लुम्बिनी प्रदेशमा ११ दिन अघि मन्त्री बनेका जसपाका चार सांसदको पदमुक्त

0
Shares

यमलाल भुसाल, बुटवल ।

यही बैशाख ६ गते मनत्री बनेका जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्य पदमुक्त भएका छन् । प्रदेश सभा सचिवालयले बिहीबार एक सूचना प्रकाशित गरी सांसदहरु सन्तोषकुमार पाण्डे,विजयबहादुर यादव,कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझी पदमुक्त भएको जनाएको हो ।

उनीहरुमध्ये पाण्डे र रायमाझीले सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । यादव र पाण्डेले भने हस्ताक्षर गरेका थिएनन् । चारैजना सांसदले पार्टी संसदीय दल र पार्टी प्रदेश समितिको निर्णय र ह्वीप उल्लंघन गरेको भन्दै प्रदेश समितिले पदमुक्त गर्न केन्द्रीय कार्यकारिणी समितिलाई सिफारिस गरेको थियो ।

केन्द्रीय कार्यकारिणी समितिको ५१ जना मध्ये २६ जनाको वहुमतले प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट पदमुक्त गरेको निर्णय प्रदेश सभा सचिवालयलाई जानकारी गराएको थियो । सोही निर्णय अनुसार प्रदेश सभा सचिवालयले उनीहरु पदमुक्त भएको सूचना जारी गरेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताउनु भयो ।