कोरोनाको समाधान बन्द होइनः न्यौपाने

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट सुरु भएपछि देशका १ दर्जन भन्दा धेरै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सरकारले तराईका जिल्लामा ५ सय तथा पहाडी जिल्लाका २ सय भन्दा धेरै सक्रिय कोरोना संक्रमित बिरामी भेटिए निषेधाज्ञा जारी गर्न सरकारको निर्देशन छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बारअनुसार व्यबसाय सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन दिएको छ । त्यसअनुरुप हेटौंडाका व्यबसायहरु हाल सञ्चालनमा आएका छन् ।

व्यबसाय सञ्चालनका लागि समयसीमा तोकिएपछि एकै समयमा एउटै पसलमा भिड बढ्नसक्ने र कोरोना भाइरस संक्रमण अझ बढ्न सक्ने मकवानपुर उद्योग वाणिज्य संघ निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने बताउनुहुन्छ । ‘सबै बार सबै पसल । बरु, एक समयमात्र खोलियो भने संक्रमणको जोखिम कम होला । नत्र व्यबसाय बन्द गर्दैमा कोरोना नफैलने भन्ने हुँदैन,’ न्यौपानेले भन्नुभयो ।

जिल्लाका व्यबसायीहरुले बल्ल राम्ररी ब्यापार गर्न पाएको समयमा कोरोना संक्रमणको त्रास देखाउँदै व्यबसाय बन्दलाई नै पहिलो प्राथमिकतामा राख्नु चिन्ताको विषय भएको उहाँको भनाइ छ । न्यौपानेले भन्नुभयो–आवश्यक सावधानीको उपायहरु अपनाएर कोरोनासँग बच्ने हो । पसलहरु बन्द गर्दैमा कोरोना नफैलिएला भन्ने हुँदैन । स्थिति हेरेर र मनन् गरेरमात्र बन्द गर्नुपथ्र्यो । हरेक महामारीमा ब्यापारीको विपक्षमा निर्णय हुँदै आएका छन् । बन्द कोरोना रोकथामको उपाय होइन । कोरोना रोक्नका लागि स्वास्थ्य सतर्कता अपनाउनु जरुरी छ ।

उहाँका अनुसार कोरोना रोकथामका लागि सरकारले अघिल्लो वर्ष गरेको लकडाउन र निषेधाज्ञाका कारण जिल्लाका व्यबसायीहरुले अझै मर्का खेपिरहनु परेको अवस्था छ । यस्तो अवस्थामा पुनः बन्दाबन्दीको विषय उठ्दा र समयसीमा तोकिँदा हेटौंडाका व्यबसायी थप मारमा पर्ने देखिन्छ । सबै समस्याको समाधान बन्द नभएको उहाँको भनाइ छ ।