आधा घण्टाको अन्तरालमा रुपन्देहीमा थप ३ संक्रमितको मृत्यु

0
Shares

यमलाल भुसाल, बुटवल ।

आधा घण्टाको अन्तरालमा रुपन्देहीका थप तीन जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । बुटवलका दुई पुरुष र मायादेवी गाउँपालिकाकी एक महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो ।

बुटवल–११ का ३१ वर्षीय पुरुषको बिहान साढे २ बजे, बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान पौने ३ बजे र मायादेवीकी ७२ वर्षीया महिलाको बिहान ३ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताउनु भयो ।

बुटवल–११ का पुरुषमा वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएपछि र सोही दिन अस्पताल भर्ना गरिएको थियो । बुटवल–१४ का पुरुषमा वैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पनि सोही दिन अस्पताल भर्ना भएका थिए । यसैगरी मायादेवीकी महिलामा वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएकामा ११ गते अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १८४ पुगेको छ ।

जिल्लामा २२ सय १२ जना सक्रिय संक्रमित छन् । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको आइसियूमा हाल १२ जना संक्रमित उपचाररत रहेको डा. गौतमले जानकारी दिनु भयो ।