राष्ट्रप्रति बफादार र समर्पित व्यक्तिको खोजी



नेपालमा हामी जो–जति छौं सबैजसो कुनै न कुनै दलसँग सम्बन्धित छौं । हामी कोही स्वतन्त्र हुन सकेनौं । आशैआशमा पद त्याग्न सकेनौं । ऊपछि उसको दाबी । यसले देश अधोगतितिर उन्मुख भयो । प्रमुख नेतृत्व समय–सीमामा रहेन । त्यसपछिका नेतृत्व वर्ग पनि दाबी उल्झनमै रहिरहन तल्लीन भए । यसले गर्दा सर्वसाधारण भन्न थाले– राजा आऊ देश बचाऊ । युवा आऊ देश बचाऊ । युवा समाज, राजावादीसँग पनि नयाँ विकल्पको अवधारणा आउन सकेन । ताकि आफू जन्मिएको राष्ट्रलाई शक्ति राष्ट्रको रुपमा रुपान्तरण गर्न सक्ने भिजन उनीहरुसँग थिएन वा छैन रहेछ । भएको भए तपाईंहरु हट्नुस् हाम्रो भिजन यो हो भनेर नेतृत्ववर्गसामु पछारेको देखिएन ।
केही व्यक्ति यस्ता पनि देखिए कि ढुंगा हान्ने, लाठी बोक्ने, पानीका फोहोरा खाने, जसले आन्दोलन गर्छ त्यसमा घुसपैठ गर्ने गरेको पनि देखियो । भ्रष्टाचार गरेको केही अशंले नै नेतृत्व पंक्ति र कार्यकर्ता पालिएका हुन्छन् ।

बालुवाटारको जग्गा प्रकरणमा पनि नेतृत्व पंक्ति नै देखियो भन्ने सुनिन्छ । मूल्यवान् जग्गा प्रकरणमा पनि प्रमुख नेतृत्व पंक्तिकै व्यक्ति हो भन्ने सुनिन्छ । यिनै नेतृत्व पंक्ति भन्ने गर्छन्– पार्टी फुट्नुहुँदैन । दुई तिहाइको सरकार छ, पार्टी फुट्न दिँदैनौं भनिरहँदा संसद् नै विघटन गरी मध्यावधि चुनाव घोषणा भयो । यदि चुनाव भएको भए सर्वसाधारणको टाउकोमा कति ऋणको भार थोपरिने थियो ? भएकै ऋणले जनताको ढाड भाँचिएको छ ।भुइँचालो आयो । अन्य देशबाट सहयोग आयो । चामल खाल्टामा गाडियो, जस्ता पाता नेतृत्व पंक्तिको हातमा पुग्यो, बेपत्ता पारियो । अन्य सहयोग खोलामा फालियो । धेरै जस्ता, पालहरु आए । आसेपासेको घरमा कृहिएर यत्रतत्र फालिएको देख्न सकिन्छ । राज्यले ३ लाख रुपियाँ दियो । २ कोठाको घर बनाउन ८ लाख लाग्यो । अब भन्नुस्, धान–चामल कहाँ राख्ने, पाउनापाछा कहाँ सुताउने, आफू र आफ्ना परिवार एकै कोठामा सुत्ने कि ? जो जति छौं हामी सबै कुनाकाप्चामै जन्मिएका हौं । राज्यले ३ लाख दिन्छ, यसले पुग्ने गरी आवश्यकताअनुसारको घर बनाऊ, मापदण्डलाई वास्ता नगर भनेर नेतृत्व पंक्तिले भन्दिएको भए भार पर्दैनथ्यो । भुइँचालोमा पर्नेहरुको कम्मर भाँचियो, टाउको फुट्यो, हातखुट्टा भाँचिए, कति बेपत्ता भए, सग्ला रहेकाहरुको पनि ऋणको भारी बोकाएर ढाड भाँचिदिएका छन् नेतृत्ववर्गले ।

कोरोना महामारी आयो । औषधि खरिदमा भ्रष्टाचार भयो । नेतृत्व वर्गहरुको सुविधा बढ्यो । जनशक्ति काम नपाई रातारात घर गए । घरमा पनि बाँच्ने आधार नभएका पुनः फर्किएर काम नपाई भोकै रहे । देश–विदेशमा रहेका जनशक्ति कोरोनाका कारण मरिन्छ कि भनेर घर आए । खान वा स्वास्थ्य सुविधा नपाएका कारण पुनः फर्किए । राज्यको ढुकुटीमा बजेट सिद्धियो । डाक्टर वा स्वस्थ्यकर्मीलाई सुविधा दिन बजेट छैन भने । राष्ट्रसेवकलाई तलब दिन बजेट छैन भने । अनि दुई तिहाइको सरकारले संसद् विघटन गरी चुनाव घोषणा गर्ने ? यस्ता रवैयामुखी कुनै पनि दलका नेतृत्व प्रमुख र नेतृत्व पंक्ति सबैलाई के भन्ने ?नेतृत्वकर्ता लगायत सबै जनशक्ति कमजोर भएपछि छिमेकीले पेल्ने नै भए । फलस्वरुप लिम्पियाधुरा, लिपुलेक आदि छिमेकी मुलुकको कब्जामा पुग्यो । एमसीसी पास गर्न खोजे भनेको पनि सुनिन्छ । बीआरआईको नाममा रोड विस्तार गर्दा हजारौं डाँडाकाँडा फोहो¥याएका छन् । आफ्नै देशको सम्पत्ति (बालुवाटारको जग्गा) आफैंले कब्जा जमाउन खोजेका छन् ।नेतृत्वकर्ता आफैं कमजोर बन्न पुगे । उनीहरु कमजोर हुनु भनेको जनता कमजोर हुनु हो । यसको फाइदा जसले पनि लिन्छ । कुनै दिन देश नै लुटाउन बेर लाउँदैनन् । त्यसैले यस राष्ट्रप्रति समर्पित, बफादारी, राष्ट्रचिन्तक राजनेता खोजौं । आफ्नो अथाह स्रोत भएको जन्मभूमिलाई शक्तिराष्ट्रको रुपमा रुपान्तरण गर्न सक्नेको खोजी गरौं । यस्ता व्यक्ति खोज्दै जाने क्रममा मैले कुलमान घिसिङ र उनको टिमलाई पाएको छु । उस बेला इन्भर्टर, ब्याट्रीजस्ता वस्तु खरिद गर्न बाध्य पारी जनताको ढाड भाँचिएको थियो । सारा जनता अँध्यारो अवस्थामा पोको परेका थियौं । दिनकै १८ घण्टा लोडसेडिङले उकुसमुकुस भएको थियो । यस अवस्थामा जनतालाई २४ सै घण्टा उज्यालो दिन सफल कुलमान घिसिङको टिमलाई मुरी–मुरी धन्यवाद । उनी र उनको टिमलाई राष्ट्र समर्पित व्यक्तिको रुपमा लिएको छु ।

यस्तै गरी प्रहरी सेवातर्फका रमेश खरेल, उनी कार्यरत स्थानमा अन्याय, अत्याचार, भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न खोज्ने उनी यतिखेर कहाँ छन्, थाहा छैन । उनलाई पनि मुरी–मुरी धन्यवाद दिन चाहन्छु । उनलाई पनि राष्ट्र समर्पित व्यक्तिको रुपमा लिएको छु । यस्तै समाज सेवातर्फ हेरौं । औषधि खान नपाई थल्लिएका, भोकै परेका, ग्यासको अभावमा चाउचाउ–चिउरा चपाउन बाध्य परेका, किरिया खर्च नपाएका, किरिया गर्न घर जान नपाएका आदि दुखित जनताको उद्धार गर्न सफल इन्द्रेणी क्लबका अध्यक्ष कृष्ण कडेललाई मुरी–मुरी धन्यवाद । यस्तै ज्यानको बाजी राखेर कुशासनको पर्दाफास गर्ने तथा भ्रष्टाचार भएको दृश्य कैद गरी राष्ट्रवासीलाई देखाउने सबै टेलिभिजनका संवाददाता र क्यामरा म्यानहरुलाई पनि धन्यवाद दिन्छु । त्यस्ता व्यक्तिको गलामा फूलको मालाले स्वागत गर्नुपर्नेमा दुवै हातमा हतकडी लगाएर खोरभित्र छिराएको दृश्यले मलाई सारै दुखित बनाउने गर्छ । भ्रष्टाचार नै भ्रष्टाचारको बहुमत रहेको राष्ट्रमा हामीले के गर्न सक्छौं र ?राजेन्द्र बानिया, चन्द्र बानिया, ऋषि धमला, रवि लामिछाने, जीवराम भण्डारी, सबै टेलिभिजनका बहसकर्ताहरुले राष्ट्रप्रति कर्तव्यनिष्ठ भई निभाउनुभएको भूमिकाप्रति आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु । विभिन्न प्रकाशक, पत्रकार, सम्पादक, लेखक, कर्मचारी सबैले यस राष्ट्रमा भैरहेका अनगिन्ती क्रियाकलाप रोक्न खेल्नुभएको भूमिकाप्रति पनि धन्यवाद दिन चाहन्छु ।स्वदेश–विदेशमा रहनुहुनेले पनि नेपालका बाढीपहिरो, महामारी पीडितहरुलाई सहयोग गरेका समाचार सुनिन्छन् । यसरी सहयोगी भूमिका निभाउनुहुने सबैलाई राष्ट्रचिन्तकको रुपमा लिएको छु ।

यस्ता राष्ट्र चिन्तक राजनेता खोज्दै जाँदा माथि उल्लिखित व्यक्तित्वहरुलाई पाएँ । यहाँहरुको ज्ञान, बुद्धि, विवेकबाट नयाँ विकल्प अपनाई आफ्नो जन्मभूमिलाई शक्तिराष्ट्रको रुपमा रुपान्तरण गरौं । यसका लागि यहाँ केही प्रश्नहरु राखेको छु । आफ्नै मुलुकको सरणार्थी हुनबाट कसरी मुक्त हुने, राष्ट्रको बाँकी सम्पत्तिका सुरक्षा कसरी गर्ने, गुमेको भूभाग कसरी फिर्ता गर्ने, अनिकालको सामना कसरी गर्ने, राष्ट्रको अथाह सम्पत्ति हुँदाहुँदै गरिबीलाई कसरी निस्तेज पार्ने, रोजगारका लागि विदेशिनेहरुलाई कसरी रोक्ने ? यी प्रश्नहरुको उत्तर खोजी गरी कार्यान्वयन गर्न सक्ने हो भने मुलुक समृद्धिमा लम्कने छ ।राष्ट्रमा धेरै दल भए । सिद्धान्त आ–आफ्नै भए । एक सिद्धान्तमा हामी रहन सकेनौं । नेतृत्व प्रमुखहरुले हामीलाई एक सिद्धान्तमा परिणत गराई मुलुकलाई शक्तिराष्ट्रको रुपमा रुपान्तरण गर्न सकेनन् । जहिले पनि अस्थिरता । त्यसैले राष्ट्रप्रति समर्पित भई शक्तिराष्ट्रको रुपमा रुपान्तरण गरौं । सधैँको अस्थिरता अन्त्य गरौं ।
– मिठाराम पौड्याल, जफे–६, दोलखा ।

प्रतिक्रिया दिनुहोस्