बढ्यो कोरोना ग्राफ


नेपाल समाचारपत्र, बाँके । 

बाँकेमा कोरोना संक्रमित बढ्दै गएको छ । बिहीबार मात्रै १३ जना थपिएका छन् ।भारतबाट आएका र नेपालगन्जको भेरी अस्पतालमा जाँच गरिएका १३ जनामा कोरोना पुष्टि भएको हो । भारतको गुजरातबाट आएका बाँके बैजनाथ गाउँपालिकाका २१ वर्षीय युवालाई कोरोना देखिएको छ ।

नेपालगन्ज नाकामा राखिएको हेल्थ डेस्कले मुम्बई, दिल्ली, गुजरातलगायतका शहरबाट आएका नेपालीलाई विशेष निगरानी गर्ने गर्दछ । भारतबाट करिव १८ वटा शहरमा फेरि कोरोना संक्रमण देखिएको छ । ती शहरबाट आएका व्यक्तिलाई नेपालगन्ज नाकामा विशेष निगरानी गर्ने गरिन्छ ।खेतीको सिजन शुरु हुन थालेकाले भारतमा मौसमी कामका लागि गएका नेपालीहरु फर्किन थालेका छन् । केही शहरबाट कोरोनाको डरले नेपाली घर फर्किएका छन् । नेपालीको ठूलो संख्या जाने कालापहाड, सिमला, प्रयागलगायतका ठाउँमा कोरोनाको कहर नदेखिएको त्यहाँबाट फर्किएका नेपालीहरु बताउँछन् । नेपालगन्ज नाकाबाट यति बेला पाँच सय बढी नेपाली दैनिक घर फर्किरहेका छन् ।
यता, नेपालगन्जको भेरी अस्पतालमा दैनिकजसो नै कोरोनाका बिरामी देखिन थालेको छ ।

अस्पतालका अनुसार, पछिल्लो २४ घण्टामा ३५ जनाको परीक्षण गरिएकोमा १२ जनामा कोरोना पुष्टि भएको छ । भेरीले जाँच गरेकोमा अहिलेसम्म ५ हजार ५ सय ७५ जनालाई कोरोना पुष्टि भइसकेको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले चैत महिनामा मात्रै ९६ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । ९६ जनामा ५३ जना महिला रहेका छन् । वलीका अनुसार, भारतबाट फर्किएका ७ जनामा कोरोना पुष्टि भएको छ । त्यसमा दैलेखका तीन, बर्दियाका दुई, बाँके र रोल्पाका एक-एक जना रहेका छन् ।भारतबाट फर्किएकालाई नाकामा र अस्पताल आएका लक्षण चिह्न मिल्दो देखिएकालाई बिरामीलाई कोरोना जाँच गर्ने गरिएको छ । बाँकेमा पहिलाको जस्तो ठाउँ ठाउँमा राखेर कोरोना परीक्षण गरिएको छैन ।

बाँकेमा कोरोना बढ्न थालेपछि सबै पालिकामा क्वारेन्टाइन र आइसोलेसन केन्द्र तयारी अवस्थामा राख्न भनिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले यस्तो निर्णय गरेर पालिकाहरुलाई अनुरोध गरेको छ । नाकामा देखिएका बिरामीलाई सम्बन्धित जिल्लाबाट एम्बुलेन्स बोलाएर पठाउने गरिएको छ । लक्षण चिह्न देखिएका बिरामीलाई यही उपचार गर्ने तयारी गरिएको छ ।