कोभिडबाट आफैं सुरक्षित रहने कोशिश गरौं



हालको अवस्थामा दिनानुदिन बढेको कोभिड–१९ को दोस्रो भेरिएन्टका कारणले हरेक क्षेत्र मारमा परेको छ । हालको अवस्थामा कोभिडको असर शहर बजारमा मात्र होइन गाउँठाउँसम्म नै पुगिसकेको छ । तर, कोभिडको असर त्यति ख्याल भएको पाइँदैन । सर्वसाधारणको हेलचेक्य्राइँ, लगभग १ वर्ष घरभित्र बसिसक्दाको परिस्थितिलाई नियालेर कोभिडबाट जोगिन आवश्यक रहेको छ । तर, विश्वलाई नै तहसनहस बनाएको कोभिडदेखि त्यति मानिसहरू सजग र सचेत रहेको देखिँदैन । किनभने, मानिसहरूको मुखमा न त माक्स नै देखिन्छ, न त सामाजिक दूरी नै कायम गरिएको देखिन्छ ।

हालको विषम परिस्थितिमा हामी सबै सजग, सचेत रहनुपर्ने हो तर पनि हामी जात्रा, भीडभाड, सभा सम्मेलन, पार्टी आयोजना गरी जताततै कुदिरहेका छौं । बस, माइक्रो, ट्याम्पु आदिमा हेर्ने हो भने, खचाखच मान्छेहरू भरिएका छन् । हामीमा बोध नै रहेको कुरा हो, कोभिडबाट हालको अवस्थासम्ममा लाखौं मानिसको ज्यान गइसकेको छ भने अझै पनि विभिन्न ठाउँमा दिनानुदिन हजारौं, लाखौंको संख्यामा संक्रमण बढ्दो रहेको छ ।हाल नेपालको अवस्था आँकलन गर्ने हो भने, कुनै पनि क्षेत्रमा कोभिडबाट जोगिनको लागि कुनै सतर्कता अपनाएको पाइँदैन । हाल विद्यालय गएर अध्यायन गर्ने लाखौं विद्यार्थीहरूमाथि सरकारी तवरबाट भएको असावधानीका कारण भोलिका दिनमा बालबालिकाहरूमाथि कुनै नराम्रो परिस्थिति नआऊला भन्न सकिन्न । किनभने बालबालिकाहरू अहिले कोभिडको उच्च जोखिममा रहेका छन् । तर, पनि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, प्याब्सन, अनप्याब्सन, स्थानीय तह, विद्यालयहरूका शिक्षक शिक्षिकाहरूको यस विषयमा फिटिक्कै ध्यान गएको पाइँदैन ।

हालको अवस्थामा नेपालमा हवाई मार्ग सञ्चालनमा नै छ । विभिन्न देशबाट मानिसहरू आउने, जाने क्रम जारी रहिरहेको छ । न त त्यहाँ कुनै कुराको सावधानी नै अपनाइएको छ, न त्यहाँको भीडभाडबाट कोही सजग र सचेत नै भएका छन् । उता सीमा नाकाको हालत उस्तै नाजुक रहेको छ । विभिन्न कार्यालयहरूको अवस्था पनि उस्तै रहेको छ ।हाल छिमेकी मुलुकमा कोभिडको संक्रमण दिनानुदिन लाखौंको संख्यामा बढिरहेको छ । मृत्यु हुनेको संख्या पनि उस्तै रहेको छ । हाल कोभिडको दोस्रो भेरिएन्ट देखिन थालिएको बताइएको छ भने कोभिड १९ को खोप पनि विभिन्न देशमा उत्पादन भई मानिसहरूमा लगाउन थालिएका कुराहरू पनि चहलपहल भइरहेको सुनिन्छ । तर पनि ती खोपले कत्तिको प्रभावकारी भूमिका खेलेको छ । कत्तिको त्यसको असर रहेको छ । कस्ता मानिसहरूमा कोभिडको असर धेरै रहेको छ भनी कुनै आँकलन गरिएको छैन ।हाल १८ वर्षमुनिका बालबालिकामा दिनानुदिन कोभिडको संक्रमण बढिरहेको छ । हाल सबैभन्दा धेरै भीडभाड हुने विद्यालय क्षेत्रमा न त माक्सको नै राम्रोसँग प्रयोग भएको छ, न त सेनिटाइजर, सामाजिक दूरी नै पनि कायम गरिएको पाइँदैन । हुन त विद्यालयको कक्षाकोठामा सामाजिक दूरी अपनाउन सम्भव पनि छैन ।

हालका दिनहरूमा सिसिएमसीको एकतर्फी कुरा, नेपाल सरकारको अर्को कुरा, स्वास्थ्य मन्त्रालयको अर्को कुरा, स्थानीय तहहरूको आफ्नै कुराले गर्दा लगभग एक वर्षदेखि बिग्रिएको पठनपाठन अहिले फेरि लथालिंग अवस्थामा आएको छ । स्वास्थ्य मन्त्रालय भन्छ– कहाँ विद्यालयबाट मात्र कोभिड संक्रमण भएको हो र ? स्वास्थ्यमन्त्री भन्नुहुन्छ– बालबालिका घरमा भन्दा विद्यालयमा नै सुरक्षित रहन्छन् । तर अभिभावकहरू भने अन्योल परिस्थितिको सामना गरिरहेका छन् । विद्यालय नपठाए पहिलेदेखि नै राम्रोसँग पढाइ भएको छैन । परीक्षा आइसक्यो, के गर्ने ? पठाउँन त विद्यालय भन्ने हो भने कोभिडको त्रास ।हाल जतासुकै हेर्ने हो भने होटल, रेस्टुरेन्ट, सरकारी तथा प्राइभेट अस्पताल, कार्यालय, कर बुझाउने ठाउँ, बैंक, कार्यालयहरू मठ–मन्दिर, हरेक ठाउँमा भएका भीडभाड तथा जात्रा, मेलापर्वहरू नियाल्दा अवस्था निकै गम्भीर रहेको छ । तर, मानिसहरू भने गम्भीर भएको पाइँदैन । हालको अवस्थामा सबैभन्दा धेरै जोखिममा बालबालिकाहरू रहेका छन् । अबको पहिलो सतर्कताका लागि जोखिम न्यूनीकरणका लागि सबैभन्दा पहिला विद्यालय बन्द गर्न आवश्यक रहेको छ ।

नेपाल सरकारले २५ जनाभन्दा बढी भेला नगर्नु भने तापनि मन्त्री, सांसदहरू देश दौडाहामा रहेका छन् । सयौं मानिस भेला गराएका छन् । यदि भोलिका दिनमा त्यहाँका मानिसहरूमा कोभिड संक्रमण भेटिएमा उपचारका लागि अस्पताल आफैं पक्कै पनि खडा हुँदैन । नेताहरू आफैं खोप सिल बोकेर त्यहाँ पक्कै पनि धाउँदैनन् । यो यथार्थ कुरा हो । त्यसैले जनता हामी आफैं सजग र सचेत हुनु हालको महत्वपूर्ण आवश्यकता पनि हो । आफ्नो ज्यानको सुरक्षा आफैंले गर्नु आवश्यकता हो । हाल अभिभावकहरू छोराछोरीलाई विद्यालय पठाउने मनस्थितिमा रहेका छैनन् । प्याब्सनद्वारा सञ्चालित प्राइभेट विद्यालयहरूमा भने पहिले नै अभिभावकसँग पैसा लिइसकेकाले अब पुनः विद्यालय बन्द गर्न नहुने उनीहरूको ठहर रहेको सुनिन्छ । स्वास्थ्य ठूलो हो या पैसा, यो अभिभावकहरूले बुझ्न जरुरी रहेको छ ।
हाल विज्ञहरूको कुरा सुन्ने हो भने, उनीहरु विद्यालय चाँडै बन्द गर्न आवश्यक रहेको बताइरहेका छन् । यो भाइरस पहिलाको भन्दा खतरा रहेको छ । बालबालिकामा धेरै संक्रमण देखिएको छ । बालबालिकाको लागि अहिलेसम्म कुनै खोप आएको छैन । यसकारणले बालबालिकाहरू बेलैमा सजग र सचेत रहन आवश्यक रहेको कुरा सुनिन्छ । तर सरकारको अवस्था नियाल्ने हो भने मौन रहेको छ ।

नियमित बैठकहरू भइरेका छन् तर कोभिडबाट जोगिनको लागि कुनै प्रभावकारी भूमिका सरकारले खेलेको पाइँदैन । सरकार मौन हुनु, जनता मारमा हुनु, अभिभावक अन्योलमा हुनु, विद्यार्थी भविष्यको चिन्तामा हुनु, जताततैबाट चिन्ताले ग्रसित हामीहरूमाथि पछिल्लो समय थपिएको हावाहुरी तथा पानीले थपिदिएको अवस्थाले हालको अवस्थामा हामी आफैं सजग र सचेत रहन जरुरी छ । हाल नेपाल सरकारले ५० प्रतिशत बेडहरू कोभिड संक्रमितका लागि छुट्याउन हस्पिटलहरूमा आदेश दिएको छ । तर कत्तिको प्रभावकारिता रहेको छ भन्ने कुरा आँकलन भएको पाइँदैन । सरकारको प्रभावकारिता फितलो रहेको छ ।
– सुजन तिमल्सिना, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्