प्रदेश बजेट कार्यकर्ताको मुखमा नपर्ने भएपछि योजना रद्ध


दयाराम पण्डित, बाजुरा

सुदूरपश्चिम प्रदेशबाट विनियोजित रकम कार्यकताको हातमा नपर्ने भएपछि भवन निर्माण योजना नै रद्ध हुने भएको छ । हिमाली गाउँपालिका–५ स्थित बागेश्वरी माविको जीर्ण भवन निर्माणका लागि आएको उक्त बजेट फ्रिज हुने अवस्थामा पुुगेको सामाजिक विकास कार्यालय बाजुराका प्रमुख धानराज धामीले बताउनुभयो ।

‘हिमाली गाउँपालिका–५ रुगिनको बागेश्वरी माविको चारकोठे दुुईतले भवन यसै आर्थिक वर्षमा सम्पन्न गर्ने गरी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयबाट ४२ लाख रुपियाँ प्राप्त भएको थियो । उक्त रकम कार्यान्वयन गर्न गत मंसिरमा सम्झौतासमेत भइसकेको छ’, कार्यालय प्रमुख धामीले भन्नुभयो– ‘गाउँमा विवाद भएको कुरा उल्लेख गरी तत्कालीन नेकपा वडा संगठन कमिटीको लेटरप्याड प्रयोग गरी सम्झौता रोक्काको पत्र आएको छ । वडाध्यक्ष भनिलालचन्द्र बुढा थापाको हस्ताक्षरसहित गत पुस ५ गते सामाजिक विकास कार्यालय मार्तडीमा उजुरी पेस भएको हो ।’

त्यसै गरी, गत माघ ११ गते अर्को निवेदन आयो । शैक्षिक क्षेत्रमा असर पर्ने गरी गरेको राजनीतिले बालबालिकालाई प्रत्यक्ष असर पर्ने उहाँको बुुझाइ छ । ‘प्रदेश र केन्द्रमा कम्युनिस्ट सरकार छ हाम्रै भनसुनमा बजेट आएकाले उपभोक्ता समिति पनि हाम्रै हुनुपर्छ भन्ने मान्यता एक पक्षको छ । तर, शिक्षा नियमावली–२०५९ तथा कार्यक्रम कार्यान्वयन पुस्तिका निर्देशिकामा विद्यालय व्वस्थापन समितिसँग सम्झौता गर्ने प्रावधान छ’, कार्यालय प्रमुख धामीले गुनासो गर्नुभयो– ‘रकम पनि विद्यालयकै खातामा जम्मा गर्नुपर्ने हुन्छ । सोहीअनुसार हामीले विद्यायालयसँग सम्झौता गरेका हौं । लेआउट गर्न तीनपटक गाउँ पुग्दा पनि सम्झाउन नसकेर सामाजिक विकास प्राविधिक टोली फर्किएको छ ।’

‘हाम्रो पहलमा आएको रकम कुनै हालतमा विद्यालय व्यवस्थापन समितिको खातामा जम्मा गर्न दिन्नौं भन्ने मान्यता एक पक्षको छ । यो अवस्थामा कसरी काम गर्ने ?’ –धामीले प्रश्न गर्नुभयो । ‘तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेसँग आयोजनाको फाइलसहित पेस गरें, सुरक्षा चाहिए म पठाइदिन्छु । अरू राजनीतिक कुरा म मिलाउन सक्दिनँ भन्नुभयो ।’ –उहाँले भनाइ छ ।प्रदेश सामाजिक विकास मन्त्रालय र बाजुरा प्रदेश (क) का सांसद बलदेव रेग्मीलगायत सम्बद्ध पक्षसँग आवस्यक छलफल गर्दा जीर्ण भवन निर्माण गर्न उहाँहरु पनि सकारात्मक नदेखिएको धामीको कथन छ ।बजेटज सको पहलमा आए पनि आखिर विद्यालय सबैको हो । सबै मिलेर काम गरौं भन्दा हाम्रो पार्टीले दिएको रकममा तिमीहरु अध्यक्ष बन्ने भनेर धम्की आएको छ । ‘दुुई वर्षअघि मृत्यु भएका दान्सं नेपालीको सहित कीर्ते हस्ताक्षर गरी निवदेन दिने, पार्टीको ल्याटरप्याड प्रयोग गरी काम रोक्ने, राजनीतिक आरोप विद्यालय व्यवस्थापन समितिलाई लगाउने ? बजेट कसैको खल्तीबाट आएको होइन राज्यको ढुकुटीबाट आएको हो । हामी पनि नेपाली नागरिक हौं, ज्यान जोखिममा राखेर काम गराउन हामी पनि सक्दैनौं ।’ –विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अंगवीर बुढा थापाले भन्नुभयो ।

‘पानी परे ओत लाग्ने ठाउँ छैन, विद्यालय कक्षाकोठा भित्रै छाता ओढेर बस्नुपर्ने अवस्था छ । विद्यार्थीलाई बस्ने बेन्च नहुँदा ढुंगामा बसाउनुपरेको छ । रकम कसले ल्यायो भन्दा पनि विद्यालय कसरी राम्रो बनाउने भन्नेमा लाग्नुपर्ने हो । तर, समुदायमा त्यसो देखिएन । विडम्वना हो ।’ –बागेश्वरी माविका प्रधानाध्यापक दान्संी बुढा थापाले दुःखेसो गर्नुभयो । २०३२ सालमा स्थापना भएको उक्त स्कुलमा ३ सय २५ बढी विद्यार्थी अध्ययनरत छन् भने विद्यालय भवन दयनीय छ ।‘प्रदेश र संघबाट आएको बजेट कार्यान्वयन गर्न नेकपा एमालेकै कार्यकर्ता हुनुपर्ने नभए कामै गर्न नदिने रणनीतिमा एमालेका कार्यकर्ता छन्’, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले भन्नुभयो– ‘कानुनतः रकम विव्यसकै खातामा आउँछ काम सबै मिलेर गरौं भन्दा बरु बजेट फिर्ता जाओस् । हामीले गठन गरेको उपभोक्ता समिति भए मात्र भवन निर्माण हुन्छ ।’