गुटहरूलाई शुभकामना !



गुटको राजनीति गरिरहेका प्रधानमन्त्री ओली र एमालेका वरिष्ठ नेता माधव नेपालबीच बैठक भएपछि एमाले वृत्तमा सकारात्मक सन्देश पुगेको छ । कर्णालीको सरकार जोगाउन फ्लोर क्रस गरेपछि पार्टीभित्रै घात गरेको आरोप खेपिरहेका माधव नेपाल–झलनाथ खनाल पक्षका नेतामा पुनः एकता र उपचारको सम्भावना सञ्चार भएको छ ।

गुटगत राजनीतिका कारण एमाले पार्टी त कमजोर भएको छ नै, सिंगो वामपन्थी राजनीतिमै घातक असर परिरहेका बेला ओली र नेपालबीच भेटघाट र वार्ता आवश्यक थियो । दुई पक्षबीच मिलन नै भए पनि आम जनतामा वामपन्थीप्रति पूर्ववत विश्वास सिर्जना हुने सम्भावना भने अब देखिँदैन, पछिल्ला केही महिनायता दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकार आज ढल्छ कि भोलि ढल्छको अवस्थामा पुगेका कारण अत्यधिक बहुमत नेताहरुका लागि ‘कुकुरलाई घिउ’ भएको विश्लेषण राजनीतिज्ञहरुले गर्दै आएका छन् ।आफूसहित २७ जना नेतालाई सांसद पदबाट समेत हटाइदिने चेतावनीसहितको पत्र प्राप्त भएपछि सशंकित भएका नेपाल–खनाल समूहका केही नेता एकताकै पक्षमा उभिनु स्वाभाविक पनि हो । बुधबार साँझको बैठकबाट उत्साहित देखिएका ओली र माधव नेपाल बिहीबार फेरि वार्तामा जुटेपछि पार्टीभित्र सहमित हुनेमा आशा जागेको देखिन्छ । ६ महिनासम्म पार्टीको सदस्यसमेत नरहने गरी कारबाही भोगिरहेका पूर्वप्रधानमन्त्रीहरु नेपाल र झलनाथ खनाल तथा प्रभावशाली नेताहरु भीम रावल, सुरेन्द्र पाण्डेलगायत पार्टीलाई एकताबद्ध गर्नमै जुटेका छन् । एमालेभित्र दुई गुटका नेताबीच वार्तापछि अदालतले फुटाइदिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत वामपन्थी पार्टी एकजुट हुनुपर्ने मत राख्न थाल्नुभएको छ ।

तीन महिनायता सडकमा आन्दोलन गरी आफ्नै अध्यक्ष एवं प्रधानमन्त्रीलाई पार्टी र सरकारबाट हटाउने तयारी गरेका नेपाल–खनाल पक्षका नेताले पार्टीभित्रै अन्तर संघर्ष गर्नुपर्ने बताउँदै आउनुभएको छ । एमालेभित्र असन्तुष्टि बढेपछि नेपाल– खनाल समूहले सबै भ्रातृ संगठन जिल्लास्तरमा विस्तार गरेको छ । पार्टीको विधि प्रक्रिया र आचार संहिताको बर्खिलाफ संगठन बनाउँदै हिँडेको आरोप लगाउँदै ओलीले कारबाही गर्नुभएको थियो । आफ्नै सरकारविरुद्ध अविश्वासको प्रस्ताब ल्याउने तयारी गरेको सुइँको पाएपछि पछिल्लो पटक संसद् विघटन गरेका प्रधानमन्त्री ओलीले आफ्ना पार्टीका नेता सच्चिएर आए कारबाही फिर्ता गर्ने जनाउ दिनुभएको छ । त्यसलगत्तै युवा नेता योगेश भट्टराईले वार्ताको मध्यस्थता गरी पार्टी एकताको पक्षमा लाग्नुभएको थियो । बुधबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँंग एक्लाएक्लै वार्ता गरी आफ्ना गुटका नेता नेपालसमक्ष वार्ताको सन्देश सुनाएपछि बुधबार साँझ दुई अध्यक्षबीच वार्ता भएको थियो ।

यतिखेर दुई नेताको वार्तापछि दुई गुटका नेता र कार्यकर्ताबीच सकारात्मक सन्देश पुगेको छ । फेरि पार्टी एकढिक्का भएर अघि बढ्ने आँट बढेको छ । दुई गुट एक भएपछि पार्टीभित्रको अन्तरद्वन्द्व समाप्त हुने अपेक्षा गरिएको छ । कुनै पनि किसिमले एमालेभित्रको विभाजन समाप्त भयो भने वामपन्थीहरु जटिल परिस्थितिमा पनि एकीकृत हुन सक्छन् भन्ने सन्देश आम नागरिकमा जाने र पुनः मत पाउने सम्भावना पनि बढ्नेछ । राजनीतिक अस्थिरताबाट मुलुक सुरक्षित हुनेछ । गुटहरुलाई एकताको शुभकामना !

प्रतिक्रिया दिनुहोस्