एनएसएलमा धनगढीको पहिलो जित


नेपाल समाचारपत्र, काठमाडौं

जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा धनगढी एफसीले पहिलो जित हात पारेको छ ।मंगलबार दशरथ रंगशालामा भएको खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३–० गोलअन्तरले हराएको हो । टिमलाई जित दिलाउन नाइजेरियन खेलाडी ओलावाले आफिजले २ गोल गरेका थिए । यस्तै एक गोल विपक्षी टिमबाट आत्मघातीमार्फत् आएको थियो ।यसको साथै लिगमा धनगढीले २ खेलबाट ३ अंक जोडेको छ । काठमाडौंको पनि २ खेलबाट ३ अंक नै रहेको छ । यसअघि, धनगढी विराटनगर सिटी एफसीसँग ३–० ले हारेको थियो । उता काठमाडौंले भने यसअघि आफ्नो पहिलो खेलमा ललितपुर सिटीलाई १–० ले हराएको थियो ।

त्यसो त धनगढी १० खेलाडीमा सीमित हुँदा पनि काठमाडौले यसको फाइदा उठाउन सकेन । खेलको ६८ औं मिनेटमा रमेश दंगाल दोहोरो पहेँलो कार्ड आत्मसात गर्दै मैदानबाट बाहिरिएका थिए । यसपछि करिब २२ मिनेटको बाँकी समयमा काठमाडौंले धनगढीमाथि दबाब बनाउन सकेन । धनगढीले एक खेलाडी नभएको अवस्थामा पनि जित दर्ता गर्न सफल भएको थियो ।धनगढीले १९ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । टंक बस्नेतले क्रस गरेको बल पोलमा ठोक्किँदै फर्कियो र सो रिबाउन्ड बलले गोलकिपर विकेश कुथुलाई छुँदै गोलको दिशा लिएको थियो । उक्त गोल भएको ४ मिनेटमै आफिजले काउन्टर एट्याकमा गोल गरेका थिए । उनको गोलसँगै धनगढी २–० को राम्रो स्थितिमा रहेको थियो ।आफिजले पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । उक्त गोलले धनगढीको जित सुनिश्चितसमेत गरिदिएको थियो । उनले दर्शन गुरुङले दिएको पासमा गोल गरेका थिए ।

धनगढीलाई जित दिलाउन प्रमुख भूमिका खेलेका आफिज खेलका उत्कृष्ट खेलाडी घोषित भए । उनले २५ हजार नगद पुरस्कार पनि हासिल गरेका थिए । यस्तै धनगढीकै खेलाडी पुजन उपरकोटी उदीयमान खेलाडी घोषित भए । उनले १० हजार रुपियाँ प्राप्त गरेका थिए ।निषेधाज्ञामा पनि लिग जारी रहनेकोरोना भाइरसको दोस्रो लहर झनै खतरनाकरूपमा फैलिरहेको छ । दैनिक हजारौंको संख्यामा भाइरस संक्रमणहरू आइरहेका छन् । काठमाडौं जिल्ला प्रशासनले यही वैशाख १६ गते बिहीबारदेखि दुई साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरिसकेको छ । यसको बावजुद एनएसएल सञ्चालन भइरहने जनाएको छ । विना दर्शक शुरूवात भएको हुँदा स्वास्थ्य मापदण्ड अपनाएर लिग जारी राख्ने जनाएको छ । ७ टोलीको सहभागितामा यही वैशाख ११ गतेदेखि एनएसएल शुरू भएको हो ।