एकहप्ते लकडाउन शुरू भएपछि नाकामा भीड


कुमार श्रेष्ठ, बाँके । 

नेपालगन्जमा एकहप्ते लकडाउन शुरू भएको छ । कोरोना संक्रमण दर ह्वात्तै बढेपछि त्यसको चेन ब्रेक गर्न लकडाउन गरिएको हो । लकडाउनको पहिलो दिन बिहीबार भेरी अस्पतालमा मात्रै २ सय ४ जना संक्रमित थपिए । भारतबाट आएका आठ जनामा कोरोना पुष्टि भयो ।नेपालगन्जमा कोरोना संक्रमण बढ्दो अबस्थामा रहेको छ । यो बेलामा मानिसको मुभमेन्टलाई नियन्त्रण गर्न सकेपछि कोरोनाको चेन ब्रेक हुने निष्कर्ष निकालिएको छ । लकडाउनलाई स्थानीयले पालना गरेको देखिन्छ । पहिलो दिन नेपालगन्जको सडक सुनसानजस्तै थियो, बजार बन्द भयो । मानिसको चहलपहल कम नै देखिन्थ्यो ।

नेपालगन्ज नाकामा भने बिहीबार भीड नै लाग्यो । भारतबाट घर फर्किएका नेपालीहरुको त्यो भीडलाई व्यवस्थित गर्न जिल्लाका सुरक्षा अधिकारीहरु नाकामै पुगेका थिए । भारतको दिल्ली, गुजरात, मुम्बईलगायतका शहरमा कोरोना महामारीका रूपमा फैलिएपछि त्यस क्षेत्रमा रहेका नेपालीहरु धमाधम घर फर्किरहेका छन् ।नेपालगन्ज नाकामा एकातिर भारतबाट आएकालाई व्यवस्थित तरिकाले घरतर्फ पठाउनु छ भने अर्कोतिर जाँच गर्नु पर्नेछ । नाकामा बिहीबार मात्रै आठ जनामा कोरोना पुष्टि भयो । भारतका विभिन्न शहरबाट आएका दैलेख, बर्दिया, कञ्चनपुर र दाङका आठ जनामा कोरोना पुष्टि भएको हो ।नेपालगन्ज नाकामा बिहीबार २५ जना शंकास्पदलाई जाँच गरिएको थियो । त्यसमा दैलेखका तीन जना, बर्दिया र कञ्चनपुरका २-२ जना र दाङका एक जनालाई कोरोना पुष्टि भएको हो । आठ जना कोरोना देखिएका मध्येमा ६ जना गुजरात, राजिस्थान र गोवाबाट एक-एक जना आएका थिए ।

चैत ११ गतेपछि नेपालगन्ज नाकामा हेल्थ डेस्क राखिएको छ । त्यसयता अहिलेसम्म ३५ जनालाई कोरोना पुष्टि भइसकेको छ । भारतबाट आउँदा कोरोना पुष्टि भएका व्यक्तिलाई शुरुमा सम्बन्धित जिल्लामा पठाउने गरे पनि अहिले नेपालगन्जमै राख्ने गरिएको छ ।
यति बेला भारतबाट आउने नेपालीको चाप बढेको छ । नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीले दैनिक ५ हजार आसपासमा नेपालीहरु घर फर्किरहेको बताउनुभयो ।भारतबाट आएका व्यक्तिलाई गाडी मगाएर नाकाबाटै सम्बन्धित जिल्लामा पठाइएको छ । कतिपयलाई नगरबसले बसपार्कसम्म पु-याएर सम्बन्धित जिल्ला पठाइएको थियो ।यसै बीच, नेपालगन्जमा बिहीबार विहानै २ सय ४ जना संक्रमित थपिएका छन् ।भेरी अस्पताल, नेपालगन्जले ३ सय ५० जनाको पीसीआर जाँच गर्दा २ सय ४ जनालाई कोरोना पुष्टि भएको हो ।

यता नेपालगन्ज मेडिकल कलेजमा नेपालगन्ज–१७ का ८६ वर्षीया महिलाको मृत्यु भएको छ । वैशाख ७ गते पीसीआर जाँच गरिएकी महिलाको ८ गते पोजिटिभ रिपोर्ट आएको थियो । उनको बिहीबार विहान २.१५ बजे मृत्यु भएको छ ।नेपालगन्ज मेडिकल कलेजमा नेपालगञ्ज–१ की ६५ महिलाको पनि मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि वैशाख ७ गते मेडिकल कलेजमा पुगेकी महिलालाई भोलिपल्ट कोरोना पुष्टि भएको थियो । उनको बिहीबार मृत्यु भयो । बाँकेमा अहिलेसम्म कोरोनाबाट ६८ जनाको मृत्यु भइसकेको छ ।