पन्जाबको बैंगलोरमाथि जित


नयाँ दिल्ली, (एजेन्सी)

आईपीएल २०२१ सिजनअन्तर्गत २६ औं खेलमा पन्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ३४ रनले हराएको छ ।शुक्रबार राति भएको खेलमा पन्जाबले १ सय ८० रनको लक्ष्य दिएकोमा बैंगलोरले १ सय ४५ रन मात्रै बनाउन सकेको थियो । यो पन्जाबको ७ खेलमा तेस्रो जित थियो । टिम अंकतालिकामा ६ अंकसहित पाँचौं स्थानमा रहेको छ । विराट कोहलीको टिम बैंगलोर भने हार बाबजुद १० अंकसहित तेस्रो स्थानमा छ ।

पन्जाबको शुरूवात नै राम्रो भएको थियो । टिमका लागि कप्तान लोकेश राहुल, क्रिस गेल र हरप्रीत बरारले राम्रो ब्याटिङ गरेका थिए । राहुलले ५७ बलमा ७ चौका र ५ छक्का लगाउँदै ९१ रन जोडेका थिए । उनको यो आईपीएलमा २५ औं अर्धशतकसमेत थियो । तर, अन्तिममा बल खेल्न नपाएर उनी शतकमा पुग्न भने सकेनन् । नटआउट रहेका उनले गेलसँग दोस्रो विकेटका लागि ८० रन जोडे । गेलले २४ बलमा ६ चौका र २ छक्काको सहयोगमा ४६ रन जोडेका थिए ।

यस्तै राहुलले हरप्रितसँग छैटौं विकेटका लागि ४ ओभरमै ६१ रनको साझेदारी गरेका थिए । हरप्रीतले १७ बलमा २५ रनको नटआउट इनिङ खेलेका थिए । बैंगलोरको तर्फबाट अन्तिम ओभर बलिङ गर्न आएका हर्षल पटेल महँगो साबित भएका थिए । उनको ओभरमा पन्जाबका ब्याटसम्यानले २२ रन बटुलेका थिए । यसमा २ छक्का र २ चौका सामेल थिए । हर्षलले ४ ओभरमा विकेटविहीन हुँदै ५३ रन खर्चेका थिए । यसअघि चेन्नाइविरुद्धको खेलमा हर्षलविरुद्ध रवीन्द्र जडेजाले अन्तिम ओभरमै ३७ रन लिएका थिए । बैंगलोरको तर्फबाट काइल जेमीसनले सर्वाधिक २ विकेट लिएका थिए ।

जवाफमा १ सय ८० रनको लक्ष्य पाएको बैंगलोरको ब्याटिङ निकै सुस्त भएको थियो । १९ रनमा पहिलो विकेट पतन भएको थियो । राइली मेरिडिथले देवदत्त पडिक्कलाई बोल्ड गरेका थिए । पडिक्कलले ८ रन जोडेका थिए । यसपछि कप्तान विराट कोहलीले रजत पाटीदारसँग मिलेर बैंगलोरको ब्याटिङ सम्हाले । यी दुवैले ४६ बलमा ४३ रनको साझेदारी गरेर टिमको स्कोर ६२ मा पु-याएका थिए ।

विराट ठूलो शट खेल्ने क्रममा ११ औं ओभरमा हरप्रीतका शिकार भएका थिए । उनी ३४ बलमा ३५ रन बनाएर आउट भएका थिए । हरप्रीतले सो ओभरको दोस्रो बलमा ग्लेन मेक्सवेलको विकेट लिँदै बैंगलोरलाई पछि राखेका थिए । ६९ रन हुँदा अर्का भरपर्दा ब्याटसम्यान एबी डिभिलियर्स पनि आउट भए । उनलाई व्यक्तिगत ३ रनमा हरप्रीतले नै आउट गरेका थिए । यहीँबाट नै बैंगलोर हारतिर गएको थियो ।

यसपछि ९१ रन पुग्दा जमिरहेका ब्याटसम्यान पाटीदार पनि पभेलियनको बाटो लागे । उनी ३१ रन बनाएर क्रिस जोर्डनको बलमा आउट भएका थिए । उनको विकेट पतनसँगै पन्जाबले नतिजा आफूतिर ल्याउन लगभग पक्का ग-यो । ५ रन जोड्दा रवि विश्नोइले लगातार २ बलमा दुई विकेट लिएपछि भने टिमको जित सुनिश्चित भएको थियो । विश्नोइले १६ औं ओभरको चौथो र पाँचाै बलमा क्रमशः शाहबाज अहमद (८ रन) र डेनियल सेम्स (३ रन) लाई पभेलियन फर्काएका थिए । पन्जाबका बलरमा हरप्रीतले सर्वाधिक ३ विकेट लिएका थिए ।