जनमतको वार्षिकोत्सवमा २६ सम्मानित


नेपाल समाचारपत्र, काभ्रे ।

 अनवरत रूपमा साहित्यिक यात्रामा तल्लीन जनमत वाङ्मय प्रतिष्ठान, नेपालको ३७औं वार्षिकोत्सव कार्यक्रम एक समारोहका बीच शनिबार बनेपामा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठाका कुलपति गंगाप्रसाद उप्रेतीले जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको नाम नै साहित्यको पहिचान हो भन्नुभयो । उहाँले मोहन दुवालसँगको देश विदेशको यात्रामा हिँड्दा उहाँलाई बाटोमै रोकेरे सम्मान गरेको धेरैपटक देखेको बताउनुभयो ।

उहाँले मोहन दुवालको लगनशीलता र निरन्तरताले बचाइराखेको साहित्यको धरोहरलाई सरकारी क्षेत्रबाट नभई व्यक्तिगत रूपमा पनि अनुशरण गर्नुपर्ने बताउनुभयो । वार्षिकोत्सव समारोहमा स्रष्टा सम्मान, कृति विमोचनलगायतका विविध कार्यक्रम गरिएको थियो । उक्त समारोहमा विस २०७५ र २०७६ का लागि विभिन्न क्षेत्रका चिकित्सक, न्यायाधीश, कलाकार, लेखकसहित २६ जना स्रष्टालाई सम्मान गरिएको थियो ।समारोहमा ‘दीपा–जनमत सम्मान’बाट रविकिरण निर्जीव र ठाकुर बेलवासे, ‘गणेश–खिलकुमारी दुवाल जनमत सम्मान’बाट राजा शाक्य र सुरेशकिरण मानन्धर, हृदयचन्द्र वरिष्ठ साधक सम्मानबाट शेषराज शिवाकोटी र हरिराम जोशी, ‘जनमत–जनक प्रधान सेवा सम्मान’बाट टंक उप्रेती र नवराज पहाडी, ‘केवलपुरे–जनमत सम्मान’बाट भागीरथी श्रेष्ठ र प्रा.डा. उषा ठाकुर, ‘कमला सैंजू–जनमत सम्मान’बाट रीता ताम्राकार र सुलोचना मानन्धर धिताल, ‘जनमत–महेन्द्रलाल कलाकार सम्मान’बाट ठाकुरप्रसाद मैनाली एवम् सरोजा खडकी, ‘जनमत–राजभाई सहयात्रा सम्मान’बाट सोमकाजी शाक्य र रीता पहारी न्यौपाने सम्मानित हुनुभएको थियो ।

त्यसैगरी, ‘भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान’बाट लक्ष्मी भट्टराई र सावित्री श्रेष्ठ, ‘जनमत केदार–सुदर्शना बालसाहित्य सम्मान’बाट यशु श्रेष्ठ र छायादत्त न्यौपाने बगर, ‘जनमत–सिचिं धर्म संस्कृति सम्मान’बाट मुकुन्दप्रसाद उपाध्याय र प्रा.डा. रमेशचन्द्र अधिकारी, ‘जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान’बाट रामबहादुर पहाडी एवम् डा. गोविन्दराज भट्टराई, ‘जनमत दीपक वैद्य सम्मान’बाट काठमाडौं विश्व विद्यालय, मेडिकल साइन्सका डीन तथा मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र कोजु र प्रसूति विशेषज्ञ डा. सुमनराज ताम्राकारलाई प्रमुख अतिथि उप्रेतीलगायतका अतिथिहरूले पदक, सम्मानपत्र, दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।समारोहमा जनमतले छिट्टै अनलाइन सेवा शुरु गर्ने र अनलाइनको नेतृत्व पत्रकार तथा साहित्यकार सिर्जना दुवालले गर्ने जानकारी गराइएको थियो । दुवाल मोहन दुवालको जेष्ठ सुपुत्री हुनुहुन्छ । उहाँ लामो समय कान्तिपुर पब्लिकेसन्समा आबद्ध हुनुहुन्थ्यो ।

जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष दुवालको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) विशिष्ट अतिथि एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य विशिष्ट अतिथि थिए भने अतिथिद्वयमा वरिष्ठ राजनीतिकर्मी एवम् लेखक दीनानाथ शर्मा तथा वरिष्ठ कथाकार हरिहर खनाल समेतको उपस्थिति रहेको थियो ।वार्षिकोत्सव समारोहमा मोहन दुवालको ‘अक्षरमा रचनाहरू’ (लेख संग्रह), हरिप्रसाद चौलागाईंको ‘चक्रव्युह’ (बालन संग्रह), रामसुन्दर देउजाको ‘चाकाचुली’ (बाल कविता संग्रह) एवम् शारदा प्रसाद पहाडी र गोविन्दप्रसाद शिवाकोटीको ‘दुई आत्माका छालहरू’ (गजल संग्रह) कृतिको विमोचन गरिएको थियो ।