कुलपतिबाट विद्यालयलाई पुस्तक प्रदान


तेह्रथुम ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आफूले पढेको र केही समय पढाएको तेह्रथुमको आठराई स्थित पोखरी माविलाई अति महत्त्वपूर्ण ३१० स्थान पुस्तक प्रदान गर्नुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा स्थानीय साहित्यिक सङ्घसंस्थाहरूसँगको सहकार्यमा पूर्वी नेपालका इलाम र पाँचथरमा आयोजित विभिन्न सङ्गोष्ठीहरू सम्पन्न गरी सङ्क्रान्ति बजारको कार्यक्रममा जाने क्रममा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रदेश नं एकका माननीय सांसद तेजमान कन्दङवा र विद्यालयका प्रधानाध्यापक देवीप्रसाद सङ्ग्रौलालाई संयुक्त रूपमा उक्त पुस्तक हस्तान्तरण गर्नुभएको हो ।प्राज्ञ परिषद् सदस्यद्वय प्रा.डा. हेमनाथ पौडेल र डा. देवी नेपाल तथा प्राज्ञ सभा सदस्य नन्दु उप्रेतीको समेत उपस्थिति रहेको उक्त पुस्तक हस्तान्तरण कार्यक्रममा सदस्य सचिव उपाध्यायले नेपालको प्राज्ञिक, शैक्षिक, राजनीतिक, प्रशासनिक आदि सबै क्षेत्रमा नेतृत्व दिन सक्ने जनशक्ति उत्पादन गर्ने पोखरी माविको ऐतिहासिक योगदानको सम्मान गर्दै यस क्षेत्रमा पठन संस्कृतिको थप विकासका लागि कुलपतिज्यूले निजी स्रोतबाट उक्त पुस्तक प्रदान गर्नुभएको जानकारी दिनुभयो ।

उपाध्यायले कुलपतिज्यूले विद्यालयलाई पुस्तकहरू सहयोग गर्ने क्रममा पहिलो रचणमा यी पुस्तकहरू हामीमार्फत पठाउनुभएको र आगामी दिनमा पनि यस प्रकारको निरन्तर सहयोग उहाँबाट भइरहने र यी पुस्तकहरू राख्नका लागि आवश्यक पर्ने दराजका लागि आवश्यक शुल्कसमेत कुलपतिज्यूले नै प्रदान गर्नुहुने कुराको समेत जानकारी दिनुभयो ।उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माननीय तेजमान कन्दङवाले यस विद्यालयमा अध्ययन वा अध्यापन गरेका पूर्व विद्यार्थी वा शिक्षकहरू र देशको विभिन्न तहमा पुगेका आठराईवासीहरूले कुलपतिज्यूले जस्तै आफ्नो विद्यालय र गाउँलाई सम्झिदिने हो भने ऐतिहासिक महत्त्व बोकेको आठराई क्षेत्र अझै माथि उठ्ने विचार व्यक्त गर्नुभयो भने विद्यालयका प्रधानाध्यापक देवीप्रसाद सङ्ग्रौलाले प्रतिष्ठानको प्रतिनिधि मण्डल र कुलपति उप्रेतीलाई विद्यालयका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त अवसरमा विद्यालयका सम्पूर्ण शिक्षक तथा केही विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो ।