वैज्ञानिकलाई विज्ञान प्रविधिको विकासमा लाग्न प्रधानमन्त्रीको आग्रह


काठमाडौं, (नेस) ।

प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका (नास्ट) का कुलपति केपी शर्मा ओलीले वैज्ञानिकलाई यथास्थितिमै सन्तोष गर्न छोडेर उल्लेखनीय फड्को मार्ने गरी आविष्कार र अनुसन्धानतर्फ लाग्न अपिल गर्नुभएको छ ।

सोमबार सम्पन्न नास्टको ४४औं प्राज्ञसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाई समेत ध्यानमा राख्दै विज्ञान प्रविधिमा विकास गरिनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले अहिलेसम्म हाम्रो गति उत्साहहीन, संकल्पहीन, गन्तव्य नतोकिएको, अठोट नगरिएको र जे छ त्यसैमा सन्तोष लिने खालको रहेको टिप्पणी पनि गर्नुभयो ।करिब १ सय ११ वर्षअघि दक्षिण एसियामा पहिलोपटक जलविद्युत् गृह बनाउने देश अहिले पछाडि परेकोे भन्दै प्रधानमन्त्रीले वैज्ञानिकहरूलाई आफू आविष्कारक पुर्खाको सन्तान भएको नबिर्सन पनि आग्रह गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं नास्टका सहकुलपति कृष्णगोपाल श्रेष्ठले नास्टले आगामी दिनमा वैज्ञानिकहरूको वृत्ति विकासमा ध्यान दिने र देशमा वैज्ञानिक अनुसन्धानका लागि सहज वातावरण निर्माण गर्नेतर्फ अघि बढनुपर्नेमा जोड दिनुभयो ।नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले समृद्धिका लागि नेपाली समाजको दैनिकीसँग जोडिएका प्रविधिको विकास र विस्तारमा नास्ट क्रियाशील रहेको बताउनुभयो । उहाँले यसपटक नेपालको पहिलो भू–उपग्रह नेपाली स्याट–१ सँग सम्पर्क स्थापना गर्न प्रतिष्ठानमा नियन्त्रण केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो । उपकुलपति श्रेष्ठले निकट भविष्यमा भवन अनुसन्धान केन्द्र, अन्तरिक्ष अनुसन्धान केन्द्र तथा परम्परागत प्रविधि केन्द्र स्थापना गर्न गृहकार्य अघि बढाइएको जानकारी पनि दिनुभयो ।

सभाले वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गराउन र प्रतिभा प्रस्फुटन गराउन विभिन्न १२ विधामा स्थापना गरेका पुरस्कारहरूबाट डा. शेरबहादुर पुन, अनुपकुमार श्रेष्ठ, रेशमा तुलाधर, गोविन्दप्रसाद पोखरेल तथा नातिकाजी महर्जनलगायतका विज्ञानप्रविधि सम्बद्ध व्यक्तित्वहरूलाई प्रदान गरिने निर्णय गरेको छ । सभाले आगामी वर्षदेखि कृषिसम्बन्धी वैज्ञानिक कार्यका लागि समेत पुरस्कार दिइने निर्णय पनि गरेको छ ।