छनोट भएका विद्यार्थी संक्रमित


मोतीराम तिमल्सिना, काभ्रे

जिल्लामा दैनिक संक्रमित व्यक्तिहरू थपिँदा जिल्ला खेलकुद विकास समिति भने रनिङ शिल्डको चटारोमा छ । सोमबार मात्रै जिल्लामा बालबालिकाहरूसहित ३४ संक्रमित थपिएका छन् । १३ वटा पालिका रहेको जिल्लामा ७ वटा पालिकाबाट मात्रै खेलाडीहरू सहभागी भएका छन् । जिल्लास्तरीय प्रतियोगितामा भाग लिन नगरस्तरीय प्रतियोगितामा भाग लिई छनोट भएका नमोबुद्ध नगरपालिकाका एक विद्यार्थी संक्रमति भएसँगै नमोबुद्ध नगरपालिकाले प्रतियोगितामा भाग लिएन ।

प्रतियोगिता नै आयोजना नगरेको पाँचखाल नगरपालिक र बेथानचोक गाउँपालिकाले आफूखुशी खेलाडी छनोट गरी सहभागी गराएको छ । सोमबारदेखि जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू गरिएको छ । प्रशासनको मौखिक सहमतिमा झण्डै दुई सय खेलाडी र दर्शक सहभागी गराउँदै प्रतियोगिता पनौतीमा शुभारम्भ भएको छ । प्रतियोगिताको संघीय सांसद गंगाबहादुर दोङ्गले उद्घाटन गर्नु भएको छ । जिल्ला अध्यक्ष मानवीर लामाले सुरक्षा उपाय अपनाउँदै प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । ‘हामीले प्रशासनलाई मौखिक जानकारी गराएर प्रतियोगिता आयोजना गरेका हौं, पाँचखाल र बेथानचोकमा प्रतियोगिता नभए पनि खेलाडी सिफारिस गरेर पठाएका छन्, अन्य पालिकाबाट खेलाडीहरू सहभागी भए’–अध्यक्ष मानवीर लामाले भन्नुभयो–‘भोलि सकिन्छ, सामाजिक दुरी कायम राख्ने प्रयास गरेका छौं ।’

प्रतियोगिता सम्पन्न भएका नमोबुद्ध नगरपालिकाले बालबालिकाहरूमा संक्रमण फैलन सक्ने आशंकाले विद्यार्थीहरू प्रतियोगितामा सहभागी गराएन । नमोबुद्धमा छनोट भएका खेलाडीमा संक्रमण देखिएपछि भाग नलिएको जानकारी गराएको कार्यालय प्रमुख अभिकेशर कट्टेलले जानकारी दिनुभयो । खानीखोला, महाभारत र तेमाल गाउँपालिकामा पनि प्रतियोगिता सम्पन्न भई खेलाडी छनोट भइसकेको भए पनि प्रतियोगितामा भाग लिएनन् । बनेपा, धुलिखेल नगरपालिका र बेथानचोक गाउँपालिकाले कोभिडकै कारण प्रतियोगिता सञ्चालन गरेनन् । पाँचखालले पनि पछि आयोजना गर्ने तयारी गरेको भए पनि जिल्लास्तरीय प्रतियोगितामा नगरस्तरीय प्रतियोगिता नै सञ्चालन नगरी खेलाडीको नाम सिफारिस गरेर पठाएको छ । पनौती, मण्डनदेउपुर नगरपालिका, रोशी, भुम्लु, चौरीदेउराली गाउँपालिकाका विद्यार्थीहरू प्रतियोगितामा सहभागी भएका छन् ।

भलिबलतर्फ महिला र पुरुष, एथलेटिक्स र त्यसअन्र्तगतका विभिन्न खेलहरू, कपर्दी, कराँते र तेक्वान्दो प्रतियोगितामा ६ वटा पालिकाका विद्यार्थीहरूले भाग लिइरहेका छन् । संक्रमण फैलिएका कारण जिल्लाका सबै क्षेत्रमा जमघट रोक्ने निर्णय भए पनि त्यही निर्णयको खिलाफमा प्रतियोगिता आयोजना गरिएको हो । २० वर्षभन्दा कम उमेरका व्यक्तिहरूमा संक्रमण दर बढिरहेको भए पनि जिल्लास्थित संकट व्यवस्थापन केन्द्रले पनि प्रतियोगिता रोक्न चाहेन । सोमबार पनि पार्टी प्यालेसहरूमा भोज सञ्चालन भइरहेका छन् ।