिक्षाको स्कुल सञ्चालनमा आएको थियो । सोही स्कुलबाट बद्री दाइको औपचारिक शिक्षा प्रारम्भ भएको रहेछ । प्रवेशिका गरेपछि लाजिम्पाट स्वास्थ्य विस्तार क्याम्पस, काठमाडौंबाट प्रमाणपत्र तहसरहको स्वास्थ्य प्राविधिक शिक्षा हासिल गर्नुका साथै उनले वभिन्न तालिमहरु लिने अवसर पाए । यसले उनको क्षमता बढ्दै गयो ।

एकपटक उनी गोरखा अस्पतालको निमित्त प्रमुखसम्म भएर काम गरेको कुरा पुस्तकमा उल्लेख छ ।१६ वर्षको उमेरमै जागिरे भएको, त्यो पनि बुबाको मासिक तलब ५५ रुपियाँ हुँदा आफूले ७५ रुपियाँमा हेड मास्टरको जागिर पाउँदा अचम्म लागेको कहानी अहिले पनि रोमाञ्चक छ । पछि शिक्षक जागिर छोडेर उनी औलो उन्मूलन सङ्घमा सुपरभाइजर भए । यसै क्रममा मकवानपुरको डाँडाखर्कमा अहेव भएर जाँदा त्यहाँ राति भूतले तर्साएर सुत्नै नसकेको तर त्यसको रहस्य भोलिपल्ट खुलेको प्रसंग कसैलाई कथा सुनाएको जस्तो लाग्छ । कामकै सिलसिलामा भोग्नुपरेका उनका तीता–मीठा अनुभवहरु पढ्दा अहिले पनि अचम्म लाग्छ ।एकपटक सल्यानटारको हेल्थपोस्टमा एक बिरामी बेहोस भएछ । आफन्तले म-यो भनेर सेतो कपडाले ढाकिदिएछन् । तर मलामीका लागि तयार भएका आफन्तकै अगाडि लास उठेर पानी माग्दा सबै तर्सिएको प्रसंग कम रोचक छैन । बद्री दाइले नै उपचार गरेको सो व्यक्ति पछिसम्म पनि उनलाई भेट्न आउने गरेको रोदन र हाँसो मिश्रित यस घटनाले पाठकलाई भावुक बनाउन सक्छ ।त्यस्तै नाडीको घाउ कहिल्यै निको भएन भनी उपचारका लागि एक बच्चा ल्याइएको, आखिर नाडीमा बाँधेको धागो गडेर त्यस्तो भएको पत्ता लगाई सो धागो निकालेर घाउ बिसेक पारेको उनको कुराले झसङ्ग बनाउँछ ।यस्तै एकजना बिरामीले आफ्नै अण्डकोष पातमा राखेर हेल्थपोस्टमा आएको कुरा झनै आश्चर्य लाग्दो छ । गोरुले हानेर अण्डकोष नै भुइँमा खसेछ ।

सो अण्डकोष पुनः भित्र हालेर घाउ सिलाइदिनुप-यो भन्दै ती व्यक्ति आएका रहेछन् । यो अण्डकोष काम लाग्दैन भन्दा पनि जिद्धी गरेकाले अण्डकोष भित्र हालेर बद्री दाइले सिलाइदिएछन् । पछि घाउ बिसेक भए पनि अण्डकोष भित्रै सुकेको र सन्तानहीन भएको कुरा त्यत्तिकै मार्मिक छ ।२०३७ देखि स्वास्थ्य सेवामा प्रवेश गरेका उनी सरकारी सेवाबाट निवृत्त भएपछि २०७५ सालसम्म स्वास्थ्य क्लिनिक र औषधि पसलबाट समाजमा सेवा दिए । स्वास्थ्य क्षेत्रमा उनको योगदान निकै रहेको देखिन्छ । त्यस्तै गोरखामा द वल्र्ड क्यापिटल सेकेन्डरी स्कुलको स्थापना, प्राविधिक तालिम केन्द्र सञ्चालन, धामीझाँक्रीलाई तालिम सञ्चालन, खानेपानी योजना आदिमा बद्री दाइको योगदान अतुलनीय देखिन्छ । अहिले पनि दर्जन बढी संघसंस्थामा उनको संलग्नता रहिआएको छ ।फ्रान्स, जर्मनी, बङ्गलादेश, हङकङ, थाइल्यान्ड, स्कटल्यान्ड, स्वीट्जरल्यान्ड, बेलायतलगायत छिमेकी दुई मुलुकमा भएको बेला–बेलाको भ्रमणले उनी खारिएको देखिन्छ । विदेशमा देखेका राम्रा कुराहरुलाई यहाँ पनि अवलवम्बन गर्नुपर्ने उनले जोड दिएका छन् ।एकपटक माओवादीको अपहरणमा समेत परेका उनको आत्मबल ७२ वर्षको उमेर भइसक्दा पनि घटेको देखिँदैन । अहिले पनि उनी जोश, जाँगर र क्रियाशीलताका साथ विभिन्न पेसा, व्यवसाय र समाज सेवामै तल्लीन रहेको कुरा पुस्तकमा उल्लेख छ ।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक बी १ का सल्लाहकार अनि दरौंदी गोरखा (बृहत् लिफ्टिङ) खानेपानी आयोजनाको अध्यक्षको हैसियतले कार्य गरिरहेका छन् । गोरखामा एक स्तरीय होटल स्थापना गर्ने उनको चाहनाबमोजिम निर्माण कार्य अन्तिम चरणमा पुगेको रहेछ । अझै पनि आफ्ना बालसखाहरु एकत्रित भएर बस्ने गरी गोरखामा एउटा बस्ती निर्माण गर्ने सोच राखेका रहेछन् उनले ।यसरी राजनीतिमा नलागी राजनीतिक व्यक्तित्वभन्दा माथिल्लो व्यक्तित्व बनाउनु चानचुने कुरा होइन । जुत्ता लगाउन नसक्ने जमानाका बद्री दाइ जुत्ता लगाउने भए । गाडी नदेखेको मान्छे आफैं गाडी चलाएर सयर गर्ने भए । पौराणिक कथामा विमानका कुरा सुनेका उनी सुविधासम्पन्न विमानबाट देश–विदेश घुमे । खान धौ–धौ हुने बेलाका उनी पाँचतारे होटलका परिकार चाख्न पुगे । यो बद्री दाइको जीवन गाथा भए पनि भावी दिनमा यो पुस्तक गोरखाकै इतिहास बन्नेछ । उनले गोरखामा गरेका सामाजिक, धार्मिक, आर्थिक, शैक्षिक कार्यहरुलाई गोरखाका भावी पुस्ताले पनि कदर गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्