नेपाली पर्यटन क्षेत्र



व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । नेपालको आर्थिक विकास र समृद्धिको लागि तेस्रो प्राथमिकताको क्षेत्र पर्यटन हो । हाम्रो देशमा हिमालयसहितको अनुपम प्राकृतिक सौन्दर्य छ, जैविक विविधता छ । काठमाडौं उपत्यकामा पुराना वास्तुकलासहितका सांस्कृतिक सम्पदा र लुम्बिनी, जनकपुर, पशुपतिनाथ, मुक्तिनाथजस्ता सांस्कृतिक केन्द्र छन् । पश्चिममा खप्तड, रारा, बीचमा मनकामना, गोरखकाली, स्वर्गद्वारी, पूर्वमा हलेसी, तराईमा सिम्रौनगढ, गढीमाईलगायतका जुन पर्यटन विकासका सम्भावना भएका ठाउँ छन्, यसको तीव्र विकास गरेर लाखौं पर्यटक देशभित्र ल्याउन सकिन्छ ।

पर्यटन विकास गर्दा सकभर स्थानीयले पनि लाभ लिने गरी गर्नुपर्छ । टे«किङ,-याफ्टिङ, पदयात्रालगायतका क्षेत्र विकास गरेर स्थानीयले लाभ लिने व्यवस्था मिलाउनुपर्छ । अर्कोतिर लुम्बिनीजस्ता ठाउँमा हामीले ठूलो विकास गर्न सक्यौं भने विदेशबाट खासगरी चीन, जापान, कोरिया, थाइल्यान्डलगायतका ठाउँबाट करोडौं पर्यटक भित्र्याउने सम्भावना रहन्छ ।आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षित हुने गरी पर्यटन प्रवद्र्धन गर्न नेपालको आफ्नै आकर्षक ब्रान्डहरु निर्माण गर्न आवश्यक छ । हाम्रा नौला स्थान, नौला क्रियाकलाप, नौला अनुभूतिप्रति पर्यटकलाई आकर्षित गर्न बजार प्रवद्र्धनका रणनीतिलाई आधुनिक पद्धतितर्फ लैजानै पर्छ ।विश्वासिला सञ्चार साझेदारहरुको पहिचान र परिचालन गरी गन्तव्यहरुका बारेमा नयाँ र ताजा जानकारी दिने तथा नेपालका प्राकृतिक सामीप्य, सांस्कृतिक सत्यता, आत्मीय सुख र सामाजिक मेलजस्ता उत्साहप्रद मूल्यहरुलाई पर्यटनसँग कसिलोसँग जोड्न जरुरी छ । पर्यटन बहुसरोकारवालाहरुको अन्तर्सम्बन्धबाट चल्ने क्षेत्र हो । त्यसैले पर्यटनको प्रवद्र्धन र विकासको लागि सरकारी, गैरसरकारी, निजी तथा साझेदारीको प्रयास आवश्यक छ ।

स्थानीय, प्रदेश र संघीय सरकार तथा निजी क्षेत्रको पूर्ण सहयोगसहित पर्यटनमा गुणस्तर मापदण्डको विकास गरी इमानदार कार्यान्वयन गर्न आवश्यक देखिन्छ । संस्थागत संरचना, नीतिगत व्यवस्था, व्यवस्थापन प्रणाली एवम् समन्वय र नियमन पद्धतिमा सुधार गर्दै पर्याप्त सहकार्य र उपयुक्त गृहकार्यको साथमा अगाडि बढ्दा समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिमा पर्यटन क्षेत्रले महत्वपूर्ण योगदान पु-याउन सक्ने कुरामा दुईमत नहोला ।पर्यटन उद्योगमा देखिएका चुनौतीहरूको सम्बोधन गर्नका लागि सरकार, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रसमेतको संयुक्त लगानी, तत्परता र सोचमा परिवर्तनको आवश्यकता हुन्छ । यसो हुन सकेको खण्डमा नेपालमा रहेका सम्पदाहरूको संवद्र्धन, संरक्षण र प्रवद्र्धन गर्न सकिन्छ । यसले पर्यटक आगमन, पर्यटक बसाइ र खर्चमा वृद्धि गराई रोजगारीका अवसर सृजना हुन्छ । यसरी पर्यटन क्षेत्रको माध्यमद्वारा आर्थिक विकासमा सहयोग पुग्छ ।

त्यसका लागि यहाँ छरिएर रहेका प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको संरक्षण र संवद्र्धनमा स्थानीय सरकार, समुदाय तथा निजी क्षेत्रसमेतको सहभागितामा चाहिन्छ । साथै पर्यटन क्षेत्रको विकास गरी प्राप्त प्रतिफललाई न्यायोचित तरिकाले वितरण गर्न संयन्त्र बनाएर कार्यान्वयन गरिनुपर्छ ।
– सरस्वती गैरे, पोखरा ।

प्रतिक्रिया दिनुहोस्