छिर्केमिर्के ‘भाले’ र एमसीसी प्रसंग



बालकृष्ण मैनाली

संसद् विघटन, पुनस्र्थापना, ताजा जनादेशको इच्छा र मागको निरन्तरता, राजनीतिक अंशियारहरुको एक–आपसमा भएका र भइरहेका कारबाहीहरुलाई प्रत्येक जनले नियालिरहेका छन् । जनजनले प्रत्येक राजनीतिकअभिनयकर्ताहरुले गरेका एक–एक हिसाबकिताबको लेखाजोखा गरिराखेका छन् । उचित समयमा हिसाबकिताबको खोजसमेत गर्नेछन् । एकातिर देशका प्रधानमन्त्री आफ्नो क्षणिक राजनीतिक स्वार्थ पूर्तिको लागि मिल्ने-नमिल्ने अनेक खाले हतकण्डा अपनाउँदै छन् । साथै विधि र विधानलाई लत्याउँदै आफ्ना राजनीतिक अंशियारहरुलाई कारबाही गर्ने र अरु खेमाका राजनीतिक अंशियारलाई आफ्नातिर तान्ने नाउँमा विधि–विधानको उद्देश्य तथा मनसाय विपरीत विभिन्न पदहरुमा नियुक्तिको वर्षात गराउने कार्य जारी राख्दै आएका छन् ।

३२ जना आफ्ना राजनीतिक अंशियारहरुलाई दुईदिने स्पष्टीकरणको पत्र थमाउने पछिल्लो कार्य पनि गरेर भ्याइसकेका छन् । त्यसै गरी अर्कोतिर प्रतिपक्ष होस् वा केही समय सहयात्री भई एउटै जुत्तामा दुवैको गोडा ताछेर भए पनि उडाइएको राजनीतिक जेट दुर्घटनामा परिसक्दा पनि दुर्घटनामा परेको राजनीतिक जेटलाई उद्धार र उपचार गर्नुपर्ने अर्काथरी राजनीतिक अंशियारहरु पनि बदला र आफ्नो क्षणिक राजनीतिक स्वार्थको भावनाले ओतप्रोत हुँदै, उही खाले नाङ्गो नाच प्रदर्शन गरी बचेखुचेको राजनीतिक जेटको पार्टपुर्जालाई पनि खाल्टोमा पुर्दै स्वयम् दिग्भ्रमित बनिरहेका छन् । खबर बजारको पछिल्लो तथ्यांक यही हो ।लगभग २ वर्ष ११ महिनाअगाडि अर्थात् ०७५ साल जेठ १६ गते यही पत्रिकामा यो आलेखकर्ताको एउटा आलेख प्रकाशित भएको थियो । जसको सार यहाँ उल्लेख गर्न चाहन्छु– ‘नेपालमा २०४६ सालपछिको दलीय इतिहासलाई हेर्दा कुनै पनि दलमा सामान्य विवादको जन्म हुनासाथ सो विवादलाई आपसमा मिलाउनुको साटो टुक्रा गराइछाडने प्रवृत्ति हाबी भएको नेपाली जनतासँग अनुभव छ । चाहे त्यो कांग्रेसमा होस् या कम्युनिस्टमा, चाहे हिन्दू राजसंस्थाको हिमायती ठानिएको राष्ट्रिय प्रजातन्त्र पार्टी नै किन नहोस् । जुट्नलाई जति माथापच्चिसी गर्नुपर्दछ फुट्नलाई कतै माथापच्चिसी गर्नै पर्दैन । एक–आपसमा स्वार्थ बाझिने बीउ कसैले रोपिदिनासाथ त्यही कथित बाझिएको स्वार्थलाई लिएर दलहरु टुक्रिन कत्ति पनि बेर लाग्दै लाग्दैन । आफ्नो अनुकूल खेलाउन चाहने स्वदेशी वा विदेशी शक्तिले थपथाप गर्नासाथ दल फुटेर छताछुल्ल भैहाल्छन् । नेपालमा विशेषरुपमा देखिएका कांग्रेस, कम्युनिस्ट र राजतन्त्रको समाप्तिपछि उदाएका राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत गरी तीन दलको देशमा वर्चश्व कायम भएको देखिए तापनि यी तीनै दलहरु आ–आफ्नो गुटको स्वार्थको लागि आ–आफ्नो दल फुुटाउने कार्यमा किञ्चित पनि शंकोच मान्दैनन् भन्ने प्रमाणित गराइसकेका छन् । यस अर्थमा पनि हालै भएको वामएकताले पुनः यस्तो नियति भोग्नु नपरोस् ।

यो एकताले अबको केही वर्षभित्र देशमा परिवर्तन भएको कुरा जनतालाई मात्र होइन विश्वलाई पनि सप्रमाण देखाउनु अनिवार्य भैसकेको छ । धेरै ठूलो उपलब्धि देखाउन नसके पनि कम्तीमा अबचाहिँ देशले विकासको गति लियो भन्ने कुराचाहिँ प्रमाणित गराइछाड्नुपर्छ । देशमा भ्रष्टाचार गरिने कार्यमा धेरै प्रतिशत कमी आयो, तस्करहरुको मनोबल गिरेको छ, गैरकानुनी सिन्डिकेटको अन्त्य भएको छ, कानुनको शासन स्थापना भएको छ, लगानीकर्ताहरुको लगानी डुब्दैन । वैदेशिक सहयोगको पूरापुर पारदर्शितासहित सदूपयोग हुन थालेको छ । यी कुराहरु अबको केही वर्षभित्र हुन सक्यो भने मात्र यो वामएकताको सार्थकता झल्किनेछ । खुट्टा ताछेरै उडाइएको जेटसम्बन्धमा पक्ष–विपक्षमा धारणाहरु सार्वजनिक भैरहेका छन् । यी यस्ता विषयहरुलाई पनि गम्भीरतापूर्वक पाइलटद्वयले विचार पु-याउनुपर्ने हुन्छ । वास्तवमा करिश्मा त्यति बेला हुन्छ, जहाँ टेम्पुको इन्जिनले जेट उडाउन सफल भइन्छ । जेटकै इन्जिनबाट जेट उडाउन के गाह्रो भयो र ? गाह्रो त टेम्पुको इन्जिनले जेट उडाउनु हो । पाइलटद्वयले के विचार गर्नुपर्छ भने, कथंकदाचित जेट दुर्घटनामा प-यो भने पाइलटद्वयलाई मात्रै आघात पुग्ने होइन, त्यो जेटमा अरु पनि सवार भएका छन् । तसर्थ दुर्घटना भएमा अरु पनि आघात हुन्छन् । टेम्पुकै इन्जिन प्रयोग गरेर उडाइएको जेट भएको भए तापनि सफलतापूर्वक उडान भरी सफल अवतरण गरेर परिवर्तनको अनुभूति गराओस् ।’ त्यस बेला प्रत्येक जनको कामना यिनै माथि उल्लिखित कुराहरु थिए ।

त्यति बेला वामएकताका दुई अध्यक्षमध्ये एक अध्यक्षले वामएकता हुनुअघि कथंकदाचित वामएकताका लागि केही गरी जुत्ता सानो भई खुट्टा छिराउन समस्या देखा परेमा आफ्नै खुट्टालाई ताछेर भए पनि जुत्ता लगाई छाड्नुपर्ने अभिव्यक्त सार्वजनिक गरेका थिए । जनताको हितका निमित्त केही कदम चाल्दा यदाकदा ताछेको खुट्टामा काँडाले कोर्ने प्रयास गर्न सक्छ । यसर्थ कथंकदाचित काँडाले कोतरिहालेमा मलहम पट्टी लगाउन बेलैमा आवश्यक मलहम पट्टीहरु पनि व्यवस्थापन गरेर यथास्थानमा राख्नु उपयुक्त हुन जान्छ, अन्यथा काँडाहरुले कोतरेको बेलामा बेलैमा मलहम पट्टी नलगाई त्यत्तिकै छोडियो भने पछि गएर क्यान्सरको रुपधारण गर्न सक्छ भन्ने कुरालाई हृदयङ्गम गरी बेलैमा सचेतना अपनाउनु बुद्धिमानी हुनेछ भन्ने सल्लाह–सुझाव थुप्रै आएका थिए । त्यति बेला अध्यक्षद्वयले आ–आफ्नो खुट्टा ताछेरै जुत्ता लगाएका छन् भन्ने भ्रम जनजनलाई परेको थियो । आजको दिनसम्म आइपुग्दा दुवै अध्यक्षको ताछिएको खुट्टामा काँडैकाँडा उम्रिएका छन् । काँडा उम्रिएका खुट्टाहरुमा मलहम पट्टी लगाउनुको साटो त्यही काँडा उम्रिएको खुट्टाले एक–अर्कालाई प्रहार गर्न लागिपरेका छन् । राजनीतिक अंशियारहरका पछिल्ला गतिविधिहरुले यही कुरालाई प्रमाणित गरिरहेछन् ।

पछिल्लो समय विवादित एमसीसी प्रसंग पुनः तरङ्गित गराइएको छ । भर्खरै बसेको सर्वदलीय बैठकमा एमसीसीको विषयलाई लिएर सरकारले गरेको प्रस्तावलाई छलफलमा नल्याएको भनी प्रधानमन्त्रीले सभामुखविरुद्ध आक्रोश पोख्नुभएको छ । सर्वदलीय बैठकमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिको सम्पादित पाठ भन्दै गएको वैशाख ५ गतेको गोरखापत्रमार्पmत कुराहरुको विस्तृत विवरण सार्वजनिक भएको छ । झन्डै विभिन्न २० अनुच्छेदमा सार्वजनिक भएको प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले देश थप मुठभेडतिर नै जाने सन्देश प्रवाह गर्दछ । वास्तवमा एमसीसीको बारेमा एमसीसी के हो भन्ने कुरा प्रत्येक जनजनलाई स्पष्टरुपमा बुझाइएकै छैन । त्यसका गुण, अवगुणका प्रतिशतहरुबारे एउटै राजनीतिक अंशियारहरुभित्र पनि फरक–फरक धारणाहरु भेटिएका छन् । आफ्नै सहोदर राजनीतिक अंशियारका सदस्यहरुको समितिले एमसीसी जस्ताको तस्तै पारित गरिनुहुन्न भन्ने प्रतिवेदनलाई सरकारले लुकाएको लुकायै छ । यही अवस्थामा एमसीसी पारित हुने हो भने नेपालको संविधानदेखि लिएर सम्पूर्ण कानुनहरु प्रत्यक्ष वा अप्रत्यक्षरुपमा निस्तेज साबित हुनेछन् र अमेरिकी कानुन हाबी हुनेछन् भन्ने सामाजिक अभियन्ता भन्नेहरुको चर्को आरोप छ ।

यसबारे सरकार स्पष्टरुपमा आफ्नो धारणा राख्न विफल भएको छ, न त प्रतिपक्ष नै आफ्नो धारणा स्पष्टरुपमा सार्वजनिक गर्ने हिम्मत राख्छ । एमसीसीको विषयलाई लिएर शक्ति राष्ट्रहरुका चलखेल आ–आफ्ना होलान् तर देश ती शक्ति राष्ट्रहरुले यो वा त्यो नामबाट फालेका बहुअर्थी लाग्ने खालका कुराहरुमा फस्नु र अलमलिनुहुन्न भन्ने जनजनको मतलाई सबै दलहरुले कदर गर्नै पर्दछ । देशलाई प्रत्यक्ष वा सरोकार रहन जाने कुनै पनि कुराहरु संसद्मा पेस गर्नुपूर्व नै कम्तीमा त्यसको नेपाली प्रति जो सरल भाषामा उल्था गरिएको होस् र त्यसलाई दुवै देशको सरकारले प्रमाणितसमेत गरेको नेपालीप्रति सार्वजनिक गरिनुपर्दछ । उल्लिखित कुराहरुले कतैबाट पनि नेपालको अहित हुने देखिएको छ भने त्यसलाई संसद्ले पारित त के, संसद्मा प्रवेश नै दिइनुहुन्न भन्ने जनजनको अभिमत त्यति बेलादेखि नै रहिआएको छ ।हालै प्रधानमन्त्रीले नेपाल उत्पीडित जातीय मुक्ति समाजको बृहत् राष्ट्रिय भेलामा गडगडाहट ताली र हाँसोको फोहोराबीच सरकारले दुई वर्षअगाडि नै पेस गरेको एमसीसीको प्रस्तावलाई सभामुखले छलफलमा प्रवेश नगराएको आरोप लगाउँदै आफ्नै राजनीतिक अंशियारदेखि लिएर अन्य राजनीतिक दलका नेता तथा तिनीहरुका गतिविधिहरुलाई रंग फरक भए पनि उनीहरुले गर्ने कार्य एउटै हो भन्ने प्रसंग जोड्दै उपस्थित सबैलाई हँसाउन भ्याए । कुनै भाले काले हुन्छ त कुनै भाले रातो हुन्छ ।

अनि कुनै भाले छिर्केर्मिके हुन्छ तर सबै भालेले गर्ने काम एउटै हो भन्दै अन्य दलहरुप्रति तीतो र आक्रोश पोख्न पुगे ।
यहाँनिर प्रधानमन्त्रीको ध्यान पुगेर पनि अन्जानजस्तो देखिनुको विषय के हो भने, जसरी भालेको रंग फरक–फरक भए पनि काम गराइ एउटै हो । त्यसै गरी छिमेकी र शक्तिशाली राष्ट्रहरुको रंग फरक–फरक भए पनि उनीहरुको काम गराइ एउटै हो । अलि टाढाको अमेरिका होस् या छिमेकीहरु चीन होस् या भारत, उनीहरुका नेपालप्रति आ–आफ्नै रणनीति छन् । त्यही रणनीतिअनुसार नेपाललाई आफ्नो वशमा राख्ने प्रयास गरिआएका छन् । यसबारे हामी जति चनाखो र रणनीतिकरुपले अगाडि बढ्न सक्छौं त्यति उनीहरुको दुश्चक्रबाट देशलाई जोगाउन सक्छौं भन्ने कुरा प्रधानमन्त्रीले बुझेका छैनन् भन्ने कुरालाई जनजनले विश्वास गर्दैनन् ।जनताको यत्रो अभिमतमार्पmत शासन हाँकेको सरकारबाट नागरिकहरुलाई विनाझन्झट गुणस्तर सेवा प्रवाह हुनुपर्ने हो । स्थानीय निकाय निर्वाचन भएको चार वर्ष बितिसक्दा यस किसिमका कामको संकेतसम्म देख्न पाइएको छैन । पालिकाहरुका वडा–वडाहरुमा नागरिक बडापत्रको सूचना पाटी टाँगेर मात्रै सेवाग्राहीले उत्तम सेवा प्राप्त गर्न सक्दैनन् । नागरिक बडापत्रमा उल्लेख भएका कुराहरु अक्षरशः पालना भएका छन् भन्ने कुराहरु सेवाग्राहीको मुखबाट आउन सक्यो भने मात्र सरकारको उपस्थिति रहेको अनुभूति हुन जान्छ । अन्यथा ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उखानको निरन्तरताको मार हाम्रो देशले भोगिरहनुपर्ने हुन्छ ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्