फोहोरले पर्यटकीय नगरी अमलेखगन्ज कुरूप बन्दै


गोकुल घोरसाइने, बारा । 

बाराको मुख्य पर्यटकीय क्षेत्रका रूपमा रहेको जितपुरसिमरा उपमहानगरपालिकास्थित अमलेखगन्ज फोहोरमैलाका कारण दिन प्रतिदिन कुरूप बन्दै गएको छ । नेपाल आयल निगमको अमलेखगन्ज डिपोअगाडि पूर्व–पश्चिम लोकमार्गमा जथाभावी फ्याकिएको फोहोरमैलाले अमलेखगन्जलाई कुरूप पारेको हो ।

आयल निगमबाट इन्धन ढुवानी गर्ने ट्यांकर र अन्य मालवाहक तथा यात्रुवाहक सवारीसाधनको अव्यवस्थित पार्किङका कारण उक्त क्षेत्रमा फोहोरमैला बढेको छ । फोहोर व्यवस्थापनमा सरोकारवाला निकायको ध्यान नपुग्दा अमलेखगन्ज क्षेत्र कुरूप बनेको लायन्स क्लब अफ युथ सिमराका अध्यक्ष हंकल्पित न्यौपानेले बताउनुभयो । राजमार्ग क्षेत्रमा बढेको फोहोरका कारण आन्तरिक र बाह्य पर्यटकको आवागमनमासमेत प्रभाव पार्ने उहाँको भनाइ छ । सडकमा उखुका खोस्टा, नरिवलका जट्टा, पानीका खाली बोतल, चाउचाउ, बिस्कुटका खोललगायतका फोहोरको उचित ब्यवस्थापन नहुँदा सडक कुरूप बनेको छ । पर्सा वन्यजन्तु आरक्षको बफर जोन क्षेत्रभित्र पर्ने अमलेखगन्जमा पछिल्ला दिनहरुमा आन्तरिक र बाह्य पर्यटक आवागमन बढदै गएको छ । घना जंगलभित्र चुरे डाँडाको फेदीमा रहेको अमलेखगन्ज, वीरगन्जलगायत भारतको रक्सौल, मोतिहारी र पटनाकासमेत पर्यटक भित्रिने गरेका छन् । पर्यटकको आवागमन बढेसँग यस क्षेत्रमा सुविधासम्पन्न होटलहरु खुल्ने क्रम पनि बढ्दो छ ।

देशका विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकसँगै दैनिक हजारौं मानिस अमलेखगन्जको सडक हुँदै राजधानी काठमाडौं र देशका विभिन्न स्थानमा जाने गर्दछन् । तर नेपाल सरकार स्वामित्वको आयल निगम, वन्यजन्तु आरक्ष, स्थानीय संघ–संस्था र जनप्रतिनिधिको पनि यस विषयमा ध्यान नपुग्नु दुःखद् भएको लायन न्यौपाले बताउनुभयो ।
सडकमा पसल थापेर बसेका व्यापारीका कारण पनि यस क्षेत्रमा फोहोर थप बढेको उहाँ बताउनुहुन्छ । जुस तथा खाजाको ब्यापार गर्ने एक दर्जन व्यापारीले वर्षौंदेखि राजमार्ग आसपासमा बसेर व्यापारसँगै फोहोर उत्सर्जन गर्दै आएका छन् । यस क्षेत्रमा दिनरात व्यापार गर्ने खाजा तथा जुस व्यापारीले कुनै किसिमको कर तिर्ने गरेका छैनन् । राजमार्ग क्षेत्रमा जुसका व्यापार गर्दै आएका भारतीय नागरिक श्याम कुमारका अनुसार कहींकतै दर्ता या कर तिर्ने गरिएको छैन । यहाँबाट निस्कने फोहोर अरूले जस्तै आफूले पनि सडकमै फाल्ने गरेको उहाँ बताउनुहुन्छ ।सडकको फोहोरमैला व्यवस्थापन हुन नसक्दा पर्यटकसँग स्थानीयको स्वास्थ्य र वन्यजन्तुमा समेत नकरात्मक प्रभाव पर्ने अर्का स्थानीय भरतबहादुर घले बताउनुहभयो ।

फोहोरका कारण वन्यजन्तुमा समेत असर पर्ने गरेको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत रमेश यादवले बताउनुभयो । प्लास्टिकजन्य फोहोरका कारण वन्यजन्तुलाई असर गर्ने हुँदा उक्त क्षेत्रको चाँडै सरसफाइमा गरिने उहाँले बताउनुभयो ।यस्तै, नेपाल आयल निगमको अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले फोहोरले अमलेखगन्ज आसपासको सौंन्दर्यमा असर पारेको भए पनि व्यवस्थापनमा समस्या भइरहेको बताउनुभयो । ‘पार्किङ क्षेत्रमा व्यापार हुँदै आएको छ’, उहाँले भन्नुभयो– ‘राजमार्गमा हँुदै आएको व्यापार बन्द गर्ने कि नगर्ने भन्नेमा यहाँका स्थानीय र निकुञ्जसँग सल्लाह गरेर तत्काल फोहर व्यवस्थापन गर्छाैं ।’