पाहुना टोली अफ्रिकन रुट्स सेमिफाइनलमा


विजय नेपाली, पोखरा

पाहुना टोली अफ्रिकन रुट्स एसोएिसन (एआरए) क्यामरुन ‘आहा ! रारा गोल्ड कप’को सेमिफाइनलमा प्रवेश गरेको छ ।सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई २–१ गोलले हराउँदै पोखरामा जारी १९ औँ संस्करणको आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

आहा ! रारामा पहिलो पटक सहभागिता जनाएको अफ्रिकन टोलीले उत्कृष्ट खेल प्रस्तुत गर्दै सेमिफाइनलको यात्रा तय गरको हो ।उक्त टोली हेटौडाँमा जारी बागमती गोल्डकपको उपाधि प्रतिस्पर्धाको लागि हेटौंडा प्रस्थान गरिसकेका छन् । अफ्रिकन टोलीले सोमबार रुस्लान थ्रीस्टारसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।यसअघि पनि टोलीले शनिबार मात्रै चितवनमा सम्पन्न ‘सेन्ट्रल कलेज स्व.विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि हात पारेको छ । नारायणगढको क्याम्पाचौरमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै एआरए च्याम्पियन बनेको थियो ।

पोखरा रंगशाला फुटबल मैदानमा आइतबार भएको खेलको शुरुआतदेखि नै क्यामरुनले मच्छिन्द्रलाई निकै दबाबमा राखेको थियो ।शारीरिकरुपमा अग्ला र बलिया अफ्रिकनी मोयसाले खेलको २३औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । उनी खेलको ‘म्यान अफ दी म्याच’ समेत घोषित भए । मच्छिन्द्रका कप्तान रन्जित धिमालको खुट्टाबाट फुत्किएको बललाई एनजिमीले नियन्त्रणमा लिँदै मोउसालाई पास उपलब्ध गराए ।खेलको १८औं मिनेटमा रन्जित धिमालको लामो फ्रिकिक सिँधै अफ्रिकन गोलरक्षकको हातमा पुग्यो । २२औं मिनेटमा यानिकले राजेश परियारलाई लडाएपछि प्राप्त फ्रिकिकलाई मछिन्द्रले सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चक्यो ।

अफ्रिकनी टिमले एक पछि अर्को अवसरको सिर्जना गर्ने क्रम जारी राख्यो । खेलको २५औं मिनेटमा जोमोले डिबक्सबाट गरेको प्रहार बाहिरिँदा अग्रता दोब्बर गर्नबाट चुक्यो । २८औं मिनेटमा वान भर्सेस वानको अवस्थामा बासेकको प्रहारलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले डाइभ सेभ गर्दै उत्कृष्ट बचाउ गरे । पहिलो हाफको अतिरिक्त समयमा सुनील बलको उत्कृष्ट प्रहारलाई क्यामरुनी गोलरक्षकले उत्कृष्ट बचाउ गर्दै संकट टारे ।६३औं मिनेटमा मोउसाको प्रहारलाई छिरिङ गुरुङले रिफ्लेक्ट बललाई क्लियर गर्दै मछिन्द्रलाई थप गोल हुनबाट जोगाएका थिए ।

तर, खेलको ८३औं मिनेटमा डिजोमोको क्रस पासमा एनजिमीले गोल गर्दै क्यामरुनी टोलीलाई २–० गोलको अग्रता दिलाए ।खेलको अतिरिक्त समयमा अभिषेक रिजालले गोल गर्दै खेल २–१ को स्थितिमा पु¥याए पनि जित हात पार्न पर्याप्त भने रहेन । प्रतियोगिता अन्तर्गत सोमबार डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी र संकटाबीच खेल हुने आयोजकले जानकारी दिए । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ ।