पाहुना टोली अफ्रिकन रुट्स फाइनलमा


विजय नेपाली, पोखरा । 

पाहुना टोली अफ्रिकन रूट्स एसोएिसन (एआरए) क्यामरुन पोखरामा जारी १९ औं संस्करणको आहा–रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले हराउँदै क्यामरुन फाइनलमा पुगेको हो । खेल सुरू भएको दोस्रो मिनेटमा नै क्यामरुनी टोलीले गोल गर्दै अग्रता लियो । जुन पुलिसका लागि दुर्भाग्यपूर्ण बन्न पुग्यो । पुलिसका खेलाडीबीच तालमेल बन्न नसक्दा गोल खान पुग्यो । क्यामरुनी टिमका लागि बास्सेकले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा थप गरिएको अतिरिक्त समयमा पुलिसले गोल खान पुग्यो । खेल सकिन केहि सेकेन्ड मात्र बाँकि रहँदा क्यामरुनी टोलीका मोउस्साले उत्कृष्ट गोल गर्दै २–० को जित दिलाए । रिमको पासमा मोउस्साले गोल गरेका थिए ।

हिजोको खेलमा पूर्णरूपले क्यामरुनी टोलीको नियन्त्रणमा रह्यो । पुलिसलाई कुनै पनि गोलको अवसर दिएनन् । सातौं मिनेटमा पुलिसका तेज तामाङको प्रहार बाहिरिँदा बराबरी गोल गर्नबाट चुक्यो । खेलको नवौं मिनेटमा आर. एमबाकोपको प्रहार पुलिसका गोलरक्षक सञ्जित श्रेष्ठले बचाउ गरे । पुलिसका सन्तोष हेम्रोनले बल अगाडि बढाउन छाडेर आफ्नै पोस्टतर्फ अघि बढाउँदा टि.एसोउले ट्रयाकल गर्दै बल खोसे सोहि बललाई एमबाकोपले प्रहार गरेका थिए ।१३औं मिनेटमा मौस्साको प्रहारलाई पुलिसका गोलरक्षक सन्जितले पन्च गर्दा रिवाउन्ड बललाई एजीमीले गोल गर्न सकेनन् । २१आंै मिनेटमा वान भर्सेस वानको स्थितिमा क्यामरुनी टोलीका बास्सेकले गोल गर्न सकेनन् । उनको प्रहार बाहिरीयो । उनले पुलिसका तेज तामाङलाई छलाउँदै उत्कृष्ट अवसर निकालेका थिए । खेलभर पुलिसले बल होल्डसमेत राम्रोसँग गर्न सकेन ।

पुलिसले दोस्रो हाफमा दुई मात्र अवसर सिर्जना गर्न सक्यो । खेलको ६०औं मिनेटमा गोल गर्ने राम्रो अवसर खेर फाल्यो । जुमानु राईको पासमा सुमन लामाको प्रहार प्रभावकारी रहेन । खेलको ६६औ मिनेटमा पोउमनीको बाइसी फस्टबार नजिकैबाट बाहिरिन पुग्यो । ७३औं मिनेटमा मोउस्साको प्रहारलाई सञ्जितले विफल पारिदिए । ८३औं मिनेटमा पुलिसले अर्को अवसर खेर फाल्यो । पेनाल्टी एरियाभन्दा केही बाहिरबाट जुमानु राईको फ्रिकिकमा सुमन लामाले गोल गर्न सकेनन् ।जितपश्चात् क्यामरुनी टोलीका प्रशिक्षक सेन्गे वोरिसले नेपालमा खेल्न पाउँदा निकै उत्साहित भएको प्रतिक्रिया दिए । ‘हामीले निकै राम्रो खेल खेल्यौ जसको फल भनेकै जित मात्र थियो’ उनले भने, ‘हामी फाइनलमा रणनीति परिवर्तन गरेर खेल्ने छौं ।’

पुलिसका प्रशिक्षक अनन्त राज थापाले खेलको सुरूवातमा गोल खानु दुर्भाग्य भएको प्रतिक्रिया दिए । उनले आक्रमण गर्ने प्रयास गरे पनि डिफेन्स बलियो भएका कारण निकै गाह्रो भएको बताए ।क्यामरुन र संकटा क्लबले शनिबार उपाधिका लागि खेल्नेछन् । क्यामरुन टिम आहा–रारामा पहिलो पटक सहभागिता जनाएको टोली हो ।पोखरा मात्र नभई उक्त टोली नेपालका विभिन्न गोल्डकपमा समेत सहभागिता जनाइसकेको छ । उक्त टोली बाग्मती गोल्डकपको फाइनलमा थ्रिस्टारसँग ३–२ ले हार व्यहोर्दै उपविजेतामा सीमित रह्यो । क्यामरुनी टोली सेन्ट्रल कलेज ‘स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता’ को च्याम्पियन समेत हो । यस्तै, आहा रारामा लिग विजेता मछिन्द्र क्लबलाई २–१ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । उता संकटाले भने क्वार्टरफाइनलमा मनाङ मस्र्याङदी क्लब र सेमिफाइनलमा एपीएफलाई २–० ले हराउँदै यसअघि नै फाइनल प्रवेश गरेको थियो ।