ठूलो संख्यामा गिद्ध मरेपछि संरक्षणकर्मी चिन्तित



घनश्याम बगाले, नवलपरासी । 

पश्चिम नवलपरासीको सदरमुकाम रामग्रामस्थित जितपुरमा ठूलो संख्यामा लोपोन्मुख पंक्षी गिद्ध मरेका छन् ।रामग्राम नगरपालिका ४ पाल्ही क्याम्पसनजिक ४० वटा र नजिकैको खेतमा छरिएर रहेको २७ गरी ६७ वटा गिद्ध मरेकोे पशु विकास अधिकृत प्रवेज आलमले जानकारी दिनुभएको छ ।

उहाँले स्थानीय खेतमा फालिएको सिनो खान आएका गिद्धहरू मरेपछि मृत्युका कारण पत्ता लगाउन पंक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरमा नमुना परीक्षणका लागि पठाइएको जानकारी दिनुभयो ।गिद्ध मरेको स्थान नजिकै केही कुकुरहरू पनि मरेको भेटिएको स्थानीय प्रत्यक्षदर्शीले बताए । दुईवटा कुकुरको सिनोको भने अस्थिपञ्जर मात्रै बाँकी रहेको पनि बताइएको छ । घटना स्थलमा पुगेका नगरपालिकाका पशु विकास प्राविधिक खेम पटेलले यति धेरै गिद्ध कसरी म-यो भनेर यतिकै भन्न नसकिने भन्दै प्रयोगशालाबाट परीक्षणको नतिजा आएपछि मात्र गिद्धको मृत्युका कारण पत्ता लाग्ने टिप्पणी गर्नुभयो ।पूर्वी नवलपरासीस्थित जटायु संरक्षण व्यवस्थापन समितिका संयोजक डिबी चौधरीले यती ठूलो संख्यामा गिद्धहरू मरेको खबरले आफू स्तब्ध भएको बताउनुभयो । उहाँले मरेका गिद्धहरूमध्ये ३३ डंगर, ३१ हिमाली, २ राज गिद्ध र १ सानो खैरो रहेका जानकारी दिनुभयो ।

दूर्लभ डंगर गिद्ध विश्वकै ४३ अति संकटापन्न जातका पंक्षीमध्ये एक भएको चौधरीले बताउनुभयो ।सो क्षेत्रमा करिव ३ दिन अघिदेखि गिद्ध मर्न थालेको स्थानीय वासिन्दाले बताएको छ ।नेपाल पक्षी संरक्षण संघले ६७ गिद्ध मरिसकेको भए पनि एउटा हिमाली गिद्ध नाजुक अवस्थामा फेला परेको र उक्त गिद्धको उपचार भइरहेको जनाएको छ ।ठूलो संख्यामा गिद्ध मरेको जानकारी पाएलगतै नेपाल पक्षी संरक्षण संघ र नेपालकै पहिलो जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति कावासोतीको टोली बुधबार रामग्राम पुगेको थियो ।प्रकृतिका कुचिकार भनेर चिनिने गिद्धको नेपालमा करिव ९ प्रजाति छन् । राज्यलगायत विभिन्न संघ–संस्थाहरू गिद्ध संरक्षणका लागि लागिपरेका छन् ।गिद्ध संरक्षणकर्मीहरूका अनुसार मानिसले गाईबस्तुको उपचारका क्रममा डाइको फ्लेनिक औषधि प्रयोग गर्ने गरेकोले ती जनारवरको सिनो खाँदा गिद्धको मृत्यु हुने गरेको बताउँछन् ।

गाईबस्तुको दुःखाइ कम गर्न प्रयोग गरिने यस औषधिको प्रयोगमा हाल सरकारले बन्देज लगाएको छ ।यस्तै, कुकुर, विरालोलगायतका जनावरलाई बिष दिएर मार्ने र मरेका ती जनावरको उचित व्यवस्थापन नगदा गिद्धहरू ती सिनो खाएर मर्ने गरेका पनि भेटिएका छन् ।नेपाल पक्षी संरक्षण संघले गिद्ध संरक्षणका लागि देशैभर कार्यक्रमहरू गरिरहेको र देशका ७ विभिन्न स्थानमा गिद्ध संरक्षणका लागि जटायु रेस्टुरेन्ट सञ्चालनमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्