सुपर लिगमा धनगढीको दोस्रो जित


नेपाल समाचारपत्र, काठमाडौं

जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा धनगढी एफसीले दोस्रो जित हात पारेको छ ।शनिबार दशरथ रंगशालामा भएको खेलमा धनगढीले एफसी चितवनलाई ३–० गोलअन्तरले हराएको हो । यो जितसँगै धनगढीले ४ खेलबाट ७ अंक जोडेको छ । चितवन भने ३ खेलमा २ अंक जोड्दै अन्तिम स्थानमा रहेको छ । टिमलाई जित दिलाउन निशान लिम्बू, ओलावाले आफिज र बुद्धबल तामाङले दोस्रो हाफमा १–१ गोल गरेका थिए । निशान खेलका उत्कृष्ट खेलाडी घोषित भए । उनले २५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए । यस्तै बुद्धबल उदीयमान खेलाडी घोषित हुँदै १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।

पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । चितवनले केही गोल गर्ने मौका प्राप्त गरेको थियो । जर्ज प्रिन्स कार्कीले २३ औं मिनेटमा प्रहार गरेको बल क्रसमा ठोक्किँदा चितवन अग्रता लिन चुकेको थियो । जर्ज प्रिन्सले नै ३२ औं मिनेटमा दुई डिफेन्डरलाई छलाएर गरेको प्रहारमा पनि केही इन्चले बल पोस्टभित्र छिर्न सकेन । यसको ४ मिनेटपछि उनले करिब ३० यार्डबाट गरेको सशक्त प्रहारले पनि क्रसबार चुमेर फर्केको थियो ।

दोस्रो हाफमा निशानले डेडलक तोडेर धनगढीलाई १–० को अग्रतामा राख्न सफल भए । उनले ६३औं मिनेटमा निशान खड्काको क्रस सदुपयोग गरेका थिए । यसपछि आफिजले जारी प्रतियोगितामा व्यक्तिगत चौथो गोल गर्दै धनगढीको अग्रता दोब्बर पारेका थिए । उनलाई गोल गर्न निशान लिम्बूले सहयोग गरेका थिए । बुद्धबलले ८० औं मिनेटमा गोल गरेर टिमको अग्रता ३–० मा पु¥याएका थिए ।